कठिन अग्निपरीक्षामा राजपा (सम्पादकीय)

सिङ्गो मधेश यतिबेला निर्वाचनको माहोलमा व्यस्त छ । तर, मधेशको मुद्दालाई लिएर डेढ वर्षदेखि आन्दोलन गर्दै आएको राष्ट्रिय जनता पार्टी नेपाल अन्ततः निर्वाचन वहिष्कार गरेर आफूलाई मात्र प्रदेश नम्बर दुईमा सीमित राखेको छ । दोस्रो चरणको निर्वाचनमा उत्साहपूर्वक भएको नामांकन दर्ता र त्यसमा जनताको अभूतपूर्व सहभागितालाई नजिकबाट नियालेको राजपाले आफ्नो वर्चस्व कायम राख्न सकिरहेको छैन । निर्वाचन भाँड्ने सम्मको अवरोधमूलक कार्यक्रम घोषणा गरे पनि प्रदेश नम्बर ५ को केही ठाउँ बाहेक उसको गतिविधिले खासै फरक नपारेपछि राजपाका लागि आगामी बाटो कठिन देखिन्छ । नामांकन दर्ता कार्यक्रम सफलतापूर्वक सम्पन्न भएपछि उसको रणनीति असार १४ गते हुने निर्वाचनमा अवरोध गर्ने तर्फ केन्द्रित रहने छ तर त्यसका लागि पार्टी तयार छ÷छैन, कार्यकर्ताको अपेक्षित सहयोग प्राप्त हुन्छ÷हुँदैन हेर्न बाँकी छ । तर, अहिलेसम्मको अवस्था हेर्दा राजपाले निर्वाचनलाई मौन समर्थन गर्ने सम्भावना रहेको देखिन्छ ।
राजपाकै केही नेताहरूसँग भएको सहमतिअनुसार सरकारले तेस्रो चरणमा प्रदेश नम्बर दुईको चुनाव गर्ने निर्णय गरेको बताइरहँदा तेस्रो चरणमा हुने प्रदेश नम्बर दुईमा हुने स्थानीय तहको चुनावमा राजपा नेपालले भाग लिने कि नलिने अहिले आफ्नै पार्टीभित्र गम्भीर बहसको विषय बनेको छ । माग पूरा नहुँदासम्म चुनावमा भाग लिँदै नलिने बताएको राजपाको माग कथंकदाचित असोज २ अघि पूरा भयो भने चाँही बाँकी रहने २ नम्बर प्रदेशको स्थानीय चुनावमा भाग लिन्छ कि लिँदैन, त्यो पनि यतिखेर चर्चाको विषय बनेको छ ।
राजपाको पार्टीको पछिल्लो अवस्था हेर्दा राजपा प्रदेश नम्बर दुईमा मात्रै सीमित देखिएको छ । त्यसको कारण हो, राजपा नेपालमा रहेका अध्यक्ष मण्डलका सबै सदस्यहरू दुई प्रदेशकै हुन् । उनीहरू प्रदेश नम्बर दुईका भएका हुनाले स्वाभाविक रूपमा त्यसको असर त्यहीं नै देखिएको छ भने उनीहरूको प्रायः गतिविधिहरू त्यही प्रदेशमा मात्रै सीमित देखिएको छ । छवटा प्रदेशको स्थानीय तहको चुनावमा भाग नलिएका राजपा नेपालप्रदेश नम्बर दुईमा मात्र भाग लिए भने सो पार्टी आठ जिल्लामा मात्र खुम्चिने छ । राष्ट्रिय पार्टी भनि दाबी गरिए पनि प्रदेश नम्बर दुईमा मात्र खुम्चाउनु यसका लागि कठिन अग्निपरीक्षा हुनेछ । त्यसैले राजपाले अब एउटा ठोस निर्णय गरी रणनीति बनाउनु आवश्यक छ । दोस्रो चरणको निर्वाचन हातबाट गयो, गयो, तेस्रो चरण पनि यसै गरी गयो भने उसलाई कार्यकर्ता जोगाउन र संगठन बचाउन गाह्रो नहोला भन्न सकिन्न ।
प्रकाशित मिति : २०७४ साल असार ९ गते शुक्रबार ।

Contact Us

Address:Madhesh Media House, Hanumansthan Chowk, Anamnagar, Kathmandu Nepal

Phone: 0977-1-4266141

Fax: 0977-1-4266141

Email: madheshvani@gmail.com