एमालेले राष्ट्र विखण्डन गर्न खोजेको चर्चा छ : महेन्द्रकुमार मिश्र

राजनीतिक विश्लेषक

० राजपा चुनावमा आउनुलाई कुन रूपमा लिनुहुन्छ ?
— संविधानमा त्रृटि रहेको कुरा एमालेबाहेक हरेक पार्टीले स्वीकार गरिसकेका छन् । हुन त हस्ताक्षर गर्ने बेलामा एमालेले पनि स्वीकार गरेको थियो । संविधान निर्माणका बेला पनि यो संविधानमा कुनै छुटेका वा त्रृटि भएका विषय छन् भने त्यो संशोधन गर्दै मिलाउने भनिएको थियो । बीच बीचमा संविधान संशोधनको कुरा पनि उठिरह्यो । तर, संसद्मा दुई तिहाइ आवश्यक पर्ने भएकाले अहिलेसम्म पनि संशोधन हुन सकेको छैन । हुन त पछिल्लो समय संशोधन प्रस्तावलाई सदनमा लैजाने सहमति भएको थियो । राजपाले हार जित जे भए पनि अगाडि बढौं भन्ने थालेको थियो । यसले गर्दा सरकार पनि संविधान संशोधन प्रस्ताव सदनमा पेश गर्दा कुनै समस्या नहुने भनेर पेश पनि ग¥यो । यो संविधान संशोधन प्रस्तावमाथिको मतदानले मधेशका सवाललाई थप स्थापित गरिदिएको छ । किन भने अधिकांश सांसद् संशोधनको पक्षमा मतदान गरेका थिए । यसले प्रमाणित हुन्छ कि मधेशका मुद्दा जायज छन् । एमालेले सहयोग गरेन । राप्रपामा एउटा गुटले ग¥यो, अर्कोले गरेन । यसले गर्दा आवश्यक संख्या पुगेन । प्रस्तावमाथिको मतदानअघि एउटा शर्त राखिएको थियो । हार जित जे भए पनि चुनाव जाने भन्ने बाटो राजपाले खुला गरेको थियो ।


० विगतमा मधेशकेन्द्रित दलहरूले संविधान संशोधन नभएसम्म चुनावमा नजाने बताइरहेका थिए । तर, अहिले आएर मन्त्रिपरिषद्बाट सम्बोधन हुन सक्ने केही माग मात्रै पूरा गरी दिँदासमेत राजपा चुनावमा आएको छ । भनेपछि सबै माग पूरा नहुँदै चुनावमा जानु अहिलेको आवश्यकता थियो ?
— मधेशकेन्द्रित दलमा देखिएको हठबादी सोच मलाई राम्रो लागेको छैन । हरेक आन्दोलनको पछाडि एउटा बाटो छोड्नुपर्छ । जति माग उठाइन्छ, ती सबै माग पूरा हुने अवस्था नदेखिनु र यसका लागि बल पुग्ने सम्भावना नरहेको अवस्थामा केही माग पूरा भए पनि स्वीकार गर्नुपर्ने थियो । त्यसपछि बाँकी मागका लागि संघर्ष त छँदै छ नि । तर, मधेशकेन्द्रित दलले हठ गरेर यी माग पूरा हुनै पर्छ, भएन भने हामी चुनावमा जान्नौं भन्दै आएका थिए । त्यो कुरा कमसेकम बोल्नु हुँदैन थियो । यसले गर्दा फिल्डमा उत्रिएका मधेशकेन्द्रित दललाई अवतरणमा कठिनाइ भयो । २०४२ सालको सत्याग्रह आन्दोलनमा गणेशमान सिंहले प्रष्ट घोषणा गर्नुभएको थियो कि सत्याग्रह कार्यक्रमको बीचमा कुनै अप्रिय घटना भयो भने हामी त्यही बेला आन्दोलन फिर्ता लिन्छौं । यसरी कांग्रेसी आन्दोलनकारीले त्यसबेला अवतरणका लागि एउटा बाटो छाडेका थिए । हो, एउटा बाटो छोडेर आन्दोलन गर्नुपर्ने थियो । तर, मधेशकेन्द्रित दलले सबै माग पूरा नभएसम्म हामी चुनावमा नजाने भनेर सबै बाटो बन्द गरेका थिए ।


० माग पूरा नहुँदै चुनावमा ल्याएर सरकारले मधेशकेन्द्रित दलको हठ तोड्न सफल भएको हो ?
— हठ तोड्यो त्यो म भन्दिनँ । हठलाई केही दलले पूर्णता दिन खोजेका हुन् । उनीहरूले संविधान संशोधन हुनुपर्छ भनेर संविधान संशोधन प्रस्ताव सदनमा दर्ता गराएका थिए ।


