प्रमुख तीनै ठूला दलको दोहोरो चरित्र : मेयर उम्मेदवार सरावगी

वीरगन्ज, २७ भाद्र । संघीय समाजवादी फोरम नेपालबाट वीरगन्ज महानगरपालिकाको मेयर उम्मेदवार विजय कुमार सरावगीले तीनै ठूला दलको दोहोरो चरित्रबाट सजग रहन आग्रह गरेका छन् ।

वडा नम्बर १८ को भवानीपुरमा आयोजित कोणसभामा बोल्दै मेयर उम्मेदवार सरावगीले प्रमुख तीन दल जस्ता दोहोरो चरित्र भएको दलसँग मधेशी जनतालाई जोगाउन आफूले मेयर पदमा उम्मेद्वारी दिएको बताएका थिए ।

सरावगीले वीरगन्ज नगर र सम्पूर्ण जिल्लाको विकास ४७ सालदेखि अहिलेसम्म प्रमुख तीन दलले रोकेर राखेको बताउँदै अबको विकास उनले आफ्नो नेतृत्वमा गर्ने बताएका थिए ।

“हामीलाई गोलि ठोक्ने, हाम्रा दाजुभाईहरुलाई घाइते बनाउने, हाम्रा घरका व्यक्तिहरुलाई झुटा मुद्दा लगाएर जेलमा राख्ने पार्टीहरुले कुन मुखले हामीसँग मत माग्न आएका छन् ?” सरावगीले प्रश्न गरे ।

उनले, “नगरका व्यक्तिहरुलाई मैले मूल नगरको अनुभूति गराउने छु, मलाई मात्र मशाल छापमा मतदान गरि विजयी गराउनु होस्,” भने ।

त्यसैगरी फोरम नेपालका केन्द्रीय उपाध्यक्ष एवम् सांसद लालबाबु राउत गद्दीले फोरम नेपालको आन्दोलन र संघर्षले गर्दा आज देशले संघीय प्रणाली र समावेशीकरणको अनुभूति गर्न सकेको बताएका थिए ।

उनले मधेशको सच्चा रक्षक र अधिकारको लागि सधैं लडिरहने पार्टी संघीय समाजवादी फोरम नेपाललाई मशाल छापमा मतदान गरि सम्पूर्ण उम्मेदवारहरुलाई भारी मतले जिताउन अनुरोध गरेका थिए ।

कार्यक्रममा सयौंको संख्यामा जनताहरुको सहभागिता रहेको थियो र जनताले फोरम नेपाललाई मशाल छापमा मतदान गर्ने प्रतिबद्धता व्यक्त गर्दै मशाल छापलाई मतदान गरि मेयरमा विजय कुमार सरावगी र उपमेयरमा फोरम नेपाललाई मतदान गर्ने नारा लगाएका थिए ।

Contact Us

Address:Madhesh Media House, Hanumansthan Chowk, Anamnagar, Kathmandu Nepal

Phone: 0977-1-4266141

Fax: 0977-1-4266141

Email: madheshvani@gmail.com