मधेशका अधिकारकर्मी एकजुट होऊ (सम्पादकीय)

विगत तीन÷चार दिनको राजनीतिक तरङ्गका कारण मुलुक झन् कठिन मोडमा उभिएको छ । विगतदेखि वर्तमानसम्म राज्यसत्तामा कब्जा जमाएर बसेका तीन ठूला दलहरू पुनः सत्ताकै खेलमा लागेका छन् । एकले अर्कालाई सत्ताबाट पदच्यूत गर्ने खेलमा कांग्रेस, एमाले र माओवादीका नेताहरू लागेका छन् । यसले गर्दा अधिकारको लडाइ लडिरहेका मधेशकेन्द्रित दलहरू पुनः दिग्भ्रमित हुने निश्चित देखिएको छ । अहिले कम्युनिष्ट पार्टीहरूबीच भएको सहमतिले विभिन्न किसिमका शंकाउपशंका गर्न थालिएको छ । मधेशका राजनीतिक विश्लेषकहरूले यो बाम गठबन्धन मधेशलाई अधिकार दिलाउन नसक्ने र मधेशमाथि भइरहेको दमन झन् बढ्दै जाने विश्लेषण गर्न थालेका छन् । मधेशका अधिकारकर्मीहरू बेलाबखतमा मधेशकेन्द्रित राजनीतिक दलहरूलाई सचेत गराउँदै आएका थिए । तर, अहिलेको विषम् परिस्थितिमा मधेशी अधिकारकर्मीहरूको कुनै प्रतिक्रिया आउन सकेको छैन । मधेशी अधिकारकर्मीहरूले मधेशका राजनीतिज्ञहरूलाई मधेशको हकहितका लागि काम गर्न दबाब दिनसक्नुपर्छ । विगतमा पनि अधिकारकर्मीहरूले मधेशी दलहरूबीच एकताका लागि भूमिका खेलेकै हो तर, अहिले मुलुकमा विभिन्न मोर्चाबन्दी भइरहदा मधेशकेन्द्रित शक्तिहरू एक हुनुपर्ने आवश्यक छ । अहिले नेपाली कांग्रेसको नेतृत्वमा मधेशकेन्द्रित दलहरू मोर्चाका लागि प्रयासरत् छन् । तर, कांग्रेससँग चुनावी मोर्चा वा गठबन्धन निर्माण गर्नुभन्दा पनि मधेशकेन्द्रित शक्तिहरूबीच एकता वा सहकार्य हुन जरूरी छ । भर्खरै सम्पन्न प्रदेश नं. २ को निर्वाचनमा मधेशकेन्द्रित शक्तिहरू मिलेर गएको भएको भए पहिलो पार्टी हुने निश्चित थियो । यसभन्दा पनि कम्तीमा एक सयभन्दा बढी सीट जित्नसक्ने सम्भावना थियो । तर, त्यसो नगर्दा पनि अहिले राजपा नेपाल, फोरम नेपाल र लोकतान्त्रिक फोरमको संख्या ५४ हो, जहाँ कांग्रेसले जम्मा ४०, एमालेले १८ र माओवादीले २१ ठाउँमा जितेका छन् । मधेशी मतदाताले दिएको मतादेशलाई सम्मान गर्दै मधेशकेन्द्रित दलहरूबीच सहकार्य वा एकताको आवश्यकता छ । मधेशकेन्द्रित राजनीतिक दलहरूबीच एकता वा सहकार्यका लागि पहलको थालनी मधेशका अधिकारकर्मीहरूले गर्नुपर्छ । मधेशको हितैषी आजसम्म ठूला दलहरू कहिल्यै न थिए र न रहनेछन् । २०६४ साल यताको राजनीतिक अभ्यासलाई नियाल्ने हो भने १० वर्षमा १० वटा प्रधानमन्त्री यो मुलुकले पाइसकेको छ तर, कुनै पनि सरकारले मधेशको समस्यालाई स्थायीरूपमा समाधान गर्न चाहेनन् । त्यसैले, अहिले निर्णायक घडी हो, यस निर्णायक घडीलाई सदुपयोग गर्न मधेशकेन्द्रित दलहरू एक ठाउँमा आउनु आजको अपरिहार्यता हो । जसका लागि मधेशी अधिकारकर्मीहरूले राजनीतिक दलहरूलाई सशक्त दबाब दिनुपर्छ । होइन भने, मधेशको मुक्तिको नारा जपेर केही हुनेवाला छैन । तसर्थ, मधेशका अधिकारकर्मीहरू एकजुट भएर राजनीतिक दलहरूमाथि दबाब सिर्जना गर्नुपर्छ ।


प्रकाशित मिति : २०७४ साल असोज २० गते शुक्रबार ।


Loading...

Contact Us

Address:Madhesh Media House, Hanumansthan Chowk, Anamnagar, Kathmandu Nepal

Phone: 0977-1-4266141

Fax: 0977-1-4266141

Email: madheshvani@gmail.com