निर्वाचन सफल बनाउन जरूरी (सम्पादकीय)

यतिखेर प्रदेश नं. २ का आठ जिल्ला स्थानीय तहको निर्वाचनमा होमिएका छन् । तेस्रो चरणअन्तर्गत आगामी असोज २ गते हुने स्थानीय तहको निर्वाचनमा सहभागी हुन प्रदेश नं २ का मतदातामा उत्साहको वातावरण देखिएको हो ।

नेपालको संविधान, २०७२ अनुसार २०७४ माघभित्र स्थानीय, प्रादेशिक तथा सङ्घको निर्वाचन सम्पन्न गरी संघीय लोकतान्त्रिक गणतन्त्रात्मक राज्यलाई मूर्तरूप दिने दायित्व राज्यसमक्ष छ । उक्त दायित्व निर्वाह गर्न निर्वाचन आयोगले निर्वाचनको सबै तयारी पूरा भइसकेकोे जनाएको छ भने यसका लागि सुरक्षा सयन्त्रले सुरक्षा प्रबन्ध मिलाइरहेको छ ।

संविधानले स्थानीय तहलाई शक्तिशाली बनाएकाले निर्वाचनमार्फत अधिकार सम्पन्न ती तहको काम चालु गराउन सके राजनीतिक स्थायित्व, मुलुकको विकास र आर्थिक समृद्धिका साथै संविधानलाई मूर्तरूप दिन सकिने भएकाले उक्त प्रदेशका मतदाता यो निर्वाचनमा सहभागी हुन आतुर देखिएका हुन् ।

आसन्न स्थानीय तहको निर्वाचनमा प्रदेश नं २ को आठ जिल्लामा अहिले चुनावी प्रचारप्रसारको सरगर्मी बढेको छ । त्यस प्रदेशका शहर तथा ग्रामीण क्षेत्रका विभिन्न चोक, पान पसल, चिया पसलदेखि लिएर टोल÷टोल र खेतबारीमा समेत सम्बद्ध पार्टीका उम्मेदवारको जित हारको आँकलन तथा चुनावी कुराकानीले अहिले त्यहाँका वातावरण चुनावमय भएको हो ।

विभिन्न दलका नेता, कार्यकर्ता र उम्मेदवारले बिहानैदेखि मतदाताको घरआँगन तथा खेतबारीमा पुगेर मत माग्ने कार्यलाई तीव्रता दिनाका साथै चुनावी सभा र कोणसभालाई पनि त्यतिकै महत्वका साथ अगाडि बढाएका छन् । विभिन्न दलका शीर्षनेता पनि चुनावी सभा र प्रचारप्रसारमा व्यस्त देखिएका छन् भने चुनावको समाचार संकलन गर्न राष्ट्रिय सञ्चारमाध्यमका प्रतिनिधिलाई अहिले भ्याइनभ्याइ छ ।

नेपाली काँग्रेस, नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र), राजपा नेपाल, संघीय समाजवादी फोरम नेपाल, लोकतान्त्रिक फोरम नेपाल, राप्रपालगायत अन्य पार्टीले पनि चुनावी सभा, सम्मेलन र प्रचारप्रसारलाई तीव्रता दिएपछि चुनावी सरगर्मी बढेको हो । आगामी असोज २ गते प्रदेश नं २ का आठ जिल्लाका १३६ स्थानीय तहका विभिन्न पदमा हुने निर्वाचनका लागि ३६ हजार ७३ जनाले उम्मेदवारी दिएका छन् ।

विशेषगरी यो प्रदेशमा प्रमुख तीन दल, राजपा नेपाल, संघीय समाजवादी फोरम एवं लोकतान्त्रिक फोरम दलका उम्मेदवारले बढी मत तान्ने सम्भावना देखिएको छ । अन्य उम्मेदवारले पनि मत बटुलेर जित्न सक्दो प्रयास गरेकाले उम्मेदवारबीच कडा प्रतिस्पर्धाका साथै हारजित पनि थोरै मतले हुने आँकलन गरिएको छ । तेस्रो चरणको निर्वाचनसँगै आम जनता इतिहासको एक उत्साहपूर्ण क्षणमा आइपुगेको छ ।

राजनीतिक स्थायित्व, आर्थिक समृद्धि र समावेशी संघीय लोकतान्त्रिक गणतन्त्रात्मक संविधानको कार्यान्वयनसहितको नयाँ नेपाल निर्माणका लागि हुन लागेको यो चुनावलाई सफल र सार्थक बनाउन सबैको साझा प्रयास हुनु जरूरी छ । कामको चटारो भए पनि बहुसङ्ख्यक श्रमजीवी जनता स्थानीय चुनावमा सहभागी हुन आतुर छन् । काम नगरी खान पाउने अवस्था छैन तर पनि यो चुनाव समावेशी संघीय लोकतान्त्रिक गणतन्त्रात्मक संविधानको कार्यान्वयन र समावेशी विकास गर्ने विषयसँग जोडिएकाले यसलाई जसरी भए पनि सफल बनाउनुपर्छ ।

अहिलेको संवेदनशील अवस्थामा अस्थिरता मच्चाउने तत्वले बन्दै गएको निर्वाचनको वातावरणलाई बिथोल्न सक्रिय भएर लाग्न सक्ने भएकाले यसतर्फ पनि सबै गम्भीर हुनुपर्छ ।

समावेशीका आधारमा महत्वपूर्ण मानिएका स्थानीय तहको निर्वाचन प्रक्रियामा सबै मतदातालाई निर्भिक रूपमा सहभागी गराउने वातावरण सिर्जना गर्नका लागि निर्वाचन आयोग, सरकार, राजनीतिक दललगायत सम्बन्धित सबै सरोकारवाला पक्ष गम्भीर भएर सक्रियताका साथ लाग्नुपर्दछ ।

प्रकाशित मिति : २०७४ भाद्र ३० गते शुक्रबार


Loading...

Contact Us

Address:Madhesh Media House, Hanumansthan Chowk, Anamnagar, Kathmandu Nepal

Phone: 0977-1-4266141

Fax: 0977-1-4266141

Email: madheshvani@gmail.com