यिनीहरू अवसरका लागि मधेशवादी भएका छन् : खुशीलाल मण्डल

वरिष्ठ राजनीतिज्ञ

० एकातर्फ चुनाव हुन लागेको छ भने अर्को तर्फ संविधान संशोधन बिनाको चुनाव मधेशी दल नजाने भनेर भनिरहेको छ, यो सन्दर्भलाई तपाईले कुन रूपमा विश्लेषण गर्नु हुन्छ ?
— मलाई लाग्दैन कि संविधान संशोधन हुन्छ । मलाई सुरूदेखि नै संसद्बाट संविधान संशोधन गर्छ भनेर अलिकति पनि विश्वास छैन । किनभने संसद्को जो अवस्था छ त्यसबाट कहिल्यै पनि संशोधन हुन सक्दैन । कुरा रह्यो मधेशवादी दलको त त्यो संघीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादवले भने संविधान संशोधन होइन पुर्नलेखन चाहियो । आजै उनैले भन्दैछ कि संविधान कार्यान्वयनमा प्राप्त उपलब्धीलाई रक्षा गर्नका लागि हामी चुनावमा गइरहेका छौँ । असोज ३ गते संविधानमा समर्थन गरिदिएको भए किन यत्रो आन्दोलन गर्नु पथ्र्यो । किन ६ महिना मधेश बन्द भयो, किन यति जना शहीद भयो । यो के हो भने राजनीतिक बेइमानी हो । उहाँले आफूलाई मधेशको मसिहा भन्नुहुन्थ्यो र अब अरूले के गर्छ त्यो केही दिनमा प्रष्ट भइहाल्छ ।


० भनेपछि, फोरम नेपालले जसरी निर्णय लियो कि चुनावबाट पनि आफ्नो मुद्दा स्थापित गर्न सकिन्छ, त्यो उहाँको निर्णय गलत थियो भन्न सकिन्छ ?
— एकदमै गलत निर्णय हो उहाँको । फोरम नेपालले पहाडमा एउटा मात्रै सिट जितेको छ । र, यता मधेशमा दुई–चार ओटा नगरपालिका र ८–१० ओटा गाँउपालिका जितेर के गर्न सकिन्छ । उहाँले मधेशी जनताको आत्मबल तोडि दिएका छन् । जसको बच्चा आन्दोलनमा सहादत दियो त्यो शहिद परिवारलाई के भइरहेको होला । एउटा सप्तरीमा मात्रै एक दर्जन सपूतको हत्या भइसकेको छ, ती परिवारहरू शोकमा छन् । कोही निपुत्र भयो, कसैको सिन्दुर मेटिसक्यो । जब यस्तै गर्नु पर्ने थियो भने त्यतिबेला किन त्यत्रो हंगामा गरियो ।


० तर, फोरम नेपालले भनिरहेको छ कि हामीले मुद्दा छोडेका छैनौं भनेर ?
— मुदालाई त काँग्रेसले पनि भन्छ कि हामीले संविधान संशोधन गराउर्छाँै । माओवादीले पनि भन्छ कि हामी त अहिले पनि जनवादकै पक्षमा छौँ । यहाँ भनाई र गराईको कुरा छ । उहाँको भनाई त जे पनि हुन्छ तर उहाँको गराई के छ । म एउटै प्रश्न गर्छु फोरम नेपालसँग, यदि यस्तै गर्नु पर्ने थियो भने संविधान जारी भएकै दिन समर्थन गरिदिएको भए हुन्थ्यो नि । किन यति धेरैले सहादत दिनु प¥यो । अहिले आएर आफ्नो स्वार्थका लागि चुनावमा जाने । मधेश मुदालाई छोडि दिने ।


