दोस्रो चरणको निर्वाचनको सन्देश (सम्पादकीय )

विभिन्न अड्कल, आशंका र त्रासकाबीच दोस्रो चरणको निर्वाचन बुधबार असार १४ गते प्रदेश नम्बर १, ५ र ७ को ३५ जिल्लाका ३३४ स्थानीय तहमा शान्तिपूर्ण र उत्साहजनक रूपमा सम्पन्न भएको छ । गत बैशाख ३१ गते भएको पहिलो चरणको निर्वाचन पनि यसैगरी सम्पन्न भएको थियो । दुबै निर्वाचनमा आम जनताको उत्साहपूर्ण सहभागिताले उनीहरूमा निर्वाचनप्रतिको मोह छर्लङ देखिन्छ ।
निश्चय पनि निर्वाचनलाई प्रजातन्त्रको मेरूदण्ड मानिन्छ । आवधिक निर्वाचनबिनाको प्रजातन्त्र दिगो हुन सक्दैन भन्ने स्वयंशिद्ध तथ्य नै हो । विगत २० वर्षदेखि रिक्त रहेको स्थानीय जनप्रतिनिधिको अभावलाई यस निर्वाचनले अवश्य पूर्ति गर्नेछ । जनताको आफ्नै घर आङ्गनमा आइपुग्ने स्थानीय सरकार र विकासको सम्भावनालाई स्थानीय तहको निर्वाचनले पक्कै सघाउने छ । अझ नयाँ संचरनाअनुसार भएको स्थानीय निर्वाचनले आम जनतामाझ सरकारको उपस्थिति र आफ्नो सहभागिताको सुनिश्चितता गराउँछ । जसकारण, स्थानीय तहको निर्वाचन आफैमा विशिष्ट महत्व राख्छ ।
देश गणतान्त्रिक व्यवस्थामा प्रवेश गरिसकेको अवस्थामा नयाँ संरचनामा पनि स्थानीय तहको छुट्टै विशेषता रहेको छ । यसो हुँदाहुँदै पनि एउटा गहन सवाल के उठेको छ भने राष्ट्रिय जनता पार्टी नेपाल, जो ६ वटा पार्टी मिलेर अहिले मधेशको महत्वपूर्ण पार्टी बनेको छ, उसको सहभागिता नरहेको यो निर्वाचनले आम जनताको भावनालाई समेट्न सफल भएको छ त ?
निश्चय पनि राजपा, जो संविधान संशोधन नगरी निर्वाचनमा जानु हुँदैन भन्दै आएको छ । राजपाको सहभागिता नरहेको निर्वाचन चाहे पहिलो चरणको होस् वा दोस्रो चरणको, राजपाको मागलाई नजरअन्दाज गर्न सकिन्न । तर, उसको सहभागिता नरहेको निर्वाचनमा जनताको अपार सहाभागिता हुुनुले राजपाको माग कमजोर त होइन भन्ने प्रश्न पनि उब्जाएको छ । किनभने राजपाको प्रभाव मानिएको क्षेत्रमा पनि उत्साहपूर्ण मतदान भएको छ । यसले उसको मागप्रति जनताले पनि नजरअन्दाज गरेको हो कि भन्ने चिन्ता बढाएको छ । निश्चित रूपमा राजपाको माग अनुचित होइन, किनभने उसले संविधान संशोधनको कुरा निर्वाचनको मुखमा उठाएको होइन, तर पनि उसको मागप्रति राज्यको बेवास्ताले उसलाई निर्वाचनबाट वञ्चित मात्र गराएको छैन, मधेशको एउटा धारलाई निर्वाचनबाट पनि विमुख गराएको छ ।
यद्यपी, तेस्रो चरणको निर्वाचन हुन बाँकी छ र त्यसअघि नै राजपाको सहभागितालाई सुनिश्चित गर्न संविधान संशोधन गरिनु पदर्छ । होइन भने राज्यले संविधान कार्यान्वयन तथा आगामी दुई निर्वाचनको बाटोलाई सहज पार गर्न कठिन हुनेछ ।
निर्वाचन स्वच्छ हुनका निमित्त साझा हुन जरूरी छ र राजपाबिनाको कुनै निर्वाचन साझा हुन सक्दैन । साझा नभएका निर्वाचनहरू भयमुक्त हुँदैनन् र भयसहितको निर्वाचनले कानूनी वैधता पाएपनि सामाजिक स्वीकृति पाउँदैन । स्थानीय तहको प्रदेश नं. २ को निर्वाचनमा राजपालाई सहभागी गराउन सर्वपक्षीय सक्रियता जरूरी छ । मुलुकप्रति मोह भंग, सरकारसँग द्वेष र दलहरूप्रतिको घृणा बढ्दै गयो भने यसले संविधानप्रतिको अमान्यता बढाउन सक्छ ।


प्रकाशित मिति : २०७४ साल, असार १६ गते शुक्रबार ।

Contact Us

Address:Madhesh Media House, Hanumansthan Chowk, Anamnagar, Kathmandu Nepal

Phone: 0977-1-4266141

Fax: 0977-1-4266141

Email: madheshvani@gmail.com