यदि राजपा चुनावमा नजाने हो भने संसद्मा पनि किन बस्ने ? : उपेन्द्र यादव

अध्यक्ष, संघीय समाजवादी फोरम नेपाल


० तपाई अहिलेको राजनीतिक अवस्थालाई कुन रूपमा लिनु भएको छ ?
— मुलुकमा एकात्मक केन्द्रिकृत प्रणाली अन्त्य भइसकेर संघीय प्रणालीमा गइसकेको, राजतन्त्रको अन्त्य र गणतन्त्रमा गइसकेको अवस्थामा संस्थागत हुन सकेको छैन । संवैधानिक र व्यावहारिक रूपले लामो संक्रमणकालीन अवस्थाको पीडा मुलुकले भोगेको, सत्ता र भागबण्डाको राजनीतिले ग्रसित भएको मुलुक हो । त्यसकारणले अहिले पनि मुलुकलाई अस्थिर, अन्योल र अनिश्चित दिशातर्फ जबरजस्ती धकेलिँदैछ ।


० तपाईको पार्टीले पहिलो चरणको निर्वाचनमा जुन मत पायो त्यो मतले तपाई र तपाईको पार्टी कतिको सन्तुष्ट हुनुहुन्छ ?
— हामी अत्यन्त उत्साहित छौं । एकदमै छोटो समयमा हाम्रो पार्टीले हिमाली भेग, पहाडी भेग र अति विकट क्षेत्रमा पनि हाम्रा झण्डाहरू फहराए । त्यसबाट हामी अत्यन्त उत्साहित छौँ ।


० पहिलो चरणको निर्वाचन हुनु अगाडि तपाई भन्दै हुनुहुन्थ्यो कि संविधान संशोधन जबसम्म हुँदैन तबसम्म हामी निर्वाचनमा सहभागी हुन्न भनेर तर एक्कासी तपाईको पार्टी चुनावमा संशोधन छोडेर किन गयो त ?
— सम्भावित प्रतिगमन र विगतको प्राप्त उपलब्धीलाई सुरक्षा गर्न, संविधान संशोधन गर्न, मधेश, आदीवासी जनजातिका सवालहरूलाई यथावत राख्दै त्यो मुललाई बोक्दै स्थानीय निकायको चुनावमा हामीले भाग लियौं । हामीले भाग लिएर मुलुकले एउटा जनप्रतिनिधि पाएको छ र निर्वाचनको वतावरण बनेको छ । यदि हामीले भाग नलिएको भए मुलुक अत्यन्त संकटग्रस्त अन्योलमा जान्थ्यो । विगतमा आन्दोलनबाट प्राप्त गरेका उपलब्धिहरू गुम्थ्यो । त्यसकारणले हामीले विगतका उपलब्धिलाई रक्षा गर्ने, थप उपलब्धिका लागि शक्ति सञ्चय गर्न निर्वाचनलाई उपयोग गर्ने रणनीतिअन्तर्गत हामी चुनावमा सहभागी भएका हौं । हामीले जतिबेला संविधान संशोधन नभई चुनावमा जाँदैनौं भन्थें त्यतिबेला संशोधन विधेयक संसदमा दर्ता भएको थिएन । अहिले त्यो प्रक्रियामा छ, दुई तिहाई पुग्ने बितिकै त्यो पारित गराउनु पर्छ । सरकारले इमान्दारितापूर्वक लागेको भए पारित पनि भइसकेको हुन्थ्यो । तर, सरकारले र प्रमुख प्रतिपक्ष दलले त्यो इमान्दारिता, गम्भिरता देखाउन सकेन ।


