गृहमन्त्री शर्माको नेतृत्वमा केन्द्रीय कमाण्ड पोष्ट गठन

काठमाडौं, २९ साउन । बाढीपीडितहरुको उद्धार कार्यलाई चुस्तदुरुस्त बनाउन गृहमन्त्री जनार्दन शर्माको नेतृत्वमा केन्द्रीय कमाण्ड पोष्ट गठन गरिएको छ । गृहमन्त्री शर्माको नेतृत्वमा आइतबार बसेको आकस्मिक बैठक केन्द्रीय कमाण्ड पोष्ट गठन गरेको हो ।

बैठकले भारतीय समकक्षीसँग समन्वय गरी लक्ष्मणपुर बाँध र कोशी ब्यारेजका थप ढोका खुलाउन अनुरोध पनि गरेको छ । त्यसैगरी, बाढीपीडितको व्यवस्थापनका लागि यातायात तथा आपूर्ति व्यवस्थालाई सञ्चालनमा राख्ने, प्रभावित क्षेत्रमा राहत सामग्री तत्काल वितरण गर्ने, जोखिममा रहेका भौतिक पूर्वाधारको संरक्षण गर्ने, स्थानीय तहका जनप्रतिनिधिको सक्रिय सहभागितालाई अभिवृद्धि गर्ने लगायतका निर्णय भएको छ ।

खोज तथा उद्धारमा नेपाली सेनाको हेलिप्याडमार्फत बाँकेका डुबानग्रस्त क्षेत्र नरैनापुर, होलिया, फत्तेपुर, सोनारीको टिकुलीपुर, बैरिया सिक्टा लगायतका स्थानबाट २०० भन्दा बढी मानिसलाई सुरक्षित स्थानमा स्थानान्तरण गरिएको छ ।

औषधिसहितको स्वास्थ्यकर्मीको टोली प्रभावित क्षेत्रमा पठाउने व्यवस्था मिलाउन स्वास्थ्य मन्त्रालयलाई अनुरोध गरिएको छ । यसैगरी, निजी क्षेत्रका हेलिकप्टर प्राथमिकताका साथ परिचालन गर्र्न नागरिक उड्डयन तथा पर्यटन मन्त्रालयलाई अनुरोध गरिएको छ भने स्थानीय भाषामा एफएममार्फत सर्वसाधारणलाई सूचना प्रवाह गर्न आग्रह गरिएको छ ।


Loading...

Contact Us

Address:Madhesh Media House, Hanumansthan Chowk, Anamnagar, Kathmandu Nepal

Phone: 0977-1-4266141

Fax: 0977-1-4266141

Email: madheshvani@gmail.com