प्रमको भारत भ्रमण र अपेक्षा (सम्पादकीय)

प्रधानमन्त्री शेरबहादुर देउवा आफ्ना भारतीय समकक्षी नरेन्द्र मोदीको आतिथ्य स्वीकार गरी अहिले विशेष अतिथिको रूपमा भारतको राष्ट्रपति भवनमा बसिरहनु भएको छ । प्रधानमन्त्रीमा निर्वाचित भएपछि देउवा पहिलो पटक विदेश भ्रमणका रूपमा भारत जानु भएको हो । यद्यपी प्रधानमन्त्रीको रूपमा यो उहाँको चोथौ भारत भ्रमण हो ।
प्रधानमन्त्री देउवाको यो पटकको भारत भ्रमण अन्य भ्रमणभन्दा बढी नै महत्वपूर्ण मानिएको छ भने दुवै देशमा विशेष चासोका साथ हेरिएको छ । आखिर किन महत्वपूर्ण छ देउवाको यस पटकको भारत भ्रमण ?
यो भ्रमणबाट नेपाल र भारतबीचको शताब्दिऔं पुरानो मित्रता थप सुदृढ एवम् सुमधुर भई पारस्परिक सम्बन्धमा नवयुगको थालनी हुने अपेक्षा गरिएको छ ।
कार्यकारी सरकार प्रमुखको सर्वोच्च तहमा भएको यो भ्रमणबाट नेपाल र भारतबीचको धार्मिक, आध्यात्मिक, आर्थिक, शैक्षिक, सांस्कृतिक एवम् कूटनीतिक सम्बन्ध अझ प्रगाढ भई पारस्परिक हित प्रवद्र्धन र सघन सहयोगात्मक बन्नेमा आम नेपाली मात्र होइन भारतका नागरिक पनि विश्वस्त छन् । यो भयो भावनात्मक र सैद्धान्तिक कुरा । तर अबको समयमा भावनात्मक र सैद्धान्तिक विषयभन्दा बढी व्यावहारिक विषयमा ध्यान दिनु जरूरी छ ।
सन् १९५० को शान्ति तथा मैत्री सन्धिबाट औपचारिक सुसम्बन्धको श्रीगणेश गरेका दुई मुलुक उक्त सन्धिका अव्यावहारिक पक्षलाई समेत परिवर्तन गर्न सहमत हुनुले आपसी सम्बन्ध नयाँ शिराबाट थाल्ने जमर्को भएको मान्न सकिन्छ ।
नेपाल र भारतबीचको सम्बन्ध नङ र मासुको जस्तो छ तर यस्तो अन्योन्याश्रित सम्बन्धमा बेलाबखत उत्पन्न हुने अविश्वास र असमझदारीलाई सुझबुझपूर्ण कूटनीतिको सञ्चालनबाट परास्त गर्दै दुबै मुलुक अघि बढ्नु जरूरी छ । प्रधानमन्त्री देउवाको यो भ्रमणलाई पनि त्यही आलोकमा दृष्टिपात गर्नुपर्छ ।
उच्चस्तरका यस्ता भ्रमणले दुई देशबीच हुने अव्यावहारिक र अमिल्दा पक्षलाई हटाउन उत्प्रेरक बन्न सक्छन् तर कार्यान्वयनको तहमा तिनलाई लैजानु अति आवश्यक छ ।
हालैको वर्षाले नेपालमा भएको व्यापक जनधन र भौतिक पूर्वाधारको क्षतिलाई नयाँदिल्लीले मूकदर्शक भएर बस्न मिल्दैन भन्ने सन्देश पनि यो भ्रमणले प्रवाह गर्नु पर्छ ।
राजनीतिक अस्थिरता, अपरिपक्व कूटनीति, राष्ट्रिय स्वार्थलाई बेवास्ता गर्दै दलीय र व्यक्तिगत स्वार्थ पूरा गर्ने केही राजनीतिक दल र तिनका नेताको व्यवहारले नेपाल र नेपालीको गरिमामा चोट पुगेको छ भने उग्रराष्ट्रवादी गतिविधिले विश्वको उदीयमान अर्थतन्त्र र विकासको बाटोमा द्रुत गतिमा अघि बढिरहेको भारतबाट मुलुकले अपेक्षित लाभ हासिल गर्न नसकेको कटु यथार्थ हामीले बिर्सनु हुँदैन । र, झिनामसिना विषयलाई लिएर दुवै पक्षले दुई राष्ट्रबीचको अनुपम सम्बन्धमा आघात पनि पार्न दिनुहुँदैन ।
विगतको देखिएको चिसो सम्बन्धलाई यो भ्रमणले चिर्नैपर्छ । र, नेपाल–भारतबीचका समस्याका सबै जड उखेल्ने दिशामा प्रधानमन्त्री देउवाको भ्रमण केन्द्रित हुनुपर्छ ।
प्रधानमन्त्रीको भारत भ्रमण औपचारिकतामा मात्र सीमित नराखी यसले दुवै देशको हितमा प्रयोग हुने खालको वातावरण सिर्जना गर्नु पर्छ अनि मात्र भ्रमणले सार्थकता पाउनेछ ।


प्रकाशित मिति : २०७४ साल भदौ ९ गते शुक्रबार

Contact Us

Address:Madhesh Media House, Hanumansthan Chowk, Anamnagar, Kathmandu Nepal

Phone: 0977-1-4266141

Fax: 0977-1-4266141

Email: madheshvani@gmail.com