० तपाई आफ्नै निर्णयविपरीत निर्वाचनमा जानु भयो भनेर राजपा नेपालका नेताहरूले आरोप लगाइरहेका छन् नि ?
— उहाँहरू पनि निर्वाचनमा सहभागी हुन पछि–पछि आउँदै हुनुहुन्छ । अब हेर्नु के छ भने उहाँहरू कुन–कुन मुद्दा पुरा गराएर र कुन–कुन एजेण्डा छोडेर आउनु हुन्छ । अर्को कुरा मुलुकमा निर्वाचन नै हुन नदिने र प्राप्त उपलब्धिलाई समाप्त पारेर मधेशको मुद्दा सम्बोधन हुनेबाला छैन । त्यसकारण मधेशको मुद्दा सम्बोधन गराउनका लागि स्थानीय निकायमा मधेशका शक्तिहरू बलियो हुनु आवश्यक छ । जसले थप शक्ति प्राप्त गर्छ । जुन शक्तिलाई प्रयोग गरेर मधेशको मुद्दालाई सम्बोधन गराउन सकिन्छ । त्यसकारणले यो लाइन भनेको अहिलेको नेपालको लागि उपयुक्त लाइन हो । यदि चुनावमा नजाने हो भने संसदमा पनि किन बस्ने हो र ? अनि राजपाले आन्दोलनको कुरा पनि गरिरहेको छ, अर्कोतिर सरकार बनाउनेतिर पनि लागिरहेको छ ।


० संघीय गठबन्धनको संयोजकबाट तपाईलाई किन हटाइएको हो ?
— यस्तो फोहोरी राजनीतिक खेलको पछाडी नलागौँ । यो राजनीतिको अत्यन्त घृणित र फोहोरी खेल हो । कसैलाई संयोजक बन्नु थियो भने मैले पहिले नै भने मलाई भनेको भए म आफै फु्ल माला लगाएर उहाँको मनोकांक्षा पुरा गरि दिन्थें । यसबाट कुनै गोल्ड मेडल त पाउने कुरा होइन । तथापी पनि गरिहाले जसले आफ्नो जात देखाइहाले । एउटा कुरा के महत्वपूर्ण छ भने बैसाख ९ गते राती बालुवाटारमा सम्झौता गरेर आन्दोलनलाई किन फिर्ता लिइयो । एकमहिना अगाडी बढेको आन्दोलनलाई स्थगित गराएको हो नि । किन ग¥यो त, चुनावमा जानको लागि होइन ? एकै चरणमा निर्वाचन हुनु पर्छ भन्ने कुराको हामीले अडान लिइरहेको बेला उहाँहरू दुई चरणको चुनावमा जानका लागि भनेको हो । त्यो के–को लागि हो । किनभने उहाँहरू पनि चुनावमा जानका लागि चाहिरहेको थियो । १६ गतेको नोमिनेशनलाई १९ गते सार्न लगाएको हो त्यो के को लागि–चुनावमा जानको लागि हो । अनि त्यसपछि निर्वाचन आयोगमा चुनाव चिन्ह देउ हामी चुनावमा जान्छौँ भन्ने कुरा पनि चुनावमा लड्नका लागि भनेको हो । तर उहाँको पार्टी नै दर्ता नभएको र चुनावचिन्ह नै नभएपछि त चुनावमा जाने कुरा भएन । र अर्को कुरा के हो भने पहिलो चरणको चुनाव उहाँहरूको अस्तित्व नभएका जिल्लाहरूमा भएको छ । त्यहाँ उहाँहरूको कुनै अस्तित्व छैन चुनावमा भाग लिने । पहिलो चरणको चुनावमा भाग लिने उहाँहरूको स्थिति भएको भए उहाँहरू यत्रो काम गरेको हो त्यो चुनावमा भाग लिनको लागि नै हो । अहिले फेरि चुनावचिन्ह माग्दै हुनुहुन्छ त्यो चुनावमा भाग लिनका लागि नै हो । जब चुनावमा जानका लागि यत्रो गरिराख्नु भएछ भने फेरि नौटंकी किन उहाँहरू गर्नु हुन्छ । तेत्रो गलत आरोप–प्रतिआरोप किन लगाउने ।


० तर राजपाका नेताहरूले तपाई चुनावमा गएर मधेशी जनतासँग विश्वासघात गर्नु भयो र दोहोरो चरित्रको राजनीति भएको आरोप लगाउँदै छन् नि ?
— निश्चित रूपमा त्यहाँको चरित्र हेर्ने हो भने कोही ज्ञानेन्द्रको क्याबिनेटमा पनि बसेका त्यहाँ छन् । मण्डले पृष्ठभूमि बोकेका मान्छेहरू पनि त्यहाँ छ । त्यसपछि मधेश जनविद्रोहको बेला सरकारमा रहेर मधेशी जनतामाथि गोली चलाउनेहरू पनि त्यहीं छन् । त्यसकारणले यो रङ्गीचङ्गी विरङ्गी बटुलेर थरी–थरीका कुराहरू गर्न सुहाँउदैन । संसदीय व्यवस्था मान्ने भएपछि चुनावमा जानु प¥यो । अर्को कुरा के हो भने उहाँहरू चुनावै विना आएको होइन । भोली प्रदेश र केन्द्रको चुनावमा के गर्नु हुन्छ । त्यसले क्षणिक क्रान्तिकारी कुरा गरेर केही हुनेबाला छैन । दीर्घकालीन सोच बनाएर अगाडी बढ्नु पर्छ । स्थानीय निकायको चुनावमा नजाँदैमा मधेशका बाँकी मुद्दा सम्बोधन हुन्छ त ?


