राजपा अब पनि रणभुल्लमा नपर

विभिन्न मिति पार गर्र्दै दोस्रो चरणको निर्वाचन असार १४ गते हुने गरी नयाँ मिति तोकिएको छ । असार १४ को नयाँ मिति तोकिनुको पछाडि अन्य कारणहरू जे भए पनि आन्दोलनरत राष्ट्रिय जनता पार्टीलाई निर्वाचनमा ल्याउन र निर्वाचनको तयारीका लागि पर्याप्त समय दिनु नै मुख्य उद्देश्य रहेको छ । बैशाख ३१ गते सम्पन्न पहिलो चरणको निर्वाचनपछि सबैको ध्यान दोस्रो चरणमा गएको थियो तर आशंकाका बादलहरू मडाडिरहँदा निर्वाचन सुनिश्चित हुन सकेको थिएन । तर पछिल्लो समयमा राजपा र सत्तारूढ घटकबीच बाक्लिदै गएको सम्बन्धका कारण आन्दोलनरत पक्ष सहमतिमा आएर निर्वाचनमा जाने करिब करिब निश्चित जस्तै भएको छ ।
वास्तवमा, दोस्रो चरणको निर्वाचन राजपालाई निल्नु न ओकल्नु जस्तै भएको छ । आफ्नो मुख्य माग संविधान संशोधन नहुने लक्षण निश्चित हुनु, निर्वाचनमा जानका लागि आन्तरिक र बाह्य दबाब थेग्न नसक्नु, आन्दोलन गर्ने शक्तिमा ह्रास आउनु, मधेशमा आन्दोलनभन्दा बढी निर्वाचनको माहोल बन्नु जस्ता विविध कारणहरूले गर्दा राजपा रणभुलमा परेको छ । परिणामस्वरूप बिना आधार र कारण उसले जेठ १८, १९ र २० गतेका लागि तय गरेको आन्दोलनको कार्यक्रम फिर्ता लिएको छ ।
त्यसो भए के उसले निर्वाचनमा भाग लिन्छ त ? भन्ने प्रश्नको उत्तर स्वयं पार्टीका नेताहरूसँग छैन । कारण कुरा निर्वाचनको मात्र छैन, यहाँ सत्ताको गणितीय खेल पनि सुरू भएको छ । प्रधानमन्त्रीबाट माओवादी केन्द्रका अध्यक्षले राजीनामा दिएपछि काँग्रेसको नेतृत्वमा नयाँ सरकार बन्ने पनि सुनिश्चित छ । त्यसैले निर्वाचनमा जाने भए राजपाका लागि सत्ता दैलोमै आइ पुगेको छ । दोस्रो चरणको निर्वाचनअघि काँग्रेस सभापति शेरबहादुर देउवाको सत्तारोहण हुने भएपछि निर्वाचनमा जानु भनेको राजपाका लागि पनि सरकारमा सहभागी हुने बाटो खुल्नु हो ।
अब प्रश्न गर्ने ठाउँ के छ भने जे जे का लागि मधेशमा लामो आन्दोलन भयो, सयौैं मधेशी जनताले रगत बगाए, कयांै सहादत भए, ती सबैको सम्बोधन बिना राजपा आफ्नो अडानबाट पछि हट्दै निर्वाचनमा जान्छ त ?
लक्षणहरू यस्तै देखिए पनि उसको मौनताले धेरै कुराहरूको संकेत गरेको छ । राजपा बिना शर्त निर्वाचनमा सहभागी हुने मात्र हाृेइन, प्रधानमन्त्रीमा देउवालाई जिताउन तयार नहोला भन्न सकिन्न ।
आन्दोलनको मर्मलाई एकातिर राख्दै, देशको बदलिदो परिस्थितिका कारण निर्वाचनमा जानु परेको भन्नु बाहेक अरू कुनै तर्क राजपासँग रहने छैन ।
आन्दोलन घोषणा गछौँ भनेर धम्की दिए पनि नेताहरू आन्दोलन प्रभावकारी हुनेमा निश्चिन्त छैनन् । पहिलाको जस्तो मधेसको जनमत सबै आफूहरूतिर नभएकाले पनि कतै आन्दोलन असफल भएर माग पूरा गर्न झन् गाह्रो हुने हो कि भन्ने चिन्ता राजपा नेपालका नेताहरूमा देखिन्छ । यसभन्दा अघिका आन्दोलनमा उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी फोरम र विजयकुमार गच्छदार नेतृत्वको नेपाल लोकतान्त्रिक फोरम पनि सहभागी भएकाले सफल भएको र अहिले यादव र गच्छदार नेतृत्वका पार्टी निर्वाचनमा होमिएकाले आन्दोलन सफल हुन गाह्रो हुने बुझाइ उनीहरूमा छ ।
यी र यस्तै वास्तविक तथ्यहरूलाई समयमा नबुझदा राजपा अहिले मजझारमा फसेको छ । निर्वाचनमा जाने हो भने संविधान संशोधनको मुद्दा खोइ भन्ने मधेशी जनताको आवाजलाई सम्बोधन गर्न उसँग कुनै आधार छैैन भने निर्वाचन वहिष्कार गरेर आन्दोलनमा गयो भने यसको सफलतामा पनि प्रश्न गर्ने ठाउँ छ । यसर्थ राजपाले संविधान संशोधनको विषयमा हालसम्म भएको प्रगति, उपलब्धीलाई मधेशी जनतालाई सम्झाउँदै निर्वाचन पछि यी माग उठाउन सकिने भन्ने विश्वासिलो आधार दिलाएर निर्वाचनको महाअभियानमा होमिनु उपयुक्त हुन्छ ।
प्रकाशित मिति :  २०७४ साल जेष्ठ १९ गते शुक्रबार ।


Loading...

Contact Us

Address:Madhesh Media House, Hanumansthan Chowk, Anamnagar, Kathmandu Nepal

Phone: 0977-1-4266141

Fax: 0977-1-4266141

Email: madheshvani@gmail.com