ओली प्रवृत्ति अन्त्यका लागि मधेशबाट जनमत उठ्नुपर्छ (विचार)

सीके लाल

राजनीति कुनै उद्देश्यका लागि गरिन्छ, देश र समाजको रुपान्तरण गर्ने । म के स्पस्ट पार्न चाहन्छु भने, म व्यक्ति खड्गप्रसाद ओलीको कुरा गरिरहेको छैन । म प्रवृत्तिको कुरा गरिरहेको छु । ओली प्रवृत्तिको राम्रो गर्ने उद्देश्य नै छैन । आफू सत्तामा पुगेर शक्तिको उपयोग गर्नेबाहेक कुनै उद्देश्य छैन ।

दोस्रो कुरा, राजनीतिमा नैतिकता बडो महत्वपूर्ण कुरा हुन्छ। तर, ओली प्रवृत्तिमा नैतिकता भन्ने कुरा हुँदैन । किनभने मान्छेको टाउको काटेर सुरु गरेको राजनीति हो, नैतिकता र मूल्य(मान्यतालाई त्यहीँ तिलाञ्जली दिइसकेको हो नि। मान्छेको हत्या गर्नुभन्दा नैतिक पतन अरु के होला र ? त्यो राजनीतिक रुपमा सफल भइदिएको भए अपराध भन्न मिल्दैनथ्यो होला । नभएपछि त अपराध नै हो नि । सजाय पाएका अपराधी हुन् ओली व्यक्तिगत रुपमा । त्यसैले नैतिक मूल्य र मान्यता छैन। त्यो नभएपछि आफ्नो फाइदाको लागि जे पनि गर्न सक्छन् ।

जहाँसम्म अहिले उनले गर्ने राजनीति हो, त्यस्तो प्रवृत्ति समाजमा जहिले पनि धेरै नै हुन्छ। त्यो भनेको अरुलाई घृणा गर्ने । कसैलाई प्रेम गर्न सिकाउन पो गाह्रो छ त, घृणा गर्न सिकाउन त सजिलो छ नि ! त्यसरी ठूलो जमात उत्पन्न हुन्छ । त्यो जमातलाई एक ठाउँमा राखि राख्नको लागि उनको मधेश विरोधी, भारतविरोधी नारा उपयोगी सिद्ध भएको छ । त्यसैले व्यक्तिगत रुपमा उनलाई दोष दिनुभन्दा पनि, त्यो ओली प्रवृत्ति चाहिँ राजनीतिक स्खलनको एउटा प्रमाण हो । त्यहाँ जो भए पनि हुने त्यही नै हो । त्यसैले ओलीलाई गाली गरिराख्नुको जरुरी छैन ।

समाजमा एउटा खलपात्र बनाएपछि मुक्त भइन्छ । त्यसरी मुक्त हुन खोज्नु बेग्लै कुरा नभए त्यो एउटा प्रवृत्ति हो । त्यो समाजमा जहिले पनि रहिरहन्छ । र, त्योसँग निरन्तर संघर्ष गर्न घृणाको शक्तिलाई प्रेमको शक्तिले जित्ने बाटो खोज्नुपर्छ । घृणाको शक्तिलाई घृणाद्वारा जित्न सकिँदैन । त्यसैले म ओली प्रवृत्तिलाई घृणा गर्ने पक्षमा चाहिँ छैन ।

हुन त समाज नै बौलाएको धेरै घटनाहरु छन् । जब राक्षसहरु बौलाए, अनि रावणको जयजय भएको हो नि । पाण्डव र कौरवको लडाइँमा कौरवको पक्षमा सारा महाभारत थियो, एउटा कृष्ण थिएनन् । हाम्रो आत्मसम्मान रक्षा गर्नको लागि हिटलरको उदय भएको हो भनेर जर्मनीको सबै सभ्य समाज हिटलरको पछाडि लागेका थिए। यसरी हिटलरको उदय भएको हो। मुसोलिनीको पछाडि इटलीका सारा जनता थिए। त्यसैले कहिलेकाहीँ ‘मास म्याडनेस’ हुन्छ। त्यसैले घृणाको खेती गर्ने चलाख नेता पर्योथ भने त्यसले सबैलाई केही कालसम्म मुर्ख बनाउन सक्छ। नेपालमाचाहिँ पछिल्लोपटक यो स्थिति १६ बुँदे सहमतिपछि देखिएको हो । र, त्यसको नेताका रुपमा खड्गप्रसाद शर्मा ओली स्थापित भएका छन्। त्यो त्यति अस्वाभाविक होइन।

यी सबै उपक्रममा ‘राष्ट्रवाद’ को आवरणमा जनतालाई भ्रममा राखिएको छ । त्यसैले जनतालाई दोष दिन मिल्दैन । काठमाडौंको सत्ताधारी खास गरेर तथाकथित वामपन्थी र दूर दक्षिणपन्थीलाई भारतमाथि कुनै कुराको दबाब दिएर आफ्नो केही फाइदा लिनु छ भने राष्ट्रवाद उचाल्दिनुपर्छ। राष्ट्रवाद ‘एटीएम मेशिन’ जस्तो भएको छ, सत्ताधारीको लागि ।

भारतविरोधी भावनालाई नेपालमा जगाइराख्यो भने त्यसलाई हामीले नियन्त्रणमा राखेका छौं भन्ने नाममा काठमाडौंको सत्ताले नयाँ दिल्लीको सत्तासँग जहिले पनि लेनदेनको व्यवहार गर्छ । र, आफ्नो फाइदाको कुरा प्राप्त भएपछि चुप लाग्छ । जस्तो कि कालापानीको मुद्दा हेरौं । महेन्द्रलाई पञ्चायत टिकाउनुथियोस आँखा चिम्लिदिए । केही कुरा लिनु थियो र महाकाली सन्धीका बेला तत्कालिन एमालेबाट माले छुटेर नाराबाजी गर्दै भारतीय दूतावास पुग्यो । अनि, एमालेको मूल प्रवाहीकरण भयो। सत्तासँग जोडियो । त्यसपछि त्यो कालापानी हराएर गयो । दोस्रो जनआन्दोलनपछि एमाले प्रायः सबै सरकारमा छ । तर, त्यसपछि कालापानी, महाकालीको मुद्दा भारतसँग उठाएन । राज्यसत्तालाई दबाब पनि दिएन । तर, सरकारबाट बाहिरिएपछि राष्ट्रवादी मुद्दा फेरि आउन थाल्यो ।

यो व्यवहार लेनदेनको लागि भारतलाई दिने दबाब मात्रै हो। (हिजोआज यो भन्नु उचित होइन तर) पहिले(पहिले कुनै दलितले ‘ए बाजे, दक्षिणा दिन्छस् कि छोइदिऊँ ?’ भनेजस्तै नेपालका सत्ताधारी, खास गरेर आफूलाई वामपन्थी भन्ने र दक्षिणपन्थीहरुका लागि भारतसँग लेनदेन गर्न ‘दिन्छस् कि राष्ट्रवाद उचाल्दिऊँ’ भन्ने सुविधाजनक नारा भएको छ, राष्ट्रवाद ।

यस्तो व्यवहारले उनीहरुलाई फाइदा पनि भएको छ। नत्र, कसरी यत्रो समयदेखि एउटै जमातले निरन्तर शासन गरिरहन सक्थे ? सत्तामा पृथ्वीनारायण शाहको घोडाको लिदले बनाएको बाटो पछ्याउँदै काठमाडौं पसेका परिवारहरुकै हालीमुहाली कायम रहेको छ, अढाइ सय वर्षदेखि । चाहे त्यो राणा, गुरुजी, पण्डित, ज्योतिषी वा व्यापारिक घराना, एउटै जमातको शासन चलिरहेको छ । त्यसैले राष्ट्रवादको सूत्र सफल भइरहेको छ । अढाई सय वर्षदेखि यो देश सधै गरिबको सूचीमा पर्दै आएको छ । यसका लागि दोष त निरन्तर शासन चलाइरहेको शासक वर्ग र समूदायलाई नै जान्छ ।

यो प्रवृत्तिको अन्त्यका लागि खासगरी मधेशबाट जनमत उठ्नुपर्छ। जनजातिको गोर्खालीकरण भइसकेको हुनाले उनीहरुबाट चुनौती आउन सक्दैन । किनकि, भारतमा जति दलित आन्दोलन नेपालमा हुन सकेको छैन । त्यसैले यसलाई चुनौती दिने मधेशले नै हो ।

केही खसआर्यमा पनि यो प्रवृत्तिले, यो राष्ट्रवादले हाम्रै पनि खती गर्छ भन्ने महसुस भएको छ । किनभने, यसले केहीलाई त फाइदा हुन्छ तर अस्थिरता रहिरहँदा देश त अगाडि जाँदैन । अहिलेसम्म त देखिएको छैन । प्रदीप गिरी जस्ता दुई(चार जना अपवादहरु बोल्छन्, जसको राजनीतिक आधार मधेशमा छ । देवेन्द्रराज पाण्डे, दमननाथ ढुङ्गाना, पद्मरत्न तुलाधर जस्ता केही बुद्धिजीवीहरु पनि बोल्छन्। तर, ठूल्ठूला चरा काट्ने ठाउँमा सानो भँगेरोले कराएको कसले सुन्छ र ?
(किशोर दहालसँगको कुराकानीमा आधारित)
नेपाललाइभ डटकमबाट साभार

Contact Us

Address:Madhesh Media House, Hanumansthan Chowk, Anamnagar, Kathmandu Nepal

Phone: 0977-1-4266141

Fax: 0977-1-4266141

Email: madheshvani@gmail.com