राजपा नेतालाई उपेन्द्र यादवको चुनौती : आरोप पुष्टि गर कि माफी माग

काठमाडौं, ५ असार । संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले पैसा लिएर चुनावमा गएको भन्दै आफूविरुद्ध राजपा नेताले लगाएको आरोपको प्रमाण पेश गर्न चुनौती दिएका छन् । अध्यक्ष यादवले आरोपको खण्डन गर्दै आरोप प्रमाणित गर्न राजपालाई कडा चुनौती दिएका हुन् ।

‘जसले यस्तो घटिया आरोप लगाएको छ, उसले आरोप पुष्टि गर्न तत्काल प्रमाण पेस गरोस्, तर प्रमाण दिन सक्दैन भने मधेशी जनतासँग सार्वजनिक रुपमा माफी मागोस्’– फोरम नेपालका अध्यक्ष यादवले भने । राजपाको राजनीति दिशाहीन र औचित्यहीन भइसकेकोले दिग्भ्रमित राजपा नेताहरुले सन्तुलन गुमाएर यस्तो घटिया अभिव्यक्ति दिन थालेको यादवले प्रतिटिप्पणी गरे ।

राजपा आफै बाहिरबाट परिचालित पार्टी भएको टिप्पणी गर्दै अध्यक्ष यादवले मनिश सुमन आफैले कसैको पैसा खाएर यस्तो घटिया आरोप लगाएको हुन सक्ने जिकिर गरे । उनले भने,– ‘अरुमाथि यसरी आरोप लगाउने राजपा जस्तो पार्टीको आयश्रोत के हो ? कहाँबाट संचालित छ ? कसरी चलेको छ ? यसको जवाफ राजपासँग छ ?’

राजपा नेताहरुसँग राजनीतिक एजेन्डा नै नभएकोले अरुको चरित्र हत्या गर्ने, निराधार भ्रम सिर्जना गर्ने र बदनियतपूर्ण आरोप लगाउने जस्ता घटिया कार्यमा उत्रेको यादवले प्रतिक्रिया दिए । ‘यस्ता वाहियात अभिव्यक्तिले प्रमाणित हुन्छ कि राजपा नेताहरु आन्दोलनबाट विचलित भइसकेका छन् । राजपाको यस्तो तल्लोस्तरको गैरजिम्मेबार हर्कत मधेशका लागि घातक छ’– अध्यक्ष यादवले भने ।

अध्यक्ष यादवले राजपा नेताहरुलाई सन्तुलन नगुमाई संयमित रहन, निष्ठा एवं एजेन्डामुखि राजनीति गर्न आग्रह गरेका छन् । राजपा नेता मनिश सुमनले सोमबार रिपोर्टर्स क्लबमा बोल्दै फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवमाथि सरकारसँग पैसा लिएर चुनावमा गएको आरोप लगाएका थिए ।

Contact Us

Address:Madhesh Media House, Hanumansthan Chowk, Anamnagar, Kathmandu Nepal

Phone: 0977-1-4266141

Fax: 0977-1-4266141

Email: madheshvani@gmail.com