जलेश्वर, ३१ असार । महोत्तरी जिल्लामा दुई वर्षको अवधिमा ५२ जना एचआईभी÷एडस संक्रमित रोगीहरु फेला परेको र सोमध्ये गत पुसमा एकजनाको मृत्यु समेत भइसकेको शुक्रबार आयोजित एक कार्यक्रममा जानकारी दिइएको छ ।
जिल्ला स्वास्थ्य कार्यालय महोत्तरीले शुक्रबार आयोजना गरेको एचआईभी एड्स सम्बन्धी वार्षिक समिक्षा गोष्ठीमा यस्तो जानकारी दिइएको छ ।
स्वास्थ्य कार्यालय अन्तर्गतको एचआईभी एडस फाँटका विश्वनाथ यादवले आर्थिक वर्ष २०७२/०७३ र ०७३/०७४ गरी दुईवर्षमा महोत्तरीमा ११ बर्थिग सेन्टर र जिल्ला अस्पतालमा चेक गराउन आएकाहरु मध्ये ५२ जना एडसका विरामी फेला परेको बताए ।
उनले आर्थिक वर्ष २०७२/०७३ मा २४ जना र ०७३/०७४ त्यो भन्दा बढी गरी जम्मा ५२ जना फेला परेको बताए । सो मध्ये ४ जना बालबालिका समेत रहेको उनले जानकारी दिए । फेला परेका विरामीहरुमध्ये २९ जना पुरुष र १९ जना महिला रहेको उहाँले कार्यक्रममा जानकारी दिए । फेला परेका विरामीहरु मध्ये गत पुसमा एकजनाको मृत्यु समेत भइसकेको छ ।
तर जिल्लामा एचआईभी/एडस सम्बन्धी काम गर्ने संस्था स्पर्श नेपालले भने महोत्तरीमा २ सय २८ जना एचआईभी÷एडस संक्रमित रोगीहरु फेला परेको जनाएको छ ।
घर तथा समुदायमा आधारित कार्यक्रम अन्तर्गत गरिएको सर्वेक्षणमा विगत तिन वर्षको अवधिमा महोत्तरीमा त्यत्तिको संख्यामा एचआईभी÷एडस संक्रमित रोगीहरु फेला परेको सो संस्थाका एमआइएस अधिकृत चिरञ्जीवी कुमार यादवले बताए ।
उनले सो मध्ये १ सय ७६ जना नियमित सेवा लिइरहेको जानकारी दिँदै फेला परेको मध्ये २६ जनाको मृत्यु समेत भइसकेको कार्यक्रममा उहाँले जानकारी गराए ।
जिल्ला समन्वय समितिका स्थानीय विकास अधिकारी युवराज पौडेलको अध्यक्षता तथा प्रशासकिय अधिकृत शम्भुप्रसाद यादवको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा जनस्वास्थ्य अधिकृत नागेन्द्रप्रसाद यादवले स्वागत मन्तव्य राखेका थिए ।
सोही कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख स्थानीय विकास अधिकारी तथा जनस्वास्थ्य प्रमुख नागेन्द्रप्रसाद यादवले सन् २०१७ सम्ममा नेपाललाई नै पूर्ण खोप घोषणा गर्नुपर्ने रहेको बताउँदै सोही कार्यक्रमअन्तर्गत शनिबार रामगोपालपुरको खोपीलाई पूर्ण खोप वडा घोषणा गरिने जानकारी दिए ।
उनीहरुले जिल्लामा अहिलेसम्म ५ वटा गाउँ विकास समिति (अहिले गाउँपालिकाको वडा) मात्रै पूर्ण खोप हुन सकेको बताउँदै ६ महिनामा जिल्लालाई नै घोषणा गर्नुपर्ने बाध्यता रहेको बताएका थिए ।