संशोधन नभएसम्म चुनाव हुन दिन्नौं : सत्यनारायण मण्डल

उपाध्यक्ष, राजपा नेपाल

० संविधान संशोधन प्रक्रियालाई सत्तारूढ दलले अगाडि बढाएको छ, यस संशोधन प्रक्रियाले राजपा नेपाल सन्तुष्ट छ ?
— राजपा नेपाल अहिले पनि पूर्णरूपमा सन्तुष्ट छैन । किनभने नेपाली काँग्रेस, नेकपा एमाले र नेकपा माओवादी केन्द्र यी तीनटै दल कुनै पनि हालतमा संविधान संशोधन प्रस्ताव पारित नगर्ने यिनीहरूको भित्री मनसाय हो । गणितीय हिसाबले हेर्ने हो भने राप्रपा अहिले सरकार बाहिर छ, संसदको जस्तो अवस्था छ त्यसमा राप्रपाको ३७ जना सांसद मतदान गर्दैन, एमाले बाहेक तबसम्म यो दोस्रो संविधान संशोधन विधेयक पारित हुँदैन । अब यस जोडघटाउमा काँग्रेस र माओवादी केन्द्र गठबन्धनले यी कुरामा गुणा भाग गरिरहेको छ । हामीहरू अहिलेसम्म पनि विश्वस्त छैनौं कि संसदमा मधेशका लागि पेश गरेको दोस्रो संशोधन विधेयक पास गर्छ भनेर । यी तिनटै पार्टीको भित्री मनसाय एउटै हो कि मधेशलाई अधिकार नदिने । राजपालाई कुनै पनि हिसाबले तेस्रो चरणको चुनावमा भाग लिन नदिने यिनीहरूको षड्यन्त्र हो । यो मनसायले यिनीहरू पहिलेदेखि नै मधेशलाई ललिपप देखाउँदै ठग्दै आइरहेका छन् । राजपा नेपाल अहिले पनि यिनीहरू माथि पूर्ण विश्वस्त छैन ।


० अहिलेको संविधान संशोधन प्रस्तावमा कुन कुन विद्येयकहरू प्रक्रियामा अगाडि बढाइएको छ ?
— तत्कालीन संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाको ११ बुँदे र संघीय गठबन्धनको २६ बुँदे मागको जो कम्पोजिट स्ट्रक्चर अफ डिमाण्ड छ त्यो वास्तवमा दोस्रो संशोधन विधेयकमा सबै छैन । हाम्रो सुरूदेखिको अडान के थियो भने आत्मनिर्णय सहितको एक मधेश प्रदेशको माग थियो त्यसमा हामीले संघर्ष ग¥यौँ । जसमा सरकारले हामीसँग सम्झौता गरेर उच्चस्तरीय आयोग बनाएर मधेशमा दुईओटा प्रदेश बनाउने भनेर भनिएको थियो । वीरगंजदेखि पूर्व एक र वीरगंजदेखि पश्चिम दुई प्रदेश भनेका थियौं । पछि आएर यिनीहरूले अहिले चाँहि ५१ प्रतिशत भएका मधेशी जनतालाई अलमलमा पारेर, धोका दिएर, गद्दारी गरेर दुई प्रदेशको अवधारणालाई पनि रद्दीको टोकरीमा फालेर बखेडाको कुरा गरिरहेका छन् । दुई प्रदेशको कुरालाई पनि यिनीहरूले थाँती राख्यो । यहि संविधान जसलाई माइतीघर मण्डलामा हामीहरूले जलाएका थियो त्यो संविधानको धारा २७४ ले नयाँ प्रान्तको संरचना खडा गर्ने भनेको अवरोधक आर्टिकल हो । यो धारालाई पनि यिनीहरू संशोधन गर्न मानेका छैनन् । जसले गर्दा यो एक मधेश दुई प्रदेशको अवधारणालाई पनि कुण्ठित पारेको छ । त्यस्तै जनसंख्याको अधारमा स्थानीय निकाय खडा गर्ने, जनसंख्याको अधारमा संसदमा खडा गर्ने, समानुपातिक समावेशी लागु गर्ने यी सारा कुराको कम्पोजिट स्ट्रक्चर दोस्रो संशोधन विधेयकमा छैन । दोस्रो संशोधन विधेयकमा जनसंख्या सम्बन्धी कुराहरू छ, नागरिकता सम्बन्धी छ, समानुपातिक समावेशीको कुराहरू मात्रै छ । यिनीहरूसँग बाँकीको मागहरूका लागि अनवरत रूपमा हाम्रो संघर्ष जारी नै रहने छ ।


० संशोधन विद्येयक पारित भएन भने त्यसपछि राजपा नेपालको रणनीतिक बाटो के होला त ?
— यो सरकारले दोस्रो संविधान संशोधन विधेयक पास गर्ला भनेर प्रतिवद्धता गरेको छ । अब संशोधन विधेयक पास गराउने जिम्मेबारी त उहाँहरूको हो नि । यो प्रश्न उनीहरूलाई जानु पर्यो कि तिमीहरूले संशोधन विद्येयक पास गराउँछौँ भन्ने तर किन गराउन सकिरहेका छैनौँ । हामीसँग सहमति गर्ने बेला उनीहरूले सोच्नु पर्ने थियो कि एमाले र राप्रपाले भोट देला कि नदेला, दुई तिहाई बहुमत पुग्ला कि नपुग्ला भनेर । हामीले त संशोधन प्रक्रिया पास नभएसम्म त आशावादी छौँ ।


० तर, संविधान संशोधन विधेयक प्रस्ताव पारित भएन भने राजपा नेपालले आन्दोलन गर्ने कि त्यसलाई स्वीकार गरेर चुनावमा जाने ?
— यदि दोस्रो संविधान संशोधन विधेयक पास भएन, मन्त्री परिषदबाट पुरा गर्न सकिने मागहरू पुरा गरेन भने जुन प्रकारले हामीले पहिलो र दोस्रो चरणको निर्वाचनमा भाग लिएनौँ र बहिष्कार गरेका थियौं त्यसरी नै तेस्रो चरणको निर्वाचन पनि बहिष्कार गर्छौं । कुनै पनि हालतमा हामी तेस्रो चरणको चुनावमा भाग लिदैँनौँ । एउटा अर्को कुरा के खुलासा गर्न चाहन्छौँ कि चुनावको मात्रै बहिष्कार गर्दैनौँ हामीले संसदबाट पनि सारा सांसदहरू राजिनामा दिएर आन्दोलनको आँधीबेहरी ल्याउँछौं । र कुनै पनि हालतमा हामी २ नम्बर प्रदेशमा चुनाव हुन दिदैँनौँ ।


० संविधान संशोधन बाहेकका मागहरू पुरा भए राजपा नेपाल चुनावमा जान्छ त ?
— शेरबहादुर देउवाको कुर्सी कसरी दश महिनासम्म टिकी रहन्छ, उसले कसरी कुर्सीमा टासिरन्छ त्यो स्वार्थ पुरा गर्नको लागि यस्तो हल्ला फिजाइएको हो । हामीसँग त्यस्तो कुरा गरेको छैन । हामीले त प्रष्ट भनेका छौ कि क्याबिनेटबाट पुरा हुने मागहरू र दोस्रो संशोधन विधेयक जबसम्म पास हुँदैन तबसम्म हामी कुनै पनि निर्वाचनमा भाग लिँदैनौं ।


० राजपा नेपाल निर्वाचनमा सहभागि नहुँदा संगठन छिन्न भिन्न हुने खतरा बढेको देखिन्छ नि ?
— म राजनीतिकर्मी हो । राजनीतिकर्मीले कहिल्यै पनि आफ्नो संगठन समाप्त हुन्छ भन्ने कुरा गर्दैन । किनभने पञ्चायती व्यवस्थामा नेपाली काँग्रेसले ३० वर्षसम्म चुनावमा भाग लिएन । अहिलेको स्थितिमा सबभन्दा बढी सांसद संख्या भएको पहिलो पार्टी नेपाली काँग्रेस नै हो । यो चुनाव अवधि पाँच वर्षका लागि मात्र हो । यो पाँच वर्षमा आकाश पताल हुँदैन र पताल आकाश हुँदैन । अर्को पाँच वर्षपछि फेरि चुनाव आउँछ नि । त्यसबेला कांग्रेस, एमाले र माओवादीको कु–कृतलाई जनता समक्ष राख्छौँ । जनतालाई यी सबै कुरा बताउँछौ र यिनीहरू माथी हमला गर्छौं ।


