मधेशकेन्द्रित दलले फेस सेभिङका लागि समझदारी गर्दै आएका छन् : जयप्रकाशप्रसाद गुप्ता

संयोजक, तराई मधेश राष्ट्रिय अभियान

० नेपाली कांग्रेस र माओवादीसँग मधेशकेन्द्रित दलले फेरि पनि तीनबुँदे सहमति गरेर सरकारलाई समर्थन गरेको छ । यसलाई तपाईं कुन रूपमा लिनुभएको छ ?
— विगतमा नेपाली कांग्रेस र माओवादीसँग मधेशकेन्द्रित दलहरूले कैयौं पटक समझदारी गरेका छन् । संविधान जारी भइसकेपछि सुशील कोइराला प्रधानमन्त्री रहेका बेला पनि यस्तै किसिमको समझदारी भएको थियो । तर, हामीले के पाएका छौं भने कुनै पनि समझदारीको पालना भएको छैन । अहिलेको समझदारी पनि विगतकै समझदारीको निरन्तरता हो । यसको पालना हुने कुनै सम्भावना देखिँदैन । यसको मुख्य कारण के छ भने संविधानमा के–के संशोधन गर्ने भन्ने कुराको नेपाली कांग्रेस र माओवादीले बटललाइन बनाइसकेका छन् । उनीहरूको मतअनुसार संविधानमा जति संशोधन गर्नुपर्ने हो, त्यो भइसकेको छ । यस्तो अवस्थामा मधेशकेन्द्रित दलहरूले जुन रूपमा भावी कार्यनीति बनाउनुपर्ने थियो, त्यो बनाएनन् । मधेशकेन्द्रित दलले आफ्नो फेस सेभिङका लागि पटक–पटक समझदारी गर्दै आएका छन् । त्यसकारण आउने दिनमा यस्ता समझदारीबाट ठोस परिवर्तन आउने सम्भावना छैन । अर्को कुरा, संविधान संशोधनबाट मधेशका सवालहरूको समाधान निस्किने स्थिति पनि म देख्दिनँ ।


० भनेपछि यसपटकको सहमतिबाट पनि विगतमा जस्तै न्यून मात्रा केही कुरा सम्बोधन होलान् । तर, मुख्य मुद्दा संविधान संशोधनलगायतको सम्बोधन हुने सम्भावना छैन ?
— पहिलो कुरा त, हामीले यो विचार गरौं कि पछिल्लो समयमा मधेशकेन्द्रित पार्टीहरूले के–के विषयका समाधान चाहेका छन् । ती विषयहरू मधेशलाई अधिकार सम्पन्न गराउने प्रकारका विषयहरू छन कि छैनन् । ती एजेण्डासँग सम्बन्धित विषयहरू छन् कि तपसिलका विषयहरू छन् । यी कुरामा विचार गर्नु जरूरी छ । पछिल्लो एक–डेढ महिनादेखि राजपा र फोरम नेपालले जनसंख्याका आधारमा स्थानीय तह निर्धारण गर्नुपर्ने विषयलाई प्रमुख बनाएका छन् । त्यस्तै, मधेश आन्दोलनका शहीदहरूलाई राज्यले सम्मान दिएर घोषणा गर्नुपर्ने, घाइतेहरूको औषधी उपचार, क्षतिपूर्ति, राजपालाई छाता चुनाव चिह्न दिनुपर्नेलगायत माग उठाइएको छ । यी मध्ये कुनै पनि माग मधेश आन्दोलनका आधारभूत माग होइनन् । जसले गर्दा राज्यको पुनर्संरचना हुन सकोस्, न्याय व्यवस्थाको रूपान्तरण हुन सकोस्, समानुपातिक समावेशी शासन व्यवस्थाको सुरूवात हुन सकोस् र एक मधेश प्रदेश अथवा मधेशमा दुई प्रदेशको निर्माण हुन सकोस् । यस्ता खालका कुनै पनि आधारभूत मागहरूलाई मधेशकेन्द्रित दलले पछिल्लो समय उठाएको देखिँदैन ।


० त्यसो भए, मधेशकेन्द्रित दलहरू चुनावमा जान वा त्यससँग सम्बन्धित विषयलाई मात्र पछिल्लो समय प्रमुख मुद्दा बनाएका हुन् ?
— म आलोचनाका लागि आलोचना गरेको छैन । म फोरम नेपाल, नेपाल लोकतान्त्रिक फोरम, राजपालगायत सबै मधेशकेन्द्रित दललाई शुभकामना दिँदै आएको छु । म उहाँहरूलाई भन्दै आएको छु कि तपाईंहरूको काँधमा गम्भीर जिम्मेवारी छ । मधेशी मात्र होइन जनजाति, दलित, थारूलगायत उत्पीडिनमा परेका हरेक समुदायका माग सम्बोधन गराउने भिारा मधेशकेन्द्रित दलकै काँधमा आएको छ । तसर्थ म उहाँहरूलाई सुरूदेखि नै शुभकामना दिँदै आएको छु । तर, अहिले आएर उहाँहरूका माग मधेशमा एउटा वा दुई वटा प्रदेश बनोस्, त्योसँग केन्द्रित छ ? केन्द्रीय विधायिकामा मधेशलाई चाहिने जति सिट सुनिश्चित हुने विषय उठान गरेका छन् ? मधेशीको जनसंख्याका आधारमा राष्ट्रिय सभामा सिट बढाउने विषयसँग सम्बन्धित छ ? मधेशका भाषाहरू सरकारी कामकाजका भाषाका रूपमा मान्यता पाउनेसँग सम्बन्धित छ ? केन्द्र र प्रदेशको अधिकार विभाजनको विषयमा मधेशलाई समान अधिकार दिने विषय अहिलेको एजेण्डा छ ? न्यायपालिकाको आमूल रूपान्तरणसँग सम्बन्धित छ ? हो, यी विषयहरू मधेशका आधारभूत माग हुन् । तर, पछिल्लो समय मधेशकेन्द्रित दलहरूले यी सबै मागलाई परित्याग गरिसकेका छन् । पछिल्लो समयमा गाउँपालिका र नगरपालिकाको संख्या बढ्नुपर्ने माग मधेशकेन्द्रित दलले उठाइरहेका छन् । शहीद घोषणाका कुरा उठाएका हुन् । घाइतेलाई उपचारको व्यवस्था गर्नुपर्ने माग उठाएका हुन् । त्यस्तै, नयाँ शक्ति नेपालले चुनाव चिह्न पाउनुपर्ने माग फोरम नेपालले उठाएको छ । राजपाले आफूले छाता चुनाव चिह्न पाउनुपर्ने माग उठाएको छ ।


० मधेशकेन्द्रित दलहरूले मधेश आन्दोलनका आधारभूत कुनै पनि माग नछाडेको बताइरहेका छन् नि ?
— खसीको टाउको राखेर कुकुरको मासु बेच्न पाइँदैन । मधेशकेन्द्रित दलले यो भनाइलाई चरितार्थ गर्दैछन् । मधेशकेन्द्रित दलले आधारभूत मागहरूलाई थाँती राखेर तपसिलका कुराहरूमा मात्र केन्द्रित हुनु, चुनावमा कसरी भाग लिने, सत्तामा कसरी पुग्ने, प्रधानमन्त्रीलाई कसरी मतदान गर्नेलगायतका कामको बाटो खोजियो । आधारभूत माग पूरा गराउन ठूलो नैतिक शक्तिका साथ मधेशकेन्द्रित दलहरू अगाडि आउनुपर्दथ्यो ।