० एक किसिमले यो हठ सकारात्मक बाटो तिर पनि गयो ?
— हो । सकारात्मक बाटोतिर पनि गयो । कमसे कम मधेशकेन्द्रित दलका माग जायज हो, भन्ने कुरा सबैले महसुस गरे । अर्कोतर्फ मधेशवादी दलले पनि महसुस गरे कि अहिलेको अवस्थामा चुनावमा गएनौं भने जनताबाट हामी टाढा हुन्छौं ।


० चुनावमा गएनौं भने जनताबाट टाढा हुने कुराको आभाष पहिलो र दोश्रो चरणको चुनाव हुँदा किन हुन सकेन ?
— दोश्रो चरणको चुनावका बेला अलिअलि यो कुराको अभाष भइसकेको थियो । जस्तै पश्चिमतिर हृदयेश त्रिपाठी, सर्वेन्द्रनाथ शुक्ललगायतले स्वतन्त्र उम्मेदवार त खडा गरेका थिए । प्रदेश नम्बर २ मा चुनावको वातावरण बन्न लगेपछि मधेशकेन्द्रित दलका कार्यकर्तामा उकुसमुकुस भइसकेको थियो । होइन भने मधेशवादी पार्टीमा पहिरो जान सक्थ्यो ।


० विगतमा मधेशकेन्द्रित दलले संविधान संशोधन नभएसम्म चुनाव नजाने भन्दै आएका थिए । तर, अहिले आएर संविधान संशोधन बिना नै उनीहरू चुनावमा गएका छन् । भनेपछि बोली परिवर्तन हुँदा कस्तो प्रभाव पर्छ ?
— राजनीति नबुझेका मानिसले जथाभावी बोल्छन् । केहीले मधेशवादी दल पछाडि हुनुहुँदैन्थ्यो, मधेशवादी दल अडिग बन्नुपर्दथ्यो भनेर भनिरहेका छन् । मेरो विचारमा मधेशमा विभेद र उत्पीडन रहेको कुरा सबैले अनुभूति गरेका छन् । मधेशवादी दलकै हठका कारण त्यत्रो आन्दोलन हुन सक्यो । तर, आन्दोलनको स्वरूपमा मलाई चित्तबुझेको थिएन । मधेशका हरेक जनता विभेदबाट मुक्ति चाहेका छन् । भोलि गएर यी मागहरू पूरा भएनन् भने के कांग्रेसी चुप लगाएर बस्छन् ? के एमालेभित्र विद्रोह हुँदैन ? के माओवादीभित्र विद्रोह हुँदैन ? के राप्रपाभित्र विद्रोह हुँदैन ? विद्रोह भन्नाले एकैपटक सडकमा उत्रिने भनेको होइन, वितृष्णा त हुन्छ नि । त्यसकारण मधेशकेन्द्रित दल चुनावमा जानुलाई म एकदमै सकारात्मक रूपमा लिन्छु ।


० तर, अहिले पनि केहीले चुनाव जानु हुँदैन भनेर पनि त भनिरहेका छन् । किन पछि हट्यो भनेर एक किसिमको अविश्वास पनि देखिएको छ नि ?
— होइन । यो राजनीतिक सोच भएन । राजनीतिमा हाइजम्प गर्दा चार कदम पछाडि हट्नुपर्छ ।


० भनेपछि मधेशकेन्द्रित दलमाथि अविश्वास गरिहाल्नुपर्ने अवस्था छैन ?
— यसलाई अन्यथा लिनु हुँदैन । म एउटा घटना भन्छु, पञ्चायतकालमा बीपी कोइरालाको भनाइ आयो कि हामी स्थानीय निर्वाचनमा जानुपर्छ । त्यसबेला गाविस सदस्यदेखि जिला विकास समितिका सभापतिसम्मले चुनाव लडेका थिए । मैले भन्न के खोजेको भने जनताबाट हामी टाढा हुनुहुँदैन । त्यसबेला कांग्रेसले यही सोच राखेर यस्तो निर्णय लिएको थियो । त्यसबेला कांग्रेस केही ठाउँमा हा¥यो भने केही स्थानमा जित्यो । यो एउटा प्रयोग थियो । चुनावको एक वर्षपछि कांग्रेसबाट जितेर गएकालाई फिर्ता बोलाइयो । त्यसैले चुनाव जनताको बीचमा गइरहने एउटा बाटो हो । यो बाटो मलाई गलत लागेन । अहिलेकै कुरा गरौं । मधेशका जनता र नेतामा कत्तिको सामिप्यता छ ? मधेशकेन्द्रित दलको कुरा मात्र होइन, अरू ठूला दलको पनि जनतासँग कत्तिको सामिप्यता छ ? कुनै पार्टीले मेरो संगठन जनतासँग धेरै नजिक छ भन्छन् भने त्यो हावादारी कुरा मात्र हो । यहाँका जनता विभिन्न किसिमका समस्यामा छन् । भारतमा प्याजको भाउ बढ्दा अटलविहारी बाजपेयीको सरकार ढलेको थियो ।


० तर, नेपालमा मानिसको टाउको र छातीमा गोली हान्दा पनि केही हुँदैन ?
— त्यहि त । यहाँ टाउको र छातीमा गोली हान्दा पनि केही भएको छैन । शहीद घोषणा गरियो । १० लाख दिइएको छ । यसले गर्दा शहीदको पनि अवमूल्यन भइरहेको छ ।


० मधेशकेन्द्रित दलका नेताहरूले मधेशीले नगरपालिकाका मेयर र गाउँपालिकाका प्रमुख बनाउन शहादत दिएका होइनन् भनेर भन्दै आएका थिए । यसलाई कुन रूपमा लिनुहुन्छ ?
— शहीदप्रति म नमन गर्छु । मधेशका यी माग पूरा हुुनुपर्छ । मधेशमा शोषण भयो, मधेशमा उत्पीडन भयो, मधेशसँग विभेद भयो भनेर लडेका थिए । संविधान संशोधनको मात्र विषयलाई लिएर शहादत दिएका होइनन् । अर्को कुरा मधेश आन्दोलनका क्रममा जुलुसमा धेरै मानिस दर्शक पनि थिए । गोली चलेको हो, गोलीमा आँखा हुँदैन ।


० शहादत दिनेलाई राजनीतिक वा मधेशका समस्याका विषयमा चेतना थियो कि थिएन त्यो अर्को पाटो हो । तर, शहादत दिइसकेपछि उसको बलिदानीको अवमूल्यन त राज्य वा कुनै दलले गर्नु हुँदैन नि ?
— यो नेपाल हो । एउटा उदाहरण दिन्छु, शहीद दुर्गानन्द झाको सपना साकार भएको छैन । उहाँलाई फाँसी दिइएको थियो । एकसे एक वीर पुरूषले शहादत दिए । अहिले सबै दल शहीदलाई सत्ताका लागि भ¥याङका रूपमा प्रयोग गरिरहेका छन् । पहिलो मधेश आन्दोलनका शहीद रमेश महतोको सम्मान गर्दै बलिदानी दिवसका दिन सुरूका केही वर्षसम्म ठाउँठाउँमा कार्यक्रम हुने गरेका थिए । तर, अहिलेको अवस्था हेर्नुस् । एक–स्थान बाहेक अन्यत्र कुनै कार्यक्रम नै हुँदैन । त्यसैले शहादतको सार्थकता पूरा भएको देखिएको छैन ।


० प्रदेश नं. २ मा नेकपा एमालेको आधार कस्तो छ ?
— तेस्रो चरणको निर्वाचनमा राजपाले चुनाव लड्ने निर्णय गरिसकेपछि नेकपा एमालेको अवस्था कमजोर भइसकेको छ । साह्रै कमजोर त छैन तर प्रतिस्पर्धामा कमजोर देखिएको छ ।


० एमालेकै कारण सप्तरी घटना भयो, संविधान संशोधन विधेयक असफल भयो यी र यस्ता घटनाहरू हेर्दा प्रदेश नं. २ मा एमालेको मनोविज्ञान कस्तो पाउनुभएको छ ?
— एमालेभित्रै विद्रोहीहरू जन्मेका छन् । उम्मेदवारी दर्ताकै दिन जनकपुरधाममा टिकट नपाएपछि मोहन उपाध्यायले एमालेको झण्डा सडकमै फालेर आगो लगाइदिए । प्रदेश नं. २ को अधिकांश ठाउँमा यस्ता घटनाहरू भएका छन् । संविधान संशोधन विधेयक असफल गराउनुका साथै एमालेले मधेशलाई खुलेरै गाली गरेको छ । यसको प्रत्यक्ष असर यो निर्वाचनमा एमालेलाई पर्छ । संविधान संशोधनको पक्षमा ३ सय ४७ मत पर्यो तर विपक्षमा दुई ६ मात्र गयो । यसबाट प्रष्ट देखिन्छ कि एमाले अराष्टिूय तत्व हो, एमाले राष्ट्रलाई विखण्डन गर्न खोजेको हो भनेर ठाउँ–ठाउँमा चर्चा परिचर्चा भइरहेको छ । एमालेले पहाडमा इमोशनल ब्लैकमेलिङ्ग गरेको छ ।


० प्रथम र दोस्रो चरणमा जसरी एमाले प्रथम पार्टी बन्यो, त्यसरी नै तेस्रो चरणमा कस्तो अवस्थामा आउँछ ?
— तेस्रो चरणमा खासगरी कांग्रेस र राजपाबीचमै हुन्छ, एमालेको अवस्था कमजोर भइसकेको छ ।

(मधेशवाणीका लागि अजय साह शिवालीले गरेको कुराकानीको सम्पादित अंश)

 प्रकाशिति मिति : २०७४ साल भदौं २३ गते शुक्रबार ।

Contact Us

Address:Madhesh Media House, Hanumansthan Chowk, Anamnagar, Kathmandu Nepal

Phone: 0977-1-4266141

Fax: 0977-1-4266141

Email: madheshvani@gmail.com