रौतहटमा बाढीको प्रकोप : ८० प्रतिशत भूभाग जलमग्न

राकेश यादव, रौतहट, २८ साउन । जिल्लाको ८० प्रतिशत भूभाग बाढीको पानीबाट जलमग्न भएको छ । लगातार भैरहेको वर्षासँगै आएको बाढीले दर्जनौं गाउँ तथा सयौं घर डुबानमा परेका छन् ।

शनिबार दिउँसो आएको बाढीले लालबकैया नदीको गाउँ विकास समिति करुनिया नजिक तथा प्रेमपुर गोनाही वार्ड नम्बर ८ मा रहेको बाँध भत्किएको छ ।

बाध भत्किएपछि सो गाउँका स्थानीय बासिन्दाहरुलाई उद्धार गरी सुरक्षित स्थानमा पुर्याइएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

लालबकैया तथा बागमती नदीमा आएको बाढीले कोपवा पिपरिया नजिक रहेको गण्डक नहरको बाटो करीव १ किलो मिटरसम्म बगाएपछि सम्पर्कविहीन बनेको छ । बाढीको पानीले रौतहटको सोनरनिया गाउँदेखि पश्चिम हरनहिया जाने नयाँ बाटोमा रहेको अरुवा खोलामा बनाइएको पक्की पुल बगाएको स्थानीयले बताएका छन् ।

बाढीको पानी इनरवारी, इनरवा, अजगैवी, सोनरनिया, पिपरिया परोहा, राजपुर तुलसी, फतुआ महेशपुर, कटहरिया, करुनिया, बनजारहा, बसंतपट्टी, पिपरा राजवाडा, बड़हरवा, बसतपुर, गढो, माधोपुर, मलाहीटोल, गरुडा, पोठियाही, खेसरहिया, सवगढ़ा, बैरिया डुबानमा परेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । गौर चन्द्रनिगाहपुर वीरेन्द्र राजमार्ग तथा पूर्व पछिम राजमार्ग मा लचकामा पानी जमेकोले यातायात अवरुद्ध भएका छन् ।

८ सय घर डुबानमा परेका छन् भने ५ वटा पाडा र १ वटा गोरु बगेको प्रहरी नायव उपरीक्षक नवीनकृष्ण भण्डारीले बताएका छन् ।

पिपरा राजवाड़ामा दलित समुदायका १० जनाको घर समेत बगाएको छन भने रामबालक साहको कुखुरा फार्म बगाउदा १ सय कुखुरा बगेको पीडि़तले जानकारी दिएका छन् ।

जिल्ला भरीमा राहत र उद्दारको लागि नेपाल प्रहरी ,सशस्त्र प्रहरी तथा नेपाली सेनाका जवान परिचालन गरिएको प्रमुख जिल्ला अधिकारी उद्धव बहादुर थापाले बताएका छन् । बाढीले अहिले सम्म मानवीय क्षति भएको छैन ।

पानीको बहाव तीव्र रहेकोले सदरमुकाम गौरमा पानी प्रवेश गर्न सकिने खतरा रहेको भन्दै स्थानीय प्रशासनले सतर्कता अपनाउन अपील समेत गरेका छन । निरन्तर रुपमा भैरहेको वर्षाका कारण दर्जनौको संख्यामा घरहरु भत्केका छन् ।

Contact Us

Address:Madhesh Media House, Hanumansthan Chowk, Anamnagar, Kathmandu Nepal

Phone: 0977-1-4266141

Fax: 0977-1-4266141

Email: madheshvani@gmail.com