० भनेपछि मधेशकेन्द्रित दलहरूले विगतका आधारभूत मागलाई पहिलो प्राथमिकतामा राखेर संघर्ष गर्नुपर्दथ्यो ?
— हो । शेरबहादुरजीलाई प्रधानमन्त्री बनाउनका लागि गरिएका सहमतिको विषयमा सबैले छातीमा हात राखेर भन्न सक्छन्, कि यी मधेशका आधारभूत माग हुन् । जुन राज्यसँग तपाईंले आफ्ना मागमा अडान राखेर निष्ठाको राजनीति गर्नुपर्ने थियो, त्यही राज्यलाई चलाउने सरकारको निर्माणका लागि तपाईंहरूले आफ्ना माग छाड्नु के उचित हो ? आफ्नो अनुहार लकाउनका समझदारी गरेर भोट दिँदा जनताले अन्यथा नठानोस् भन्ने सोच राखेको देखिन्छ । समझदारीको कागजले अनुहार छोपेर अघि बढ्दा राज्यले टेर्छ त ? यस्तो अवस्थामा राज्यले तपाईंको शक्तिलाई कसरी सम्मान दिन्छ ? तपाईंको शक्तिलाई राज्यले कसरी अनुमोदन गर्छ ? अहिले विकराल अवस्था भोग्दैछौं । एकातर्फ राज्यले हाम्रा मागहरूलाई एक–दुई–तीन गरेर अस्वीकार गरिसकेको छ । मधेशकेन्द्रित दलहरू पनि ती मागहरूलाई छाडेर तपसिलका विषयहरूलाई समातेर अघि बढेको देखिन्छ ।


० फोरम नेपालले चुनाव जानु उचित्त हो भनिरहेको छ । अर्कोतर्फ राजपाले स्थानीय तहको संख्या वृद्धि र संविधान संशोधनलगायत माग पूरा नभएसम्म चुनावमा नजाने भनिरहेका छन् । यी दुवै दलका तर्क र अडान कस्तो लाग्यो ?
— महन्थ ठाकुर र राजेन्द्र महतोले संविधान संशोधनको कुरा उठाउँदा उपेन्द्र यादवले संविधान पुनर्लेखन हुनुपर्छ भन्दै आएका थिए । ठूला कुरा गरेर मात्र हुँदैन । पछिल्लो समयमा उनीहरूले सदनको संघर्षलाई महत्व दिएका छन् । सडक संघर्ष रोकिएको छ । तर, सडक संघर्ष समाप्त हुँदैन । उनीहरूले पटक पटक भनेका छन् कि मधेशका माग सम्बोधन नभएसम्म कुनै पनि हालतमा चुनाव नजाने । अहिले आएर चुनावमा जाने केही सम्भावना बढ्यो भन्दैमा सडक, सदन र सरकार सबैबाट संघर्ष गर्ने भनेर भन्नु अनुचित्त हो । अब राजपा मात्रको कुरा गर्ने हो भने, संविधान संशोधन हुन नसकेको कारण चुनाव नजाने भनेर राजपाले भनिरहेको छ । तर, वास्तविक कुरो के छ भने, ६ वटा पार्टी मिलेर राजपा बन्यो । राजपाले दल दर्ताका साथै अन्य प्रक्रिया पूरा गराउनुपर्नेछ । तर, राजपाभित्रको विवादले गर्दा प्रक्रियाहरू पूरा गराउन नसकेका कारण चुनाव नजाने भनिरहेको छ । राजपाले छाता चुनाव चिह्न लिन खोज्दैछ । तर, तत्कालै यो चुनाव चिह्न नपाउने अवस्था रहेको छ । मलाई लाग्छ, यथार्थ कुरा समयले बताउँछ । समग्रमा भन्नुपर्दा, मधेशकेन्द्रित दलका अडानहरू वास्तमा अडान भइदिँदा स्वागत योग्य नै हो, तर आफ्ना कमीकमजोरी लुकाउन अडान अगाडि ल्याइएको हो । यिनीहरूको बद्नियतका कारण मधेशी जनता धोकामा पर्दैछन् । चुनाव पनि नजिक आइसक्यो । उपेन्द्र यादवजी चुनावमा सहभागी नै भइसक्नुभयो । हेरौं अब कस्तो परिणाम आउँछ । मेरो शुभकामना छ । उहाँहरूले राम्रो मत पाओस् र जितोस् ।


(मधेशवाणीका लागि अजय साह शिवालीले गरेको कुराकानीको सम्पादित अंश)

प्रकाशित मिति : २०७४ साल, जेठ २६ गते शुक्रबार ।


Loading...

Contact Us

Address:Madhesh Media House, Hanumansthan Chowk, Anamnagar, Kathmandu Nepal

Phone: 0977-1-4266141

Fax: 0977-1-4266141

Email: madheshvani@gmail.com