मधेशमा एमाले कमजोर हुनु स्वाभाविक : सुरेन्द्र महतो

वरिष्ठ अधिवक्ता


० तेस्रो चरणको निर्वाचनको प्रारम्भिक मत परिणामलाई कसरी विष्लेषण गर्नुहुन्छ ?
— प्रदेश नं. २ को स्थानीय तहको मत परिणाम स्वभाविक हो । जस्तो किसिमको अपेक्षा गरिएको थियो त्यसै अनुरूपको मतपरिणाम आइरहेको छ । खासगरी दुई नम्बर प्रदेश भनेको मधेशी जनताको बाहुल्यता भएको भूगोल हो । मधेशमा आदिवासी, जनजातिप्रतिको जुन विभेद रहँदै आएको छ, त्यसलाई संवैधानिक रूपमा नै स्वीकार गरिसकेको अवस्था छ । त्यो विभेदहरूको पूर्ण अन्त्य नया संविधानबाट होला की भन्ने जुन अपेक्षा गरिएको थियो, त्यो हुन सकेन । नयाँ संविधान जारी गर्ने क्रममा मधेशी, आदिवासी, जनजातीलाई पछाडि राख्दै विभेदमा परिरहेका समुदायलाई बेवास्ता गरियो । मधेशी, आदिवासी, जनजातिहरूले अझै पनि संविधानमा हाम्रो समस्याहरू सम्बोधन भएको छैन् भन्ने त्यसको विरोधमा आवाजहरू उठाइ नै रहेका छन् । मधेशमा आन्दोलन भइरहेको थियो । नेपालको इतिहासमै सबैभन्दा लामो अवधिको लगातार ६ महिनासम्मको पीडादायी र कष्टदायी आन्दोलन सहेर त्यहाँभित्र प्रवेश गरे । राज्यपक्षलाई भनौं या काठमाडौँको सिंहदरबारलाई, जुन किसिमले सम्मान गर्नुपर्ने हो त्यस किसिमले नगरेपछि दर्जनौ आम मधेसी जनताको हत्या भएको थियो । यी र यस्ता दृष्टान्त हेर्दा मधेशमा एउटा आक्रोश त थियो नै । त्यो आक्रोशहरूलाई अभिव्यक्ति गर्ने क्रममा र संविधानको संशोधनको प्रक्रिया जुन छ, त्यसलाई अहिलेको व्यवस्थापिका संसदले अस्वीकार गरेको छ ।


० प्रदेश नम्बर दुईमा कुन पार्टीको अवस्था कस्तो देख्नुहुन्छ ?
— ९० प्रतिशतले बनाएको संविधान अहिले ६० प्रतिशत भन्दा बढीले त्यसलाई संशोधन गर्नुपर्दछ भनेर स्वीकार गरेको छ । अहिलेको जनताको अभिमत भनेको खासगरी प्रदेश नं. २ को मधेशकेन्द्रित दलहरूको एजेण्डा अर्थात संशोधनको पक्षमा उभिएका दलहरू, मुद्दाको उत्थान गर्ने नेकपा माओवादी र संविधान संशोधनमा प्रतिबद्धता जनाएको र यससम्बन्धी छलफल गर्ने नेपाली कांग्रेस हो । मधेशकेन्द्रित दल र माओवादीको जुन किसिमको अवस्था थियो अहिले त्यो धेरै हदसम्म सुध्रिएको छ र काँग्रेसको पनि धेरै सम्मानजनक अवस्था छ । मधेश कांग्रेसको आधारभूमि पनि भएकोले कांग्रेसको निकै उल्लेख्यपूर्ण मत आएको छ । अहिलेको अवस्थामा खासगरी मधेशको विरोधमा रहेको र आदिवासी जनजातीको समनताको कुरा उठाएको छ र यसको विरूद्धमा उठिएका शक्तिहरूलाई मधेशका जनताले जवाफ दिएका छन्  । अग्रगमनमा उभिएका शक्तिहरू अगाडि आएका छन् । हिजोसम्म मधेशमा आन्दोलनकारीको कुनै पकड छैन् भन्नेहरूलाई यो कुराले राम्रोसँग जवाफ दिएको छ अहिलेको स्थानीय स्तरको चुनावले ।


