राजपाको उच्च राजनीतिक परिपक्वता (सम्पादकीय)

सप्तरीदेखि पर्सासम्मका आठ जिल्ला समेटिएको प्रदेश नम्बर २ मा स्थानीय तहको चुनावी सरगर्मी तीव्र बनेको छ । संविधान संशोधन र स्थानीय तहको संख्या बढाउनुपर्ने मधेशी दलहरूको अडानका कारण स्थगित भएको प्रदेश नम्बर २ मा तेस्रो चरणमा असोज २ गते स्थानीय तहको निर्वाचन तोकिएको हो ।
दुई चरणको स्थानीय तह निर्वाचनमा ६ वटा प्रदेशमा अग्रता हासिल गरेको नेकपा एमालेले तेस्रो चरणको चुनावमा पनि शीर्षमै रहिरहन कसरतमा लागेको छ । नेपाली कांग्रेसले आफ्नो बलियो जनाधार भएकाले प्रदेश नम्बर २ मा एक सयभन्दा बढी सिट ल्याएर स्थानीय निकायमा ठूलो दल बन्ने दाउमा छ । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘मधेशसँग लभ’ परेको भन्दै दोस्रो ठूलो दल बन्ने ध्येयमा छन् । मधेशको मुद्दा र माग आफूहरूले उठाएको भन्दै मधेशी दल राष्ट्रिय जनता पार्टी र उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी फोरमले पनि प्रदेश नम्बर २ को स्थानीय तह चुनावलाई ‘प्रतिष्ठा’ को विषय बनाएका छन् । अन्य चरणको चुनाव बहिष्कार गरेको राजपालाई प्रदेश नम्बर २ मा राम्रो परिणाम नल्याए राष्ट्रिय राजनीतिमै आलोचित हुनुपर्ने स्थिति छ भने फोरम प्रदेश २ को चुनावमा सिट संख्या बढाउने दाउमा छ ।
प्रदेश नं. २ को स्थानीय निकायमा पाँच दलबीच मुख्य प्रतिस्पर्धा हुने देखिएको छ ।
राजपा, कांग्रेस, माओवादी केन्द्र, एमाले र संघीय समाजवादी फोरमबीच नै मुख्य प्रतिस्पर्धा हुने अवस्था छ । यद्यपी प्रतिस्पर्धामा को पहिलो, को दोस्रो र तेस्रो हुने, चुनावी परिणामले देखाउनेछ तर अहिलेको अवस्थाले पाँच दलबीच नै कडा प्रतिस्पर्धा हुने देखाएको छ । निर्वाचनमा भाग लिने निर्णय गरेर राजपाले आफ्नो राजनीतिक परिपक्वता र प्रौढताको प्रर्दशन गरेको छ ।
नयाँ संविधानको कार्यान्वयनको जिम्मा पनि यसको काँधमा छ । इतिहासले सुम्पेको जिम्मेवारी पूरा गर्न राष्ट्रिय सहमति अनिवार्य थियो । राजपालाई राष्ट्रिय राजनीतिको मूलधारमा ल्याउन संविधान संशोधन अनिवार्य थियो । हिमाल, पहाड, मधेशबीचको दूरी कम गरेर आन्तरिक राष्ट्रियता सुदृढ गर्न संविधान संशोधन अनिवार्य थियो । साम्प्रदायिक नश्लवादको खतराबाट राष्ट्र«लाई जोगाउनु थियो । साम्प्रदायिक दङ्गा भड्काउन उद्दत शक्तिको सक्रियतालाई निस्तेज गर्न जरूरी थियो ।
एमालेले संविधान संशोधन प्रस्तावलाई प्रक्रियामा जान नदिन संसद् अवरोध गरेर आफ्नो अलोकतान्त्रिक र गैरजिम्मेवार हठ प्रदर्शन त ग¥यो तर विकल्प पेश गरेन । एमालेसित सत्तास्वार्थबाहेक राष्ट्रिय एजेण्डा केही छैन । पछिल्लो पटक पेश भएको संविधान संशोधनको प्रस्ताव एमालेका कारण असफल भयो ।
मधेशको समस्या राष्ट्रिय समस्या हो । त्यसका लागि राष्ट्र« एकै ठाउँमा उभिनु अनिवार्य छ । यो समस्या लम्बियो भने भोलिका दिनमा ठूलो सङ्कट उत्पन्न हुनेछ ।
अहिले संविधान संशोधन फेल हुँदा मधेशीहरू हारेर वा आत्मसमर्पण गरे र चुनावमा आए भन्ने सोचियो भने मूर्खता हुनेछ ।
मधेशी, जनजाति आदिवासी समेतका थाँतिरहेका समस्यालाई सम्बोधन गर्न पनि अग्रगामी शक्तिबीच राम्रो समझदारी र सहकार्य अनिवार्य छ । अहिले पनि अग्रगमन र प्रतिगमन बीचको अन्तर्विरोध पूर्ण रूपमा हल भइसकेको छैन । संघीयता विरोधी शक्ति परिवर्तन उल्टयाउन सधैँ सक्रिय रहनेछन् । परिवर्तनको स्वामित्व परिवर्तनकारी शक्तिले लिनुपर्छ ।
हिजो स्थानीय तहका दुईवटा चुनावमा राजपाको अनुपस्थिति अवश्य पनि सुखद थिएन । एउटा शक्तिलाई निर्वाचन जस्तो राष्ट्रिय अभियानबाट अलग राखेर जानु देशका जिम्मेवार पार्टी र त्यसमा पनि परिवर्तनका सहयात्रीलाई निकै पीडाको विषय भएको थियो । निर्वाचनको यो महाअभियानमा सबै हातेमालो गरेर अगाडि बढ्ने राजपाको पछिल्लो निर्णय राष्ट्र«हितको पक्षमा छ ।


प्रकाशिति मिति : २०७४ साल भदौं २३ गते शुक्रबार ।

Contact Us

Address:Madhesh Media House, Hanumansthan Chowk, Anamnagar, Kathmandu Nepal

Phone: 0977-1-4266141

Fax: 0977-1-4266141

Email: madheshvani@gmail.com