महोत्तरी : लगातारको वर्षाले जनजीवन कष्टकर, बाटोहरु बन्द

जलेश्वर, २८ साउन । लगातार तीन दिनदेखिको वर्षाका कारण महोत्तरीको जनजीवन कष्टकर बन्दै गएको छ । सदरमुकाम जलेश्वर जोड्नेसहित अन्य सम्पूर्ण बाटोहरु बन्द भएका छन् भने दर्जनौ घरहरु डुबानमा परेका छन् ।

महोत्तरी जिल्लाको सदरमुकाम जलेश्वरमा रहेको नेपाल पत्रकार महासंघ महोत्तरी शाखाको उत्तरवर्ती पर्खालसमेत लगातारको पानीले भत्केको छ । महासंघ महोत्तरी शाखाका अध्यक्ष कमलेश मण्डलले लगातार तिनदिनदेखि परिरहेको पानीको कारण शुक्रबार राति ठूलो आवाजसहित उत्तरवर्ती पर्खाल भत्केको बताए ।

वि.सं. २०६९ सालमा निर्माण भएको १ सय ३५ मिटर लम्बाई र १० फिट उचाई भएको पर्खाल पूर्णरुपमा भत्केको र यसले करिब पाँच लाख बराबरको क्षति भएको अध्यक्ष मण्डलले जानकारी दिए ।

जिल्लाको टिकुलीया र हिरदुवास्थित जंघा र रातो नदीको बाँध काटिएको कारणले पानी बढेको छ । लगातारको पानीको कारण जंघा, रातो, अंकुसी, माढा, बिग्ही लगायतका नदिहरुमा पानीको मात्रा उच्च भएको छ कुनै पनि बेला बाँधहरु काटिई बाढी आउने सम्भावना देखिएको छ ।

पानीकै कारण टिकुलीयाको आधा दर्जनभन्दाबढी घरमा पानी पसेको छ भने उनीहरुलाई सुत्न र भान्साभात गर्न पनि कठिन भएको बलबा इलाका प्रहरी कार्यालयका सई राकेश भेडिहरले जानकारी दिए । उनले पानी पर्ने क्रम नरोकिएकोले विस्थापित हुनेको संख्या बढ्ने सक्ने अनुमान गरेका छन् ।

त्यसैगरी, पिपरा गाउँपालिका वडानं.४ मा रहेको पासमानवस्तीमा समेत पानी पसेको छ । स्थानीय वृहस्पति पासमान, नथुनी पासमान, दिनेश पासमान, मला पासमान, इब्रायम रायलगायतका घरमा पानी पसेको र उनीहरु विस्थापित हुन पुगेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।

लगातारको पानीको कारणले जिल्लाको सदरमुकाम जलेश्वर जोडने सबै सडकपूर्णत बन्द हुन पुगेको छ । भिठामोड जनकपुर, जलेश्वर सम्सी, जलेश्वर रौजासहित दुईदर्जनभन्दा बढी सडकहरुमा सवारीसाधन जान नसक्ने अवस्था देखिएको छ ।

त्यसैगरी लगातारको पानीको कारणले सदरमुकाम जलेश्वरसमेत जलमग्न हुन पुगेको छ ।

Contact Us

Address:Madhesh Media House, Hanumansthan Chowk, Anamnagar, Kathmandu Nepal

Phone: 0977-1-4266141

Fax: 0977-1-4266141

Email: madheshvani@gmail.com