आचारसंहिता उल्लंघन भएको भन्दै पार्टीका झण्डा उखेलियोे

जलेश्वर, २४ भाद । महोत्तरी जिल्लामा असोज २ गते हुने स्थानीय तहको निर्वाचनमा आचारसंहिताको व्यापक उल्लंघन भइरहेको भन्दै पहिलो चरणमा सार्वजनिक ठाउँहरुमा लगाइएको विभिन्न पार्टीको झण्डा र छाप उखेलिएको छ ।

मुख्य निर्वाचन अधिकृतको कार्यालयले निर्वाचन आचारसंहिताको व्यापक उल्लंधन भइरहेको भन्दै जलेश्वर नगरपालिकाका कार्यकारी अधिकृत शेरे मुस्तफालाई नगरभित्र सार्वजनिक ठाउँमा लगाइएको पार्टीको झण्डा र छाप उखेल्न दिएको निर्देशन अनुरुप त्यसो गरिएको हो ।

जलेश्वर नगरपालिकाका कार्यकारी अधिकृत शेरे मुस्तफाले पहिलो चरणमा सदरमुकाम जलेश्वरको नगरभित्रको विजुलीको पोलमा लगाइएको पार्टीको झण्डा र छाप हटाइसकिएको जानकारी दिए । उनले नेपाल प्रहरीको सहयोगमा नगरपालिकाका कर्मचारीहरु लगाएर उखेलिएको जानकारी दिए ।

मुख्य निर्वाचन अधिकृत किरणकुमार पोखरेलले आचारसंहिता उल्लंघन हुने कुनै पनि गतिविधि निगरानी र नियन्त्रणमा लिन सबै निकायका अधिकृतहरुलाई निर्देशन दिइसकिएको जानकारी दिँदै स्थानीय तह निर्वाचन आचारसंहिता अनुगमन निर्देशिका २०७४ को दफा १० बमोजिम जिल्लाको स्थानीय तह अन्तर्गत अनुगमन गरी प्रतिवेदन दिन तिनजना अनुगमनकत्र्ता खटाइएको जानकारी दिए ।

महोत्तरी, पिपरा, मटिहानी, बलवा र लोहारपट्टीको लागि जिल्ला शिक्षा अधिकारी ठुलोबाबु दाहाल, मनरा सिस्वा, एकडारा, सोनमा, जलेश्वर र सम्सीको लागि स्थानीय विकास अधिकार युवराज पौडेल तथा बर्दिबास, भंगहा, औरही, रामगोपालपुर र गौशालाको लागि जिल्ला वन अधिकृत राजेन्द्रप्रसाद जैसवाललाई अनुगमनकत्र्ताको जिम्मेवारी तोकिएको मुख्य निर्वाचन अधिकृत पोखरेलले जानकारी दिए ।

स्थानीय तह निर्वाचनमा अहिले व्यापक मात्रामा टिसर्ट, टोपी, ब्याच, बालबालिकाको प्रयोग गरी आचारसंहिता उल्लंघन भइरहेको देखिएको छ ।


Loading...

Contact Us

Address:Madhesh Media House, Hanumansthan Chowk, Anamnagar, Kathmandu Nepal

Phone: 0977-1-4266141

Fax: 0977-1-4266141

Email: madheshvani@gmail.com