० तर, उपेन्द्र यादवले भनिरहनु भएको छ कि ११ बु्ँदे माग त हामीले छोडेका छैनौँ, अनि हामी कसरी मधेश विरोधी भयौं त ?
— उहाँले मुद्दा छोडेको छैन भने प्राप्त के गरेको छ । ०६३ को उपलब्धी त गुमिसक्यो । अब दोस्रो र तेस्रो मधेश आन्दोलनको पछि प्रचण्डले के भन्दै थियो कि हामीले संविधान संशोधन गराउन चाहिरहेका थियौं तर राप्रपाका केही सांसदले धोका दियो । अब राप्रपा माथी कसरी विश्वास गर्ने । जो अहिले पनि गणतन्त्र विरोधी छ, संघीयता विरोधी छ, धर्मनिरपेक्षता विरोधी छ त्यो मान्छे माथी भर पर्नुको के कारण छ । त्यो भन्नलाई मुद्दा छोडिया छैन् भन्छ ।


० फोरम नेपाल चुनावमा गएपछि मधेश मुद्दालाई सम्बोधन गराउनका लागि जुन दबाब प¥थ्यो त्यो दबाबमा कमी आएको हो ?
— बिल्कुलै कमी भएको हो । त्यो त यु–टर्न गरेको हो । त्यही फोरम नेपालले भन्थ्यो कि स्थानीय निकाय प्रदेशको मार्फत जानु पर्छ । अहिले भन्छ मुद्दा त हामीले छोडेका छौनौँ तर संविधान कार्यान्वयनका लागि सहयोग गरिरहेका छौँ । संवैधानिक व्यस्थालाई स्वीकार गरिसकेका छन् । यसको परिणाम मधेशमा परेको छ । मधेशीको आत्मबललाई डगमगाएको छ ।


० २० वर्षपछि बल्ल तल्ल स्थानिय तहको चुनाव हुन लागेको छ आधामा भइसकेको छ अब आधामा बाँकी छ यसलाई सदुपयोग गरौँ न पछि त फेरी हामी संघर्ष गर्छौ नि, २० वर्षको उपलब्धीलाई पहिला सदुपयोग गरौँ नि भनेर फोरमले भनिरहेको छ ?
— त्यही त २० वर्षको उपलब्धी के हो ? किन अस्तीसम्म भन्दै थियो कि संघीयतालाई मजबुत गर्नको लागि स्थानीय निकायको चुनाव प्रदेश मातहतमा आउनु पर्छ । अब केन्द्रको मातहतमा भइरहेको स्थानीय निकायको चुनावमा सहभागी भएर स्वीकार गरिसकेको कुरा स्पष्ट भइसकेको छ । जो–जो स्थानीय निकायको चुनावमा भाग लिन्छ त्यो संवैधानिक व्यवस्थालाई स्वीकारेर गएको मान्न सकिन्छ । ३० वर्षसम्म नेपाली काँग्रेसले स्थानीय निकाय मात्रै हैन राष्ट्रिय र जिल्ला निकायको चुनाव पनि बहिष्कार गरेका थिए । त्यो किन गरेको थियो भने त्यसमा उम्मेदवार बन्नको लागि एउटा फारम भर्नु पर्ने हुन्थ्यो । त्यसमा के लेखेको थियो भने निर्दलता प्रति हामी प्रतिबद्ध रहने छौँ । त्यो निर्दलीयता शब्दको कारण नेपाली काँग्रेसले चुनावमा भाग लिएन । अहिले यिनीहरूले स्वीकार गरिसकेका छन् ।


० फोरम नेपाल चुनावमा जाँदा राजपा नेपालका नेताहरूले आपत्ति जनाउँदै आएका थिए, तर पछिल्लो समयमा राजपा पनि अन्योलताको अवस्थामा छ कि के गर्ने नगर्ने भन्ने विषयमा । अहिले पनि चुनावमा जाने वा नजाने विषयमा निर्णय लिन सकेको छैन यसलाई तपाईले कुन रूपमा लिनु भएको छ ?
— वि.सं. २०४६ सालको आन्दोलनपछि कांग्रेसमा बाढी आयो र त्यो बाढीमा आएको काँग्रेसीलाई हामीले चैते काँग्रेसीको नाम दियौँ । त्यसरी नै मधेश आन्दोलनमा पनि बाढी आयो जो कहिल्यै मधेशको नाम सुन्न चाहदैन्थ्यो त्यो महान मधेशवादी भइहाले । त्यो पनि उसैको परिणाम हो । अब यो क्लियर भइसकेको छ । आज प्रमाणित भइसकेको छ कि यिनीहरू अवसरका लागि मधेशवादी भएका थिए ।


० अब राजपा नेपाललाई फोरम नेपालको बाटोमा जाने सम्भावना कति को छ ?
— मेरो बुझाईमा केही जान सक्छ भने केही नजान पनि सक्छ । किनभने ६ वटा दलहरू फरक–फरक विचारधाराबाट र फरक स्कुलिङ्गबाट आएका दलहरू हो । यसले गर्दा निर्णय लिनमा बडा गाह्रो भइरहेको छ । धोकाधडीको एउटा स्टेज यो पनि हो कि ‘बहती गंगा मे हात धुनु’ जस्तै राजपाका केही नेताहरूले त्यस्तै गरेको त हो नि । त्यसैले, को चुनाव जान्छ र को जाँदैन भन्ने कुरा भन्न सकिँदैन । कुनै व्यतिm वा दल मुद्दाबाट विचलित भयो भने त्यो मुद्दा मर्दैन ।


० राजपा नेपालले स्थानीय तहको एजेण्डालाई सार्थक मानेको छ र संविधान संशोधनलाई जरूरी ठानेको छ भने अब तपाईको विश्लेषणमा राजपाले कसलाई प्राथमिकता दिँदा हुन्थ्यो ?
— असार १४ गते स्थानीय तहको निर्वाचन गराउन ओली सरकारले निर्णय गरियो । अर्को निर्णय असोज ३ गते संविधान दिवस मनाउने भन्यो । कार्तिक २३ गते बैसाख ११ गते र पृथ्वी जयन्तीमा बिदा दिने कुरा भयो त्यो बेला म पत्रकार सम्मेलन गरेर भनेका थिए कि स्थानीय तहको चुनावले द्वन्द्व गराउँछ । यसकारणले संविधान संशोधन गरेर पहिले प्रदेश र संघको चुनाव गराउनु पर्छ । त्यसपछि स्थानीय निकायको चुनाव गराउनु पर्छ । स्थानीय निकाय सम्बन्धित प्रदेश मातहत आउनु पर्छ त्यो मानेन् आज प्रमाणित भइसक्यो नि त्यो कुरा । देश बन्धकमा फसिसकेको छ । २०४८ को चुनाव पछि एमालेले ५१ दिन संसद अवरूद्ध गरेका थिए ।


० अन्त्यमा, भन्नु पर्दा मुलुकको निकास के हो ?
— अब यो देशमा कुनै दिन ठूलो आन्दोलन हुन्छ र भुलभुलैयाको राजनीति समाप्त हुन्छ । अब विस्तारै मधेशको स्थापित नेताहरू छन् तिनीहरूको हातबाट विस्तारै राजनीति खुस्किदैँ जान्छ र नयाँ नेतृत्व पैदा हुन्छ र त्यसले देशलाई कुन दिशामा लैजान्छ त्यो अहिले भन्न सकिँदैन ।

(मधेशवाणीका लागि अजय साह शिवालीले गरेको कुराकानीको सम्पादित अंश)

प्रकाशित मिति : २०७४ साल, जेठ २६ गते शुक्रबार ।


Loading...

Contact Us

Address:Madhesh Media House, Hanumansthan Chowk, Anamnagar, Kathmandu Nepal

Phone: 0977-1-4266141

Fax: 0977-1-4266141

Email: madheshvani@gmail.com