राजपाको विधानअनुसार पार्टीका अन्य पदाधिकारीको कामै छैन – मनोहर साह

अधिवक्ता

० राष्ट्रिय जनता पार्टीको केन्द्रीय कार्यसमितिमा प्रस्तुत विधान कस्तो लाग्यो ?
— राष्ट्रिय जनता पार्टीको विधान अरू पार्टीहरूभन्दा फरक खालको छ । अध्यक्षमण्डल गठन गरी पालैपालो संयोजन गर्ने कुरा फरक छ । यो विधानमा लेखिएको छ, यो विधान अन्तरिम र संक्षिप्त हुनेछ । त्यसकारण यो विधानमा धेरै कुरो नखुलाइएको प्रष्ट हुन्छ । यसका साथै अध्यक्ष मण्डलको व्यवस्था महाधिवेशनपछि पनि रहने छ । भनेपछि अध्यक्षमण्डलको व्यवस्था पछि पनि कायम राखिएको छ । यसका साथै पार्टीको अन्य धेरै निर्णय गर्ने अधिकार पनि ६ वटा अध्यक्षहरूलाई दिइएको छ । तैपनि यो विधान अन्तरिम र संक्षिप्त विधान हुनेछ भनेर भनिएको छ । यसभित्र दफावार अध्ययन गर्दा धेरै कुराहरू खुलाइएको छैन । यसमा जति पनि अधिकारहरू दिइएको छ, सरा सर्वेसर्वा गर्ने निर्णय अधिकार अध्यक्षहरूले आफैमा निहित राखेका छन् ।


० त्यसो भए यो विधान कत्तिको प्रजातान्त्रिक छ ?
— अवश्य पनि, विधानलाई हेर्दा राजपा प्राइभेट फर्म जस्तो देखिन्छ । यसका साथै केन्द्रीय समिति, पदाधिकारी समिति, राजनीतिक समिति, लेखा समिति, सचिवालयलगायत आवश्यकता अनुसार अध्यक्ष मण्डल नै गर्ने भनिएको छ । खासमा समिति कत्ति सदस्य हुने, पद के–के रहने कुरा विधानमा हुनुपर्नेमा त्यसो गरिएको छ । तर, यी सबै विषयको जिम्मा अध्यक्ष मण्डललाई जतिखेर मन लाग्यो, उतिखेर आफ्नो किसिमले हिंड्ने बाटो बनाइदिएको छ । जुन निरंकुश व्यवस्था हो । यसलाई प्रजातान्त्रिक मान्न सकिँदैन । तर, यो विधान विस्तृत र पूर्ण नभएकोले अहिले राखिएको व्यवस्थालाई हेर्दा लोकतान्त्रिक भन्न सकिँदैन । पछि भने यसमा सुधार हुन सक्छ । यो विधानअनुसार पार्टीका अन्य पदाधिकारीको कामै छैन, जस्तो देखिन्छ । ६ दल एक भएपछि विभिन्न किसिमको बैठक बसिरहेको छ । तर, ती बैठकबाट आएको सुझावलाई पनि आत्मसात नगरेको देखियो । अन्तिम निर्णय गर्ने अधिकार ६ नेतालाइृ नै दिइएको छ । राय सल्लाह मन लागे मान्ने मन नलागे नमान्ने जस्तो विधान भयो । यसलाई अलोकतान्त्रिक नै भन्नुपर्छ । त्यस्तै, धारा ६ को उपधारा ३ मा केन्द्रीय अध्यक्ष मण्डलले पार्टीको सर्वोच्च नेतृत्वका रूपमा आफ्नो अधिकार र कर्तव्य प्रयोग गर्नेछ भनिएको छ । भनेपछि अध्यक्षमण्डल बाहेक अरू कुनै निकाय नै भएन । त्यस्तै, केन्द्रीय लेखा परीक्षण समिति छ । तर, त्यसको संचालन पनि अध्यक्ष मण्डलले गर्ने भनिएको छ । त्यसो भए कार्यसमिति राखेको के अर्थ ?


० अध्यक्षमण्डलले चाहे भने पार्टीलाई विलय, नाम परिवर्तन, झण्डा परिवर्तन लगायत गर्न भन्ने धारा विधानमा रहेको छ, यसमा के भन्नुहुन्छ ?
— त्यो भन्नु अर्थ के हो भने यो सबभन्दा निरंकुश व्यवस्था हो । पार्टीमा अरू नेताहरू वा पदाधिकारीहरूको कामै छैन । जस्तै, अहिले भर्खरै राजपा नेपालको केन्द्रीय पदाधिकारी र केन्द्रीय कार्यसमितिको बैठक बसेको थियो । त्यो बैठक भनेको एउटा छलफलका लागि मात्रै हो । त्यो बैठकले कुनै निर्णय गर्न सक्ने अधिकार विधानले दिएको छैन । अध्यक्षमण्डलले जे चान्छ त्यही हुने हो । यसलाई अलोकतान्त्रिक नै भन्नुपर्छ । विधान केन्द्रीय लेखा समिति पनि राखिएको छ तर, त्यसमा पनि पार्टीको अध्यक्षमण्डलको निर्णयअनुसार कोष सञ्चालन हुनेछ भनिएको छ । त्यसो भए, केन्द्रीय समिति राखेको के अर्थ भयो ।


० राजपाको विधानको राम्रा पक्ष के–के छन् ?
— म सुरूदेखि नै भन्दै आएको छु कि पार्टी एकीकरण भएको तर मन नमिलेको अवस्था छ । ६ दल एक हुनु राम्रो हो, तर मन नमिल्नु नराम्रो । मन र न्यायोचित रूपमा पद तथा जिम्मेवारी नमिलेसम्म समस्या यथावत् रहने छ । सबभन्दा बाध्यता मिल्नु राम्रो पक्ष हो तर मन नमिल्नु नराम्रो पक्ष हो । यी नेताहरूको मन र वरिष्ठताक्रम मिल्नुपर्छ ।


० राजपा चुनावमा जानु उचित हो कि होइन ?
— स्थानीय तहको दुई चरणको चुनावसम्ममा दुई वटा मधेशकेन्द्रित दलले सहभागिता जनाइसकेका छन् । तर, चुनावमा सहभागिता केका लागि ? २०६३÷६४ को आन्दोलनमा ६० जनाले शहादत दिएका थिए । तर, अहिले मधेशकेन्द्रित दलका नेताहरूले पछिल्लो समयका ५८ जना शहीदको मात्र नाम लिने गरेका छन् । हालसम्म एक सय १५–२० जना शहीद भएका छन् । उनीहरूले शहादत केका लागि दिए भन्ने कुरा मधेशकेन्द्रित दलले बुझ्नु जरूरी छ । संविधानमा अधिकारका लागि उनीहरूले शहादत दिएका थिए । पछिल्लो समयमा संविधान संशोधन हुनुपर्छ भनेर हामीले अड्डी कसेर बसेका छौं । अहिलेको चुनावको संविधानको स्वीकारोक्तिका लागि भइरहेको छ । संविधान मान्यौं भनेर चुनाव भइरहेको छ । अर्को कुरो, राजपा वा अन्य मधेशकेन्द्रित दलमा के आधारमा भोट दिने ? यी दलले के उपलब्धि गरायो ? जनताले उहाँहरूलाई किन भोट दिने ? विगतमा उहाँहरूलाई त जनाले जिताएकै हुन् । तर, खोइ संसद् छोड्न सकेको ? उहाँहरूले भत्ता पाइरहनुभएका छन् । पटकपटक सरकार पनि बनाइरहनुहुन्छ । यसरी हेर्दा, उहाँहरू संविधान मानिसकेका छन् । त्यसकारण अहिलेको अवस्थामा मधेशकेन्द्रित दलहरू चुनावमा नजानु नै उत्तम हुन्छ । चुनावमा गयो भने जनताको विश्वास उठ्छ । संविधान संशोधन नभईकन राजपा चुनावमा जानु हुँदैन । संशोधन नभई चुनावमा गइएन भने राजपाको शाख बच्छ । अहिले त विकासका लागि चुनाव भइरहेको छ । प्रान्तीय र संसदीय चुनाव मुद्दाका लागि हो । अहिले संशोधनअघि स्थानीय चुनावमा गयो भने पछि राजपालाई धेरै घाटा हुन्छ । अहिले चुनावमा गएन भने राजपामाथि जनताको विश्वास अझ बढ्छ ।

 

मधेशवाणी साप्ताहिकका लागि रामसुकुल मण्डलले गरेको कुराकानीको संम्पादित अंश ।

प्रकाशित मिति : २०७४ साल साउन २७ गते शुक्रबार ।

Contact Us

Address:Madhesh Media House, Hanumansthan Chowk, Anamnagar, Kathmandu Nepal

Phone: 0977-1-4266141

Fax: 0977-1-4266141

Email: madheshvani@gmail.com