० राजपा नेपाल निर्वाचनमा सहभागि नभएपछि मधेशका जनताहरूले विकल्प खोज्ने अवस्था आउँछ नि ? यस्तो अवस्थामा राजपा नेपाल के गर्ला त ?
— हेर्नुस, यो जनताको कुरा हो । नेपाली कांग्रेस ३० वर्ष चुनावमा भाग लिएन, त्यतिबेला पनि नेपाली कांग्रेसका कोही–कोही मान्छेहरूले चुनावमा लिन्थे । म के भन्न चाहन्छु भने राजपा नेपाल भाग नलिँदैमा राजपाको संगठन ध्वस्त हुदैन । पाँच वर्ष मात्र चुनावमा नजाने कुरा हो नि ।


० राजपा नेपालले प्रमुख प्रतिपक्षी नेकपा एमालेसँग पनि वार्ता गरिरहेको छ भन्ने सुनिन्छ नि ?
— हेर्नुस्, नेकपा एमाले पनि नेपालकै राष्ट्रिय पार्टी हो । राजपा नेपाल पनि नेपालकै एउटा पार्टी हो । अब पार्टी–पार्टी बीच संबाद हुने वा नहुने ठूलो बहसको विषय हो । दोस्रो संशोधन विधेयकको बारेमा नेकपा एमालेसँग अनौपचारिक रूपमा कहीकतै कुरा भएको होला त्यो भिन्न कुरा हो । तर राजपा नेपालको औपचारिक रूपमा नेकपा एमालेसँग कुरा भएको छैन ।


० अहिले फेरि एक मधेश प्रदेशको माग राख्दै मातृका यादवको नेतृत्वमा एउटा संगठन खडा भएको छ । जसमा राजपा नेपालका अध्यक्ष मण्डलका सदस्य महेन्द्र प्रसाद यादव पनि सहभागि हुनुहन्छ, यसमा तपाईको धारणा के छ ?
— सुरूमा जति पनि मधेशवादी दलहरू थिए ती सबैका एजेण्डा एक मधेश एक प्रदेश नै थियो । तर जुन देशमा हामी बाँचिरहेका छौँ त्यो देशको सरकारले अमन, चयन, शान्ति, द्रूतगतिमा विकास चाहेको छैन । यो सन्दर्भमा उच्च स्तरीय आयोग गठन भएको थियो त्यसले मधेशमा दुई प्रदेश हुनु पर्छ भनेर भनेका थिए । त्यसपछि हामीले दुई प्रदेशको मान्यता दिएको हो । तर सुरूमा हामीहरूको माग आत्म निर्णय सहितको मधेश प्रदेश नै थियो ।


० विजयकुमार गच्छदारले राजपा र फोरम नेपालसँग मिलेर महागठबन्धन बनाएर चुनावमा जाने र बहुमत ल्याएर संविधान संशोधन गर्ने भन्नुभएको छ, यसमा तपाईको धारणा के छ ?
— विजयकुमार गच्छदारजी सत्तावादी नेता हो । तर राजपाको के सिद्धान्त छ कि जुन मुद्दा बोकेर राजपा पार्टी अगाडी बढिरहेको छ त्यो एजेण्डा पुरा नभएसम्म छोडेर हिड्ने खालको होइन । त्यहीं भएर सत्तामा बसेर विजय गच्छदारजीले हामीलाई राजनीति सिकाउनु पर्ने आवश्यता छैन । तर मधेशको मुद्दा कसरी सम्बोधन हुन्छ त्यो अभियानमा विजय गच्छदार र उपेन्द्र यादव सहभागी भयो भने हामी उहाँहरूलाई स्वागत गर्छौं । तर उहाँहरूले सत्ता छोड्नु पर्छ र बिना संशोधनको चुनाव बहिष्कार गर्नु पर्छ । हामीले चुनावमा कहिल्यै भाग नलिने कुरा गरेको होइन तर हामीलाई चुनावमा जाने वातावरण त पहिले सरकारले बनाई दिनु प¥यो नि ।

(मधेशवाणीका लागि अजय साह शिवालीले गरेको कुराकानीको सम्पादित अंश)

प्रकाशित मिति : २०७४ साल साउन २० गते शुक्रबार ।

Contact Us

Address:Madhesh Media House, Hanumansthan Chowk, Anamnagar, Kathmandu Nepal

Phone: 0977-1-4266141

Fax: 0977-1-4266141

Email: madheshvani@gmail.com