० मधेशी जनताले माग पुरा नहुँदै उपेन्द्र यादव पहिलो चरणको चुनावमा जानु भो, त्यस्तै दोस्रो चरणको चुनावमा जानु हुन्छ कि भनेर आशंका गरिराखेका छन् नि ?
— पहिलो कुरा, अहिलेका मधेशका नेता भनाउँदाहरू छन् तिनीहरू मधेश जनविद्रोहमा जनताको हत्या नरसंहार गरिरहेको बेलामा लडेर यो मुलुकमा संघीयता, गणतन्त्र, प्रदेश, पहिचान र आरक्षणका कुराहरू कसले ल्याएका हुन् । २२ बुँदे सम्झौता कसले गरेका हुन् । यो मुलुकमा गणतन्त्र कहाँबाट आयो, संघीयता कहाँबाट आयो । यत्रो परिवर्तन ल्याउने फोरम नेपाल अनि तिनीमाथि गोली ठोक्नेले यस्तो भन्न मिल्छ । यस्ता हिलो छ्याप्पाछ्याप खेलिरहँदा देशचाहीँ इमान्दारितापूर्वक लागेन । आन्दोलन फिर्ता लिने को ? दुई चरणमा चुनाव गराउने को ? नोमिनेशनको मिति बढाउने को ? निर्वाचन आयोगमा चुनावचिन्ह देऊ हामी चुनावमा जान्छौँ भन्ने को ? यी सब कुरा भइसके पछाडी एउटा भनाई छ नि ‘अगँुर खट्टा, अगुँर खाए कौन’ भन्ने जस्तै भए । स्थानिय निकायको चुनावलाई हुन नदिएर मुलुकलाई बन्धकमा राखेर माग पुरा हुन्छ त ? निर्वाचनलाई बहिष्कार गरेर माग पुरा हुन्छ त ? बहिष्कार गर्न जानु प¥थ्यो नि पहिलो चरणको चुनावमा कहाँ थियो त्यतिबेला । बहिष्कार त विप्लवले गरेको थियो, गोली चलायो बम पड्कायो तर पनि ७४ प्रतिशत चुनाव भयो । त्यसकारणले केहो भने निर्वाचन भनेको लोकतान्त्रिक प्रक्रिया तथा पद्धति हो जसलाई आत्मसात गर्दै आफ्ना मुद्दालाई लिएर चुनावमा जाने र शक्ति सञ्चय गरेर एजेण्डालाई सम्बोधन गराउन संघर्ष गर्ने । त्यो बाटो हामीले लिएको जुन हाम्रो र उहाँहरूको लाइन फरक हो । तर पछि उहाँहरू पनि त्यही लाइनमा आउने हो ।


० पहिलो चरणको चुनावमा तपाई नयाँ शक्ति पार्टीसँग चुनावी सहकार्य गर्नु भयो, दोस्रो चरणको चुनावमा कोसँग सहकार्य गरेर जानु हुन्छ ?
— संघीयता पक्षधर मधेशका मुद्दालाई सर्मथन गर्ने परिवर्तनकारी शक्तिहरूसँग हाम्रो चुनावी सहकार्य हुन् सक्छ ।
(मधेशवाणीका लागि विजय यादवले गरेको कुराकानीको सम्पादित अंश)

 


प्रकाशित मिति :  २०७४ साल जेष्ठ १९ गते शुक्रबार ।


Loading...

Contact Us

Address:Madhesh Media House, Hanumansthan Chowk, Anamnagar, Kathmandu Nepal

Phone: 0977-1-4266141

Fax: 0977-1-4266141

Email: madheshvani@gmail.com