प्रतिनिधिसभा र प्रदेश सभाको लागि कांग्रेसले गरे सिफारिस

जलेश्वर, २५ असोज । नेपाली कांग्रेस महोत्तरीले जिल्लाको चारक्षेत्र मध्ये तीनक्षेत्रको प्रतिनिधिसभा र प्रदेश सभाको सम्भावित उम्मेदवारहरुको सिफारिससहितको नामावली केन्द्रमा पठाएको छ ।

कांग्रेसका जिल्ला सभापति महेन्द्रकुमार रायले जिल्लाको चार क्षेत्र मध्ये एक, दुई र तिनको क्षेत्रीय समितिले सिफारिस गरेको नामावलीलाई नै केन्द्रमा पठाउने निर्णय गरिएको जानकारी दिँदै क्षेत्र नं. चारको नामावली आउन बाँकी रहेको बताए ।

जिल्लाको क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभाको लागि प्रत्यक्ष तर्फ पाँच जनाको नामावली सिफारिस गरिएको छ । जसमा नेपाली काँग्रेसका केन्द्रीय सदस्य कल्याण कुमार गुरुङ्ग, वर्तमान साँसद सीताराम भण्डारी, पूर्व साँसद बसन्तकुमार गुरुङ्ग, चिरन्जीवी हमाल तथा मुकेशराज काफ्ले रहेका छन् । त्यसैगरी समानुपातिक तर्फ ८ जनाको नामावली सिफारिस गरिएको छ ।

क्षेत्र नं. १ को प्रदेशसभाको ‘क’ क्षेत्रको लागि प्रत्यक्ष तर्फ ८ जनाको नामावली सिफारिस गरिएको छ । सिफारिस भएकाहरुमा महेशकुमार झा, विष्णुदेव यादव, विनोद बराल, अशोक कोइराला, प्रहलाद कुमार क्षेत्री, मदनमोहