प्रदेश र प्रतिनिधि सभा निर्वाचनमा सहभागी हुने मधेशी युथथिंक ट्यांकको घोषणा

काठमाडौं, २४ असोज । मधेश आन्दोलनका मागहरु पूरा नभएसम्म कुनै पनि निर्वाचनमा सहभागी नहुने उद्घोष गरेको मधेशी युथथिंक ट्यांकले प्रदेश सभा र प्रतिनिधि सभा निर्वाचनमा भाग लिने घोषणा गरेको छ ।

यसअघि सम्पन्न भएको स्थानीय तहको निर्वाचनलाई युथथिंक ट्यांकले पूर्णरुपमा बहिष्कार गरेको थियो ।

मधेशका हकअधिकार सुरक्षित गर्नका लागि अब युवाहरुले सक्रिय भूमिका निर्वाह गर्नुपर्ने भन्दै अब युवाहरुले राजनीतिको बागडोर आफ्नो हातमा लिनुपर्ने अवधारणासहित निर्वाचनमा सहभागिता जनाउने निर्णय गरेको हो ।

मधेशी युथथिंक ट्यांकका अध्यक्ष डा. विनय पञ्जियारले मधेशको हक अधिकारका निमित्त खोलिएका मधेश राजनीतिक दलहरु असफल भइसकेको भन्दै मधेश आन्दोलनका उपलब्धीहरुको संस्थागत गर्न र अधिकारका लागि निरन्तर संघर्ष गरिरहने जनाएका छन् ।

युथथिंक ट्यांकका अध्यक्ष पञ्जियार र महासचिव खगेन्द्र झाले संयुक्तरुपमा जारी गरेको विज्ञप्तिमा मधेशका २० वटै जिल्लाहरुमा आफ्ना उम्मेदवार अगाडि सारी मधेशका सम्पूर्ण एजेन्डाहरुलाई सशक्त बनाउनका निमित्त प्रदेश सभा र प्रतिनिधि सभा सदस्य निर्वाचनको सम्पूर्ण कार्यक्रमहरुमा सहभागी हुने निर्णय गरेका छन् ।

मधेशी युथ थिंक ट्यांकले मधेशवादी दलहरुसँग सहकार्य गरेर चुनावमा भाग लिने जनाएको छ । अहिलेसम्म कुन दलको चुनाव चिन्ह लिएर निर्वाचनमा भाग लिने भन्ने टुंगो नलागिसकेको अध्यक्ष पञ्जियारले जनाएका छन् । राजपा वा फोरम नेपालसँग तालमेल गरेर चुनावी अभियानमा लाग्ने जनाइएको छ ।


Loading...

Contact Us

Address:Madhesh Media House, Hanumansthan Chowk, Anamnagar, Kathmandu Nepal

Phone: 0977-1-4266141

Fax: 0977-1-4266141

Email: madheshvani@gmail.com