राजपा मध्यमार्गी विकल्पको खोजीमा

मधेशवाणी डेस्क, काठमाडौं, २७ साउन । अन्ततः सबै अडकल र आशंकालाई चिर्दै राष्ट्रिय जनता पार्टी नेपालले संविधान संशोधनबिना चुनावमा नजाने ठोस निर्णय गरेको छ । यसअघि पार्टी भित्रै चुनावमा जानु पर्ने केही नेताहरूको दबाबलाई चिर्दै पार्टीले प्रदेश नम्बर २ मा असोज २ गते हुने तेस्रो चरणको स्थानीय तहको चुनावलाई पहिलो र दोस्रो चरणजस्तै सशक्त वहिष्कार गर्ने निर्णय गरेको छ ।

तीन दिनसम्म चलेको केन्द्रीय समिति बैठकले यथास्थितिमा चुनावमा नजाने निर्णय गरेको हो ।
चुनावमा जाने÷नजाने बीच तीव्र भदभेद र आन्तरिक तथा बाह्य दबाबका बीच आएको राजपाको पछिल्लो निर्णयले सत्तारूढ घटक काँग्रेस र नेकपा माओवादी केन्द्रलाई झस्काएको छ । ती दुवै दल चुनावका लागि राजपामा परेको दबाबले उ संविधान संशोधन बिना नै आउने कुरामा विश्वस्त थिए । तर। पछिल्लो निर्णयले तेस्रो चरणको चुनावलाई मात्रै निस्तेज गरेको छैन अब सरकारालाई चुनावअघि नै संविधान संशोधन गर्ने दबाब पनि परेको छ ।

राजपा विकल्पको खोजीमा

राजपाको केन्द्रीय कार्यसमिति र पदाधिकारी बैठकमा चुनावमा जाने कि नजाने भन्नेमा पार्टीभित्र विवाद भएपछि राजपाले मध्यमार्गी विकल्पमा जान सक्ने संकेत पनि देखाएको छ । कार्यकर्ताको दबाब र आन्दोलनमा जान बाह्य परिस्थितिसमेत अनुकूल नरहेकाले राजपा उपयुक्त विकल्पको खोजीमा देखिएको हो । त्यस्तो विकल्प परिणाम जे आए पनि संविधान संशोधन विधेयकलाई निर्णयार्थ लगेर चुनावमा जानु रहेको राजपा प्रवक्ता केशव झाको भनाइ छ । उनले पार्टीमा नेता तथा कार्यकर्ताको ठूलो पंक्ति चुनावमा जान आतुर रहेकाले मध्यमार्गी विकल्पमा सरकारसँग सहमति प्रयास भइरहेको बताए । त्यस्तो विकल्प भनेकै संविधान संशोधन रहेको उनको भनाइ थियो ।

सरकारलाई माग पूरा गर्न सात दिनको अल्टिमेटम दिने भनेको राजपाले अब देउवा भारत भ्रमणबाट फर्कने समयसम्म पर्खने भएको छ । राजपाले उठाएको आन्दोलनमा मृत्यु भएकालाई शहीद घोषणा, घाइते तथा अपाङ्गको उपचार र भरणपोषण, मुद्दा फिर्ता, कार्यकर्ता रिहा गर्नेलगायत धेरैजसो माग पूरा भइसकेको सरकार पक्षको दाबी छ । सरकारले मारिएका मध्ये ६ जनाको मात्र शहीद घोषणा बाँकी रहेको, ४३ जना अपाङ्गताका लागि भरणपोषणको व्यवस्था गर्न प्रक्रिया अघि बढाएको र ३२ मुद्दा फिर्ताका लागि सम्बन्धित जिल्लामा निर्देशन गइसकेको जनाएको छ ।

मन्त्रिपरिषद्बाट बाँकी काम पूरा गरी विधेयक अघि बढाए चुनावमा जानुपर्छ भन्ने मत राजपाभित्र सशक्त बन्दै गएको छ । नेता महेन्द्र यादव, शरत्सिंह भण्डारी, हृदयेश त्रिपाठी, सर्वेन्द्रनाथ शुक्ललगायत नेता चुनावमा जानुपर्ने पक्षमा छन् । महन्थ ठाकुर, राजेन्द्र महतो, राजकिशोर यादव, अनिल झालगायतले संविधान संशोधन पारित हुनुपर्ने विषयलाई बटमलाइन बनाउँदै आएका छन् ।

काँग्रेस संशोधन विधेयकको पक्षमा

राजपाले तेस्रो चरणको निर्वाचन वहिष्कार गर्नु केही अघिमात्र सरकारको नेतृत्व गरेको नेपाली कांग्रेसले असोज २ गते हुने तेस्रो चरणको स्थानीय तह निर्वाचनअघि नै संविधान संशोधन विधेयकलाई निर्णयार्थ सदनमा राख्ने निर्णय गरेको छ ।

कांग्रेसको बैठकले संशोधन विधेयकलाई मतदान प्रक्रियामा लैजाने निर्णय गरेको हो । केही दिनअघि कांग्रेसले २ नम्बर प्रदेशमा गरेको कार्यकर्ता भेलाले चुनावअघि नै संशोधन विधेयकलाई मतदानमा लैजान सुझाव दिएको थियो । सोही आधारमा कार्यसम्पादन समितिको बैठकले यस्तो निर्णय लिएको हो ।

विधेयक सदनबाट पारित गराउन सरकार र दलका तर्फबाट संसद्मा प्रतिनिधित्व गर्ने दलसँग वार्ता गर्ने निर्णय पनि बैठकले गरेको छ । बैठकले अन्य दलसँग वार्ता गरेर विधेयक पास हुने वातावरण मिलाउने जिम्मा पार्टी सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवालाई दिएको छ । विधेयक पास या फेल जे भए पनि मतदान प्रक्रियामा लगेर टुंग्याउने निर्णयमा कांग्रेस पुगेको हो ।

कांग्रेस नेता कृष्ण सिटौलाले तेस्रो चरणको स्थानीय तह चुनावअघि नै संविधान संशोधन विधेयकलाई निर्णयार्थ सदनमा मतदान प्रक्रियामा लैजाने निर्णय बैठकले गरेको जानकारी दिए । संशोधन विधेयकलाई मतदान प्रक्रियामा लैजानुअघि प्रधानमन्त्री देउवाले राजपा नेतासँग कुरा गर्नेछन् ।

भारत भ्रमणपछि संशोधन विधेयकमा मतदान

सरकारले राजपा नेपाललाई चुनावमा ल्याउन संसदमा रहेको संविधान संशोधन विधेयक मतदानमा लैजाने भएको छ । प्रक्रियामा लैजाँदा जस्तो परिणाम आए पनि स्वीकार गरेर चुनावमा जाने संकेत राजपा नेताहरूले दिएपछि प्रधानमन्त्री शेरबहादुर देउवा भारत भ्रमणबाट फर्केलगत्तै विधेयकलाई मतदानमा लैजाने तयारी गरेका हुन् ।

राजपा नेताद्वय महेन्द्र यादव र शरत्सिंह भण्डारीले प्रधानमन्त्री देउवालाई भेटेरै संविधान संशोधन विधेयक निर्णयार्थ लैजान आग्रह गरेका थिए । सरकारका तर्फबाट गर्नुपर्ने बाँकी काम पूरा गरेर संविधान संशोधन विधेयकलाई मतदानमा लगे राजपा चुनावमा जाने बताउँदै दुवै नेताले आग्रह गर्दा प्रधानमन्त्रीले भारत भ्रमणपछि उपयुक्त हुने भन्दै त्यतिञ्जेल पर्खिदिन आग्रह गरेका थिए ।


Loading...

Contact Us

Address:Madhesh Media House, Hanumansthan Chowk, Anamnagar, Kathmandu Nepal

Phone: 0977-1-4266141

Fax: 0977-1-4266141

Email: madheshvani@gmail.com