० प्रदेश नं. २ को निर्वाचनमा मतदाताको उत्साहपूर्ण सहभागितालाई कसरी हेर्नुभएको छ ?
— त्यसलाई दुईवटा पाटोबाट हेर्न सकिन्छ । एक त आन्दोलनकारी शक्ति पनि निर्वाचनमा सहभागी भए, अर्को आन्दोलनमा उठेका एजेण्डाहरू स्थानीय स्तरको निर्वाचनबाट सम्बोधन हुन सक्दैन र ती एजेण्डा प्रतिनिधिसभाबाट सम्बोधन हुन्छ भन्ने जनताले बुझे । अहिले जुन किसिमको प्रारम्भिक मत परिणाम आइरहेको छ यो आन्दोलनको राप, तापबाट पीडित भएका जनताले आफ्नो प्रतिनिधि छान्न पाउने उत्साहका साथ गरेको मत परिणाम हो । परिवर्तनमा उभिएको उत्साह हो, प्रदेश नम्बर २ को मतदान ।


० मधेशी दलहरूले प्रारम्भिक रूपमा प्राप्त गरिरहेको मतलाई सन्तोषजनक छ ?
— जुन रूपमा अगाडि आउनुपर्ने होे त्यस अनुरूप त आउन सकेको छैन तर पनि प्रारम्भिक नतिजालाई सन्तोषजनक नै मान्नुपर्छ । मधेशी दलहरूको सशक्त संगठन नहुनुको परिणाम नै मान्नुपर्छ मधेशी दलहरू कमजोर हुनुमा ।


० ६ वटा पार्टी मिलेर बनेको राजपा नेपालको अवस्था सन्तोषजनक नहुनुको कारण के होला ?
— संख्यामा ६ वटा पार्टी मिलेर बनेको भए पनि आकारमा हेर्दा कोही अल्लि ठूला थिए कोही साना । त्यसैले ६ वटा दल मिलेको भन्नुभन्दा पनि एउटै एजेन्डा बोकेका दलहरू एक ठाउँमा आए भन्नु ठिक होला । फोरम नेपाल मधेश जनविद्रोहदेखि नै निरन्तर रूपमा मधेशको मुद्दा बोकेर अगाडि आएको पार्टी हो । उपेन्द्र यादवको एकल र प्रभावकारी नेतृत्वले फोरम नेपाललाई अगाडि बढाउन काम गरिरहेको मैले बुझेको छु । राजपामा ६ जनाको अध्यक्षीय मण्डल बनाइएको छ त्यसमा पनि उनीहरू पूर्ण रूपमा घुलमिल भइसकेका छैनन् । त्यसैले राजपालाई आफू भित्रको विवाद समाधान गर्दै जनतामा जान केही समय लाग्ने देखिन्छ ।


० राजपाले अबको दिनमा आफ्नो भूमिकालाई कसरी अगाडि बढाउनुपर्छ ?
— राजपाले ६ वटा दल मिलेर आएको भनेर प्रयोग हुने भाषाको अन्त्य गराउन सक्नुपर्छ । हामी एक हौं भन्नका लागि उनीहरूले आचरण र व्यवहारबाट यो कुरालाई पुष्टि गर्नुपर्छ ।


० संविधान संशोधन नगरी स्थानीय तहको निर्वाचनमा सहभागी नहुने भन्दै दुई चरणको निर्वाचन बहिष्कार गरेको राजपाले अहिले संविधान संशोधन बिना नै स्थानीय तहको निर्वाचनमा भाग लिंदा त्यसको असर निर्वाचनमा देखिएको हो ?
— त्यसले असर गरेको जस्तो लाग्दैन । संविधान संशोधन विधेयक संसदमा पेश गरेर फेल भइसकेर अहिले नयाँ स्थिति सिर्जना भएको छ । संशोधन फेल भइसकेपछि पनि संविधान संशोधन नभई चुनावमा जान्न भन्नु राजपाको लागि हितकर थिएन र जनताको माझमा जाने निर्णय गरेको हो । यो कदम राजपाको स्वागतयोग्य छ ।


० कांग्रेस माओवादी गठबन्धनले भविष्यमा संविधान संशोधन गछौं भनिरहेको छ, पत्याउने आधार छ ?
— यसलाई सकारात्मक रूपमा नै हेर्नुपर्छ । मधेश केन्द्रित दलले उठाएका एजेन्डालाई माथि पु¥याउने काम माओवादी केन्द्रले गरेको हो । पछिल्लो कालखण्डमा आएर नेपाली कांग्रेसले पनि संशोधनको विषयमा सहयोग गर्नुपर्छ भनेर समर्थन जनाएको अवस्था हो । यस स्थितिमा कांग्रेस र माओवादीको भूमिकालाई सकारात्मक रूपमा लिनुपर्छ ।


० सम्झौता गर्ने तर त्यसको कार्यान्वयन नगर्ने प्रचलन पहिलेदेखि कै हो । अब गरिएका सम्झौताहरू कार्यान्वयन होला भन्ने आधार के छ ?
— त्यो शंकाको घेरामा रहेको छ । अपेक्षा अनुरूपको परिवर्तनको एजेन्डाहरू अगाडि बढ्न सकेन, त्यसमा माओवादी कांग्रेस गठबन्धन र मधेश केन्द्रित दलको पनि कमजोरी रहँदै आएको छ । आगामी दिनमा सुधार आउँला भन्ने आशा गर्न सकिन्छ ।


० प्रदेश नम्बर दुईमा एमाले कमजोर हुनुको कारण के देख्नुहुन्छ ?
— एमाले परिवर्तनको विपक्षमा उभिएको पार्टी हो । मधेशीहरूलाई अनावश्यक गालीगलौज गर्ने, संविधान संशोधनको विपक्षमा भोट हालेर उ झन मधेश विरोधी पार्टीको छवि बनाएको छ । विभेदकारी नीति, एक जातीय राष्ट्रवादलाई प्रश्रय दिँदै एमाले अगाडि बढेको छ र परिणामस्वरूप एमाले मधेशमा कमजोर भएको छ र यसो हुनु अस्वभाविक होइन ।


० कांग्रेस–माओवादी गठबन्धन र मधेश केन्द्रित दलहरूको आगामी दिनमा कस्तो सम्बन्ध हुनुपर्छ ?
— सौहार्दपूर्ण सम्बन्ध हुन आवश्यक छ । आफ्नो एजेन्डामा अडिग भई अगाडि बढ्न मधेश केन्द्रित दलले सक्नुपर्छ ।


० संविधान निर्माण भएको दुई वर्ष पूरा भइसक्दा पनि कार्यान्वयन हुन विभिन्न बाधाअवरोधहरू आइरहेको छ यसको कारक कसलाई देख्नुहुन्छ ?
— संविधान कार्यान्वयनको मुख्य बाधक नेपालको स्थायी राज्यसत्ता नै हो । यथास्थिति चाहने शक्तिहरूले परिवर्तनलाई आत्मसात गर्न नसक्नु नै संविधान कार्यान्वयन हुन नसक्नुको मुख्य कारण हो ।


० एकातिर संविधान संशोधनको विषय छ भने अर्कोतिर यो संविधान अनुसार सरकार नै चलेको पाइदैन यस्तो किन भइरहेको छ ?
— सरकारको नेतृत्व जसको नियन्त्रणमा रहेको छ त्यहाँ परिवर्तनका पक्षधर शक्तिहरू छैनन् । त्यसकारण उनीहरूले समावेशीताका सवालमा कुनै न कुनै बहानामा भाग्न खोज्छन् र आफ्ना हित अनुकुलको काम गर्न चाहन्छन् । यसका लागि मधेशी दलहरूले जुन रूपमा जोडदार आवाज उठाउनुपर्दथ्यो त्यो गर्न सकेनन् । मुद्दा उठाउने राजनीतिक दलहरू कै मुद्दाप्रतिको तटस्थताको अभाव र उसको आफ्नै कमजोरी पक्ष हो । जसले गर्दा पनि समावेशीताको सिद्धान्त लागु हुन नसकेको हो । सरकार आफैं संविधान लागु नगर्ने र जनतालाई संविधान लागु गर् भन्नु दोधारे नीति हो । संविधान कार्यान्वयनको अर्थ निर्वाचन गराउनु मात्र होइन । संविधान कार्यान्वयन हुन संविधानको भावना अनुसार समानुपातिक, समावेशीता र विविधतालाई सम्बोधन गरी मूल धारका मूख्य दलका नेताहरू नै त्यसमा उदासीन रहेका छन् । यो दुःखद पक्ष हो ।

प्रकाशित मिति : २०७४ साल असोज ६ गते शुक्रबार ।

Contact Us

Address:Madhesh Media House, Hanumansthan Chowk, Anamnagar, Kathmandu Nepal

Phone: 0977-1-4266141

Fax: 0977-1-4266141

Email: madheshvani@gmail.com