संयमता अपनाऊ, मधेश जाऊ

मधेशलाई राजनीतिक क्रिडास्थल बनाएर एउटा पक्षले सिपाही पठाउने र अर्को पक्षले कार्यकर्ता लगाउने गरी तयार हुन लागेको राजनीतिक वातावरण देशको हितमा छैन । जुनसुकै कारणले भएपनि मान्छे मारिनु, नागरिकमा भयको वातावरण हुनु र आफ्नै मुलुकमा आफै असुरक्षित भई बस्नुपर्ने बाध्यात्मक अवस्थाको निर्माण हुनु चिन्ताको विषय हो । यसरी नागरिकलाई भयमा राखेर राजनीति गर्ने वा सत्ता लम्ब्याउने दुवै पक्ष दोषी हुन् । देश र जनतालाई हराएर आफू जित्न खोज्नु कुनै पनि दृष्टिकोणबाट राजनीति होइन ।

आज पनि हाम्रा कुरा सुनिएन भनी मधेशमा क्रान्तिको आगो बाल्छु भन्ने एउटा तप्का र बलपूर्वकै भएपनि बन्दूकको भरमा निर्वाचन गराइछाड्छौं भन्ने अर्को तप्काबीच मोर्चागत द्वन्द्व थालिएको छ । जसले राज्यप्रति अविश्वास, नेतृत्वप्रति घृणा र आँगनमा रगत बग्ने सम्भावना बढाउन सक्छ । मूलतः निर्वाचनको केन्द्रीय आशय भनेको समाजमा नेतृत्वको परिवर्तन र समस्याको समाधान हो । यदि निर्वाचनले समस्यालाई विकराल र द्वन्द्वलाई संस्थागत गर्छ भने त्यस्तो निर्वाचन देश हितमा हुनसक्दैन । अहिलेको निर्वाचन मधेशको समस्या समाधानभन्दा पनि नश्लीय दम्भ र राजनीतिक भविष्यको बीचको द्वन्द्वको रूपमा देखिएको छ ।

सत्तालाई टिकाइराख्न एउटा पक्षले जसरी पनि निर्वाचन गराउन खोज्ने र २००८ सालदेखि राजनीतिक ठगीका शिकार भएका समुदायका नेतृत्वले समाधानका निमित्त निर्वाचनलाई पर सार्न खोज्ने स्थिति देखिएको छ । निर्वाचनलाई समस्याको समाधानको रूपमा हेर्न खोज्नेहरू मधेशको वास्तविक धरातलभन्दा विल्कुलै फरक सोच राखेका छन् । मधेश अब आग्रह, आश्वासन, आशंका र अपमानभित्र लुकेर बसिरहँदैन । समस्याका दीर्घकालीन समाधान र सम्मानसहितको सहभागिता दिन सकिएन भने यो निर्वाचनले एउटा समुदायलाई जिताउँला, तर मुलुक हार्छ । मधेशी नागरिकको राज्यप्रतिको अविश्वास, पहाडी बुद्धिजीबीप्रतिको घृणा र गैरमधेशी नेताहरूप्रतिको शंका विश्वासमा परिणत भएर जाला । यसरी आफ्नै मुलुकका एउटा तप्काका नेतृत्वलाई अपमानित गरेर एउटा समुदायलाई थिचोमिचो गरेर एउटालाई हराएर अर्को दम्भको जीत त होला तर, सधैंका लागि सबैका लागि मधेश टाढिन सक्छ । मधेशी नागरिकको भावना, समस्या र सोचमाथि प्रहार गर्ने कार्य कहीं कतैबाट नहोस् । त्यसैकारण, संविधान संशोधन गरेर मात्र निर्वाचनमा जाऔं । निर्वाचनमा सबै पक्ष सहभागी होऊन् । नागरिकको जीत होस् ।


राजपाको दृष्टि पुगोस्
संविधान संशोधन, पार्टी एकीकरण र निर्वाचनमा अल्झिरहँदा राज्य र सरोकारवाला निकायहरूले अन्य पक्षहरू मधेशीसँगको विभेदलाई निरन्तरता दिँदै आएको छ । निर्वाचन आचार संहिताको उल्लंघन गर्दै सरकारले नियुक्तिहरू गर्नु, संविधान विपरीत, सरकारले क्रियाकलापहरू गर्नु र राजपा नेपाल मौन बस्नु चिन्ताको विषय हो । संसदीय राजनीति मात्र पूर्ण राजनीति होइन । कार्यपालिका, न्यायपालिका, पत्रकारिता लगायतका क्षेत्रहरूमा हुँदै आएको रंगभेदका विषयमा राजपा नेपालको मौनताले सबैलाई चिन्तित तुल्याएको छ ।

सरकारले गरेको रंगभेदलाई सञ्चारमाध्यमले पटक–पटक सार्वजनिक गर्दा पनि राजपाले चासो नदेखाउनु, प्राकृतिक प्रकोपबाट प्रताडित भएका मधेशका नागरिकहरूको विषयमा मौन बस्नु र नागरिकस्तरमा हुने दैनिक जीवनयापनका प्रत्यक्ष सरोकारवाला विषयहरूमा राजपाले नबोल्नु आफैमा गैरराजनीतिक चरित्र देखाएको छ । राजपाले मधेशका प्रत्येक क्रियाकलापमा र मधेशीका हरेक सरोकारको विषयमा आफ्नो सरोकार, धार र क्रियाकलापहरू प्रष्ट गर्दै जानुपर्छ । अर्थात् राजधर्म पालन गर्न थाल्नुपर्छ ।


प्रकाशित मिति : २०४ साल जेठ १२ गते शुक्रबार ।


Loading...

Contact Us

Address:Madhesh Media House, Hanumansthan Chowk, Anamnagar, Kathmandu Nepal

Phone: 0977-1-4266141

Fax: 0977-1-4266141

Email: madheshvani@gmail.com