फोरम नेपालसँगको एकीकरण प्रक्रिया स्थगन भएको छ : रामकुमार शर्मा

नेता, नयाँ शक्ति पार्टी नेपाल

० नयाँ शक्ति पार्टी र फोरम नेपालबीच एकीकरणको कुरा केही महिनादेखि चलिरहेको थियो । तर, यसबीचमा फोरमसँगको एकीकरणभन्दा पनि नेकपा माओवादी केन्द्रसँगको एकीकरणको कुरा बढी चर्चामा आएको छ । के रहेछ कुरो ?
— स्थानीय तहको निर्वाचनले जनता फेरि पुरानो ठाउँमा अर्थात नेपाली कांग्रेस र नेकपा एमालेतिर गएको कुरा देखाएको छ । जसले गर्दा नयाँ नेपाल बनाउन चाहने जनता र परिवर्तनकारी शक्तिलाई दुःखी तुल्याएको छ । माओवादी पार्टी यो देशको सबैभन्दा अग्रगामी पार्टी हो । केही कमि कमजोरीका बाबजुद माओवादी अहिले पनि परिवर्तनकारी शक्ति नै हो । पार्टीभित्रको विभाजन, सत्ता लोलुपता, जनताको चाहनाविपरीत हिड्नुलगायत कारणले माओवादीको देशभर यस्तो हालत भयो । त्यस्तै, काम मधेशकेन्द्रित दलहरूमा पनि भयो । उनीहरू पनि सत्ताका लागि धेरै विभाजित बने । जनताका हितविपरीत कार्य गरे । त्यसकारण अहिले नेपालको राजनीतिमा माओवादी नै परिवर्तनकारी शक्ति हो । परिवर्तनका मूख्य एजेण्डा गणतन्त्र, धर्मनिरपेक्षता, समानुपातिक समावेशीलगायतलाई नेतृत्व दिने यिनै पार्टी हुन् । तर, यिनै पार्टीले गरेका गल्तीका कारण जनताले दुःखी भएर फेरि नेपाली कांग्रेस र एमालेलाई मत दिए । यो हाम्रो निष्कर्ष हो । अब यसको विकल्प भनेको आफूलाई रूपान्तरण गर्ने, सच्याउने, जनतासँग माफी माग्ने नै हो । विचार मिल्नेसँग एकता गर्ने र परिवर्तनकारी शक्तिहरूसँग मोर्चाबन्दी गर्ने निष्कर्षमा हामी पुगेका छौं । यसरी हामी नीति बनाउँदा अरू पार्टीभन्दा संघीय समाजवादी फोरम नेपाल धेरैनजिक छ । फोरम नेपाल विचार, राजनीति, सिद्धान्तमा अरूभन्दा हामीसँग नजिक छ । त्यसकारण फोरम नेपालसँग हामीले एकताको प्रस्ताव ग¥यौं । लामो समयदेखि हामी यो प्रक्रियामा छौं । यो प्रक्रिया समाप्त भएको छैन । हामीले तेश्रो चरणको चुनावअघि नै एकीकरण गर्ने पक्षमा थियौं । तर, यसमा केही बाधा अड्चन देखिएका छन् ।


० त्यसो भए फोरमसँगको एकीकरण प्रक्रिया थाँती राखेर नेकपा माओवादी केन्द्रमा समाहित हुने हो ?
— हामीले कसैसँग मिसिने कुरा गरेका छैनौं । हामी विचार, राजनीति, नीति, सिद्धान्त मिल्नेहरूसँग एकता गर्ने र परिवर्तनकारी शक्तिहरूसँग मोर्चाबन्दी गरेर जाने सोचमा छौं । त्यसकारण फोरमसँग हामीले एकताका कुरा ग¥यौं । हामीबीच धेरै कुरा मिलिसकेका छन् । तर, केही प्राविधिक विषयले एकीकरणको कुरा अड्किएको मात्र हो । तत्काललाई एकीकरण प्रक्रिया स्थगित भएको हो ।


० फोरम नेपालसँगको एकीकरण प्रक्रिया स्थगित भयो ?
— तत्कालका लागि एकीकरण प्रक्रिया स्थगन भएको देखिन्छ । चुनाव अघि नै एकता गरौं भन्ने इच्छा थियो ।


० फोरमसँगको वार्तामा तपाईं पनि सक्रिय हुनुहुन्थ्यो । एकीकरण प्रक्रिया किन स्थगित गर्नुप¥यो ?
— म औपचारिक वार्ता टोलीमा नभए पनि एकीकरण हुनुपर्छ भन्ने विषय उठान गर्ने म नै थिएँ । एकीकरणका लागि म धेरै सक्रिय थिएँ । नयाँ शक्ति र फोरम नेपाल मिलेर नै वैकल्पिक शक्ति निर्माण हुने कुरा हाम्रो ठहर थियो । हामी नमिल्दा फेरि यो मुलुकमा यथास्थितिवादी शक्ति नै हाबी हुने हाम्रो ठहर थियो । म पर्दा पछाडि रहेर प्रारम्भदेखि नै वार्ताका लागि सक्रिय थिएँ । एकीकरण प्रक्रियालाई यहाँसम्म ल्याउनुमा मेरो महत्वपूर्ण भूमिका रह्यो ।


० त्यसो भए फोरमसँगको एकीकरण प्रक्रिया रोकेर माओवादीसँग एकीकरण प्रक्रिया अघि बढाइएको हो ?
— नेकपा माओवादी केन्द्रको बैठकले केही निर्णय सार्वजनिक गरेको छ । एकदमै लामो केन्द्रीय समिति भद्दा भएको कुरा नेकपा माओवादी केन्द्रले स्वीकार ग¥यो । लामो केन्द्रीय समिति हुँदा हात्तीपाइले संगठन जस्तै भयो, यसलाई पुनर्गठन गर्नुको विकल्प थिएन । अब माओवादीले ९९ सदस्यमा झारेर केन्द्रीय समिति बनाउनुपर्ने निर्णय गरेको छ । दोश्रो, उसले यो देशको राजनीतिक स्थिरताका लागि र सही लोकतन्त्रका लागि प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुख हुुनुपर्छ भन्ने कुरालाई फेरि आत्मसात गरेको छ । यो देशमा लामो समयदेखि प्रमुख कार्यकारी नभएर अस्थिरता कायम रहेको छ । माओवादीले मधेशी, आदिवासी जनजातिका मुद्दा उठाएर पछि छाडेको थियो, तर ती एजेण्डालाई पुनः उठाएको छ । जबसम्म देशमा स्थिर सरकार हुँदैन, तबसम्म देशलाई आर्थिक विकास र समृद्धिको बाटोमा लैजान सकिँदैन भन्ने कुरा माओवादीले पछिल्लो समयमा स्वीकार गरेको छ । माओवादीले प्रमुख कार्यकारीको कुरालाई मुख्य एजेण्डाका रूपमा उठाएको छ । यसका लागि सबै पार्टीसँग वार्ता गर्ने, आवश्यक परे आन्दोलन गर्ने भनेर माओवादीले भनेको छ । हो, नयाँ शक्तिको एजेण्डा पनि यही हो । त्यसकारण स्वभाविक रूपमा नयाँ शक्तिले माओवादीको यो कदमलाई सकारात्मक रूपमा लिएको छ । नयाँ शक्तिमा दुई वटा लाइन देखिएका छन् । एउटा, उपेन्द्रजीसँग एकता गरेर बाँकीसँग मोर्चाबन्दी गरेर अगाडि बढ्ने, यदि उपेन्द्रजी एकता गर्नुहुन्न भने नयाँ शक्तिले प्रचण्डजीसँग पनि कुराकानी गर्न सक्नुपर्छ । यी कुराहरू नयाँ शक्तिभित्र चलेको छ । एजेण्डा मिलेका कारण माओवादीसँग मोर्चाबन्दी हुने, भविष्यमा एकीकरण नै हुने हो कि भन्ने चर्चा चल्नु स्वभाविक हो । तर, अहिलेसम्म गम्भीर रूपमा यस विषयमा कुनै कुरा भएको छैन । विगतको कुरा गर्ने हो, माओवादीले लामो केन्द्रीय समिति बनाएर भद्दा पार्टी बनायो । जसको परिणाम स्थानीय चुनावमा भोगेको छ । माओवादीले अब बुझ्दै गएको छ कि यो पार्टीलाई राम्रो बनाउन सकिएन । माओवादी पार्टी हात्तीपाइले र भद्दा भयो, त्यसैले यसमा सुधार आवश्यक रहेको कुरा माओवादीले अब बुझेको छ । अर्को कुरा पछिल्लो समय नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डजीले अपिल गर्नुभएको छ, कि हामी सबै परिवर्तनकारी शक्ति मिल्नुपर्छ । यस्तो अपिल गरेपछि विद्रोह गरेर आएका हामीबीच यसविषयमा छलफल हुनु स्वभाविकै हो ।
० स्थानीय चुनावमा माओवादी र नयाँ शक्ति दुवैले अपेक्षाकृत नतिजा ल्याउन सकेनन् । भनेपछि दुवै पार्टीलाई नजिक ल्याउने काम चुनावको परिणामले पनि गरेको हो ?
— नेपाली कांग्रेस र नेकपा एमाले यथास्थितिवादी शक्ति हुन् । यी दलहरू कतिपय सवालमा प्रतिगामी पनि छन् । नेपाली कांग्रेस र नेकपा एमालेले यो मुलुकलाई निकास दिन सकेनन् । मुलुकलाई निकास दिने मुद्दाहरूप्रति ध्यान दिएनन् । तर, यही शक्तिलाई जनताले बढी मत दिएका छन् । त्यसैले अब परिवर्तनकारी शक्तिले पनि विगतमा गरेका गल्तीलाई सुधार गरी अगाडि बढेन भने यो देश २०४६ साल अघिको अवस्थामा पुग्छ । त्यसकारण अब परिवर्तनकारी शक्तिहरूले आफूलाई रूपान्तरण गरी नयाँ बन्नुपर्छ ।


० यो मुलुकमा यथास्थितिवादी शक्तिहरूले के ीगर्न सकेनन्, पछिल्लो समयमा आएका परिवर्तनकारी शक्ति पनि बाटो बिराए भन्दै तपाईंहरूले नयाँ शक्ति गठन गर्नुभएको थियो । तर, नयाँ शक्तिले स्थानीय चुनावमा अपेक्षाकृत मत पाउन सकेन नि ?
— स्थानीय तहको परिणामबाट हामी धेरै खुशी छैनौं । तर, यो परिणामलाई सन्तोषजनक नै मानेका छौं । नयाँ शक्ति गठन भएको एक वर्ष पनि भएको छैन । देशभर संगठन विस्तार गर्न सकिएको छैन । गाउँ र वडासम्म पार्टी विस्तार भइनसकेको अवस्थामा स्थानीय चुनावमा आएको परिणामलाई हामीले सन्तोषजनक नै मानेका छौ । अर्को, नेपालको राजनीतिमा पावर पोलिटिक्स चल्दै आएको छ । अर्थात, जसको सरकार हुन्छ, उसले शक्ति र पैसाको बल देखाउने गरेको छ । एउटा वडाभित्र उम्मेदवारले १०–१० लाख खर्च गरेका छन् । हाम्रो संयोजक डा. बाबुराम भट्टराई इमान्दार नेता हुनुहुन्छ । हामी भर्खर त पार्टी खोलेका छौं । हामी पैसाको खोलो बगाउन चाहँदैनौं । मलाई के लाग्छ भने हामी प्रतिकुल परिस्थितिमा चुनावमा गयौं । नयाँ संविधान बनेकोमा पहाडका जनता उत्सव मनाइरहेका थिए । यस्तो अवस्थामा संयोजक भट्टराईले भन्नुभयो, संविधानले दिएका अधिकारहरू सुरक्षित भए तर, तराई मधेशका जनता अझै असन्तुष्ट छन् । तिनीहरूलाई पनि विश्वासमा लिनका लागि संविधानमा संशोधन आवश्यक छ । त्यसकारण यो कुरालाई पहाडले मनपराइ दिएन । बाबुरामजी मधेशीसँग मिले भनेर पहाडका जनताले भन्न थाले । हामीले सबैलाई यो कुरा बुझाउन सकिरहेका थिएनौं ।


० नयाँ पार्टी भएका कारण चुनावमा अपेक्षाकृत नतिजा ल्याउन नसकेको भनिरहनुभएको छ । त्यसो भए तत्कालै नपाईंहरू अन्य पार्टीसँग एकीकरणको कुरा किन गर्न थाल्नुभएको हो ?
— हामी आत्तिएका होइनौं । हामी नयाँ विचार लिएर आएका छौं ।


० तपाईंहरू फेरि पुरानै पार्टी माओवादीसँग मिल्ने कुरामा सकारात्मक देखिनुहुन्छ नि ?
— नयाँ शक्ति पार्टीले जुन एजेण्डा ल्यायो । अहिले देशका सम्पूर्ण दलले आफ्नो घोषणा पत्रमा त्यहि एजेण्डा ल्याएका छन् । आर्थिक विकास र समृद्धि सबै पार्टीको एजेण्डा भयो ।


(मधेशवाणीका लागि अजय साह शिवालीले गरेको कुराकानीको सम्पादित अंश)

प्रकाशित मिति : २०७४ साल साउन १३ गते शुक्रबार ।

Contact Us

Address:Madhesh Media House, Hanumansthan Chowk, Anamnagar, Kathmandu Nepal

Phone: 0977-1-4266141

Fax: 0977-1-4266141

Email: madheshvani@gmail.com