प्राकृतिक विपदाहरू नियन्त्रणका लागि दूरगामी योजना आवश्यक छ : रामेश्वर राय यादव

वरिष्ठ राजनीतिज्ञ

० तराई÷मधेशमा वर्षेनी प्राकृतिक विपदहरू आइरहन्छन् जसबाट मानवीय क्षतिदेखि अर्बौको धनमालसमेत क्षति हुने गरेको छ, यसलार्ई तपाई कुन रूपमा लिनुभएको छ ?
— धेरै दुखद कुरा हो हाम्रो देशको र मधेशको लागि । ग्लोबल वार्मिङ्गको कारण पनि यसप्रकारका विपदाहरू आइरहेका हुन्छन्, त्यो पनि एउटा कारण हो । अहिले जुन रूपमा जंगल विनाश, हरियाली विहिन वतावरण बनिरहेको छ, यी कारणहरूले पनि प्राकृतिक आपदाहरू आइरहेका छन् । यी यस्ता प्राकृतिक विपद पहाडले पनि भोग्दै आएको छ । मधेशमा आएको बाढीले झण्डै १ सय २८ भन्दा बढि मानिसहरूले ज्यान गुमाएका छन् भने सैकडों मानिसहरू घाइते भएका छन् र हजारौँ मानिसहरू घरवारविहीन भएका छन् । यी परिस्थितीलाई सामना गर्नको लागि सरकार र नागरिक अगुवा लगायत हामी राजनीतिक दलका सबै एकजुट भएर समन्वय गरेर अगाडी बढ्यो भने विपतीको सामना गर्न सकिन्छ । अहिले सम्पुर्ण कामहरू छोडेर प्राकृतिक प्रकोपमा फसेको नागरिकहरूको उद्धार गर्नु पर्छ । हामी यो मामिलामा कुनै दलका रूपमा होइनौ, हामी कुनै पक्ष र प्रतिपक्ष छैनौँ, हामी सबै नेपाली नागरिक हौं र विपदमा फसेकाहरूलाई उद्धार गर्नुपर्ने नै पहिलो प्राथमिकता हो । बाढी पीडितहरूको क्षतिपूर्ति र उनीहरूको वृद्धि विकासका लागि एकजुट भएर अगाडी बढनुपर्छ । त्यसमा सम्पूर्ण राजनीतिक दलहरू अगाडी बढ्नुपर्छ । खास गरेर मधेशवादी दलका नेताहरूले बाढी पीडितको राहत तथा उद्धारका लागि अघि बढ्नुपर्ने आवश्यता रहेको छ ।


० सरकारले दीर्घकालीन रूपमा समस्याको समाधान तथा व्यवस्थापन गर्न नसक्नुको कारण के होला ?
— सरकारले ‘जति बेला पर्छ त्यति बेला टर्छ’ भन्ने उखान जस्तै मनोवृतिबाट अगाडी बढिरहेको छ । हो अहिले मात्र यस्ता विपति मात्र आएको होइन विगतका दिनहरूमा पनि यस्ता प्राकृतिक प्रकोपहरू आएको हो । मेरो विचारमा नीति निर्माणमा बसेकोहरूले दूरगामी योजना बनाउनुपर्ने आवश्यता रहेको छ । तर हाम्रो यहाँ विपद आएको बेला मागी खाने भाडो बनाउने मानसिकताले यी समस्याहरू आएको हो । हामीले विपती र यी संकटहरूको नाममा मागी खाने भाडो बनाउने होइन की यसको सुधार गर्नुपर्छ । यसलाई सरकारले अन्तर्राष्टिय स्तरबाट पनि सहयोग मागेर यसबाट नागरिकहरूलाई कसरी सुरक्षित राख्न सकिन्छ, यी कामहरूलाई अगाडि बढाएर दीर्घकालीन समाधान दिनुपर्ने आवश्यकता रहेको छ । सरकारले खहरे खोलाहरूलाई एकीकृत पाइपलाइनमा ल्याएर नियन्त्रण गरेर त्यसबाट विजुली उत्पादन गर्ने योजनाहरू नबाएसम्म यी परिस्थितिहरू आइरहन्छ । यस्तो हरेक वर्ष उर्बर भूमिहरूलाई बाढीले बिगार्दैछ । अझै पनि सरकार सचेत भएन भने विकाराल अवस्था आउन सक्छ । म सरकार र सम्पूर्ण सरोकारबालाहरूलाई आग्रह गर्न चाहन्छु कि बाढी पीडितहरूलाई तत्काल उद्धार र राहतको काम त गर्नै पर्छ तर यसलाई नियन्त्रण गर्नका लागि दुरगामी योजना पनि बनाउनु उतिकै जरूरी छ । यसको स्थायी निदान नदिएसम्म हामी हरेक वर्ष ठूलो मात्रामा जनधनको क्षति बेहोर्नु पर्छ । यस्ता समस्याहरूको समाधानका लागि योजना बनाएर अगाडि बढ्नुपर्छ ।


० यस्ता प्राकृतिक प्रकोपबाट हुने क्षतिलाई न्यूनीकरण गर्नका लागि के कस्ता कार्यहरू सरोकारबलाहरूले गर्नु पर्छ ?
— हामीले पानीलाई भण्डारण गरेर विजुली उत्पादनदेखि लिएर सिंचाइ लगायत अन्य कामहरू गर्न सक्छौँ । यसो ग¥यो भने हाम्रो देश उभो लाग्छ, हाम्रो देशका नागरिकहरू आर्थिक रूपमा अगाडि बढ्न सक्छन् । त्यहीं भएर सरकारले यी कुरामा ध्यान दिनुपर्छ ।


० तपाईले भने जस्तै सरकारले पानीको उचित व्यवस्थापन गरेर आर्थिक रूपमा सम्पन्न हुन सक्छ तर यी कामहरू गर्न कि चुकिरहेको छ ?
— यो देशमा रहेका नेताहरू सरकार खसाउने र बनाउने खेलमा बढी लागेका छन् । हामीसँग भएका प्राकृतिक सम्पदाहरूलाई सदुपयोग गरेर अगाडी बढ्न सक्छौं । हामीसग भएको जडिबुटी देखी लिएर विद्युतको अपार सम्भावना देखी लिएर प्राकृतिक स्रोतले यस्तो भरिपूर्ण हो कि यो देश सुनको देश बन्न सकिन्छ । यो गर्न नसक्ने काम केही पनि छैन । हामीले सबै नागरिक मिलेर पहल गरेर अघि बढ्ने हो भने यो देशमा सबै कुरा सम्भव हुन्छ । अब हामी सचेत भएर अगाडी बढ्नुपर्छ ।


० विगतका वर्षमा आएका महाभुकम्पमा परेका पीडितहरूको अहिलेसम्म उचित व्यवस्थापन हुन सकेका छैन, र यसै क्रममा तराई मधेशमा बाढीले बेहाल बनाएको छ, यसमा सरकारी पक्षले गरेको काम प्रति तपाई कतिको सन्तुस्ट हुनुहुुन्छ ?
— भूकम्प पीडितहरूलाई पनि अहिलेसम्म सरकारले व्यवस्थापन गरेको छैन । र अहिले पनि तराई मधेशका बाढी पीडितहरूलाई राहत तथा उद्धार कार्यमा सरकारले उचित कार्य गर्न सकेका छैन । त्यसैले सरकारको यस्तो रबैयाले असन्तुस्ट छु । बाढी नियन्त्रणको पूर्व व्यवस्थापनमा हामी चुकेका छौँ र यस्तो आगामी दिनमा नहोस् भन्ने मेरो चाहना हो ।


० सरकारको कार्यशैलीले मधेशको जनतामा निराशा उत्पन्न भएको छ ?
— अहिलेसम्म न त सरकारले न त सरोकारबाला निकायहरूले बाढीले भएको क्षतिको यकिन विवरण निकाल्न सकेको छ । अहिले जहाँ जहाँ घरबारविहीन भएका छन् ती ठाँउहरूमा खाद्यान्न पुग्न सकेको छैन । शरिर ढाक्ने कपडा छैन । किसानहरूको धान खेतीहरू त्यो सबै बगायो । करोडौंको धनमालको क्षति भएको छ । तत्काल राहतको साथसाथै किसानहरूको क्षतिहरूको बारेमा अध्ययन गरेर सरकारले रााहतको प्याकेज बनाउनु पर्छ । मधेश यो देशको संवेदनशील अंग हो । त्यो सबै गर्नको लागि राष्ट्रिय क्षमताबाट सम्भव छ भने पुरा गर्नु पर्छ नत्र भने अन्तर्राष्ट्रिय शक्तिहरूलाई आह्वान गरेर यो समस्याको समाधान गर्नेतिर सरकारको ध्यान पुगोस् ।


० बाढीपीडितहरूको राहत र उद्धार कार्यलाई थप प्रभावकारी बनाउन के–के गर्नु आवश्यक छ ?
— सरकारले सम्पूर्ण राजनीतिक दलहरू, नागरिक अगुवालाई लिएर अगाडि बढ्नुपर्छ । यसमा कसैसँग भेदभाव गर्नु हुँदैन । जहा समस्या रहेको छ त्यो समस्यालाई सरकारले समाधान गरिदिनुपर्छ । बाढी प्रभावित हरेक नागरिकले राहत पाएको महशुस गर्न पाउनुपर्छ ।


० संकटग्रस्त क्षेत्र घोषणाको माग उठिरहेको छ, यसलाई कुन रूपमा लिनुभएको छ ?
— बाढी प्रभावित क्षेत्र संकटग्रस्त क्षेत्र घोषणा हुनुपर्छ । वर्षभरि परिवारको पालन पोषणको लागि रोपेका धानबाली पूर्ण रूपमा नष्ट भएर गएको छ । जनधनको ठूलो मात्रामा क्षति भएको छ । हरेक क्षेत्रमा भएको क्षतिलाई ध्यान दिएर त्यो क्षेत्रलाई संकटग्रस्त घोषित गरेर विशेष राहतको प्याकेज व्यवस्था गर्नु पर्छ ।


० चुरेको संरक्षण नभएकै कारण तराई–मधेशमा यस्ता विपतिहरू आउने गरेको भन्न सकिन्छ ?
— चुरे संरक्षणका लागि राष्ट्रपति चुरे संरक्षण कोषको स्थपना पनि भएको हो । जसमा कामहरू धेरै भए पनि ठोस रूपमा हुन सकेका छैन । विभिन्न ठाउँहरूको मान्छेहरू चुरेमा आएर चुरेलाई दोहन गरिरहेको अवस्था छ । चुरे क्षेत्रमा आवश्यक नियम कानुन बनाएर त्यसको कार्यान्वयन तिर जानुपर्छ ।


० चुनावको बेला सबै राजनीतिक दलहरूले ठूलठूला नाराहरू दिएर मधेशकेन्द्रित कार्यक्रमहरूमा तीव्रता दिन्छन् तर अहिलेको अवस्थामा दलहरूको उदासिनतालाई कुन रूपमा लिनुहुुन्छ ?
— सानो सानो कुरामा दलगत हुने जुन प्रवृति त्यो हटाउनुपर्छ । मधेश बिनाको देश कल्पना पनि गर्न सकिदैन । त्यसैले चुरेलार्ई उच्च प्राथमिकतामा राखे संरक्षण गर्नु पर्छ । पार्टीहरूले आफ्नो घोषणापत्रमा मात्रै सीमित राख्नुहुँदैन काम पनि गर्नुपर्छ । मलाई लाग्छ चुनावी नाराको लागि मात्रै होइन काम पनि गरेर देखाउनुपर्छ ।


० अन्त्यमा, बाढीपीडित जनता र तिनीहरूको उद्धार तथा राहतका लागि के भन्न चाहनुहुन्छ ?
— बाढीपीडित जनताहरू आफ्नो स्वास्थ्यप्रति सचेत हुनुपर्ने बेला छ । अखाद्य वस्तु नखाने, शुद्ध पिउने पानी पिउनुपर्छ । सरकार लगायत सम्पूर्ण राजनीतिक दल र नागरिक अगुवाहरूले तराई मधेशको बाढीपीडितहरूको राहत र उद्धारमा जुटनुपर्छ ।

(मधेशवाणीका लागि विजय यादवले गरेको कुराकानीको सम्पादित अंश)

प्रकाशित मिति : २०७४ साल भदौ २ गते शुक्रबार ।

Contact Us

Address:Madhesh Media House, Hanumansthan Chowk, Anamnagar, Kathmandu Nepal

Phone: 0977-1-4266141

Fax: 0977-1-4266141

Email: madheshvani@gmail.com