निर्वाचन आचारसंहिता उल्लङ्घन गरेको भन्दै विमलेन्द्र निधिसँग स्पष्टीकरण माग

काठमाडौं, २८ भाद्र । स्थानीय तह निर्वाचनअन्तर्गत प्रदेश दुईमा हुन गइरहेको निर्वाचनको प्रचार प्रसारका क्रममा नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री विमलेन्द्र निधिले निर्वाचन आचार संहिता उल्लंघन गरेको भन्दै निर्वाचन आयोगले २४ घन्टाभित्र स्पष्टीकरण माग गरेको छ ।

धनुषामा कांग्रेसले आयोजना गरेको चुनावी कार्यक्रममा पूर्व उपप्रधानमन्त्री एवं कांग्रेसका नेता निधिले काँग्रेसको निर्वाचन चिन्ह अङ्कित गम्छा लगाई सहभागी भएको जानकारी आयोगले जनाएको छ ।

पार्टीको चुनाव चिन्ह अङ्कित गम्छा स्वयम् पूर्व उपप्रधानमन्त्रीले लगाई चुनावी कार्यक्रममा सहभागी हुने क्रियाकलाप निर्वाचन आचारसंहिता विपरीत हुने हुँदा निर्वाचन आचारसंहिता उल्लङ्घन गरेवापत कानूनी कारबाही किन गर्नु नपर्ने हो ? २४ घण्टाभित्र आयोगसमक्ष स्पष्टीकरण पेश गर्न आयोगले निर्देशन दिएको छ ।

यस्तै, सिरहाको धनगढी नगरपालिकाको जिरो माइलमा आयोजित नेपाली कांग्रेसको चुनावी सभामा पार्टीका सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवालाई स्वागत गर्न बालबालिकाको प्रयोग गरिएको विषयमा आयोगको गम्भीर ध्यानाकर्षण भएको छ । चुनावी कार्यक्रममा बालबालिकाको प्रयोग गर्ने विषय निर्वाचन आचारसंहिता विपरीतको कार्य भएको देखिएको हुँदा नेपाली कांग्रेस सिरहा जिल्ला सभापतिलाई निर्वाचन आचार संहिता उल्लङ्घन गरेउपर कारबाही किन गर्न नपर्ने हो ? २४ घन्टाभित्र आयोगसमक्ष स्पष्टीकरण पेश गर्न निर्देशन दिएको छ ।

यसैगरी, धनुषाको मिथिला नगरपालिका लालगढमा यही नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रले निकालेको संयुक्त चुनावी ¥यालीमा दलको झण्डा बोकेर बालबालिकालाई प्रचारप्रसारमा खटाइएको भन्ने जानकारी प्राप्त भएकोमा आयोगको गम्भीर ध्यानाकर्षण भएको छ ।

उक्त क्रियाकलाप निर्वाचन आचार संहिता विपरीत भएको देखिएको हुँदा संयुक्त चुनावी ¥यालीका आयोजक नेपाली कांग्रेस धनुषाका जिल्ला सभापति र नेकपा माओवादी केन्द्र धनुषा जिल्ला इन्चार्जलाई निर्वाचन आचार संहिता उल्लङ्घन गरेउपर कारबाही किन गर्नु नपर्ने हो ? २४ घन्टाभित्र आयोगसमक्ष स्पष्टीकरण पेश गर्न बेग्ला बेग्लै निर्देशन दिएको आयोगका सहसचिव एवं प्रवक्ता नवराज ढकालले जनाएका छन् ।

Contact Us

Address:Madhesh Media House, Hanumansthan Chowk, Anamnagar, Kathmandu Nepal

Phone: 0977-1-4266141

Fax: 0977-1-4266141

Email: madheshvani@gmail.com