निर्वाचनको सदुपयोग गरौं (सम्पादकीय)

स्थानीय तहको तेस्रो चरणको निर्वाचन यहि असोज २ गते प्रदेश नं. २ का आठवटै जिल्लामा हुन गइरहेको छ । सुखद पक्ष के हो भने राष्ट्रिय जनता पार्टी नेपाल पनि निर्वाचनमा भाग लिने निर्णय सकेको छ । भयरहित, स्वस्थ्य र स्वच्छ निर्वाचनका निमित्त निर्वाचन आयोग र सरकारका अन्य पक्षले आफ्नो कार्य थालिसकेको छ भने संचार अनुगमन गर्न प्रेस काउन्सिल नेपालले विशेष टोलीसमेत परिचालित गरिसकेको छ । सबै पक्ष र क्षेत्रको ध्यानकेन्द्रमा रहेको यो निर्वाचन अलि विशिष्ट खालको हुनेछ । हालसम्म सम्पन्न दुई चरणको निर्वाचनमा जेजस्तो परिणाम देखिएपनि स्थानीय निर्वाचनमा ठूलो पार्टी कुन हुने निक्र्योल प्रदेश नं. २ को निर्वाचनबाट नै हुनेछ । त्यसैले, स्थानीय निर्वाचनमा ठूलो पार्टीको रूपमा स्थान बनाउनका लागि ठूला दलहरूले आफ्ना सम्पूर्ण शक्ति प्रदेश नं. २ मा नै केन्द्रित गरेका छन् भने ठूला दलका शीर्ष नेताहरूले अहिले अभियान नै चलाएका छन् । यता, प्रदेश नं. २ मा राम्रो पकड भएको राजपा नेपाल र फोरम नेपालले पनि विभिन्न कार्यक्रमहरू सञ्चालन गर्दै आएका छन् । पहुँच, प्रभुत्व, प्रमाणिकताका निमित्त पनि दलबीच प्रतिस्पर्धा छ ।

आन्तरिक रूपमा टिकट पाउन देखि विजीत हुने रणनीतिसम्म तयार पार्दैछन् उम्मेदवारहरू । दुःखद पक्षको रूपमा हेर्दा मधेशका महिला, थारू, मुस्लिम लगायतका जात÷समूहलाई न्यायोचित रूपमा उम्मेदवारी दिने टिकट पाउने सम्भावना न्यून छ । दलीयता, जातीयता र द्रव्यीकताले टिकट चयनमा प्राथमिकता पाउने भएकाले स्थानीय तहको निर्वाचन त्यागी, इमान्दार र कर्मठ उम्मेदवारभन्दा पनि स्वजातीय, धनी र व्यापारीको हिताय परिणाम निस्किन सक्छ ।


खर्च गर्न सक्ने, बाँडेर खाने र ‘भुजबल’ भएकाहरूले प्राथमिकता पायो भने स्थानीय तह संरचनाको मूल आयाम नै बदनाम हुन पुग्छ । जनताले जाति, धर्म, वर्ग, समुदाय र दलका आधारमा सेवा वा पीडा पाउने अवस्थाको निर्माण भयो कालान्तरमा स्थानीय तह, प्रदेश वा गणतन्त्रप्रति नै नैराश्यता बढ्न सक्छ ।


राम्रो र विकास पक्षीय उम्मेदवार चयन गर्ने जिम्मेवारी दल र मतदाताले बहन गर्न सक्यो भने स्थानीय सरकारले जनताको जीवन सुखद बनाउँदै जान्छ । गणतन्त्रको मूल मर्मअनुसार नागरिक लाभान्वित हुँदै जान्छ ।
स्थानीय तहको तेस्रो चरणको निर्वाचनको अधिकतम् सदुपयोग गर्न विशेषतः मधेशकेन्द्रित दलले सक्रियता देखाउन सक्नुपर्छ । निर्वाचनको माध्यमले आफ्नो अवस्था, व्यवस्था र बाध्यताहरू जनताबीच पस्किनुको साथसाथै नयाँ योजना र विश्वास पाउन पनि निर्वाचनको सदुपयोग गर्न जरूरी छ ।


प्रकाशिति मिति : २०७४ साल भदौ १६ गते शुक्रबार ।

Contact Us

Address:Madhesh Media House, Hanumansthan Chowk, Anamnagar, Kathmandu Nepal

Phone: 0977-1-4266141

Fax: 0977-1-4266141

Email: madheshvani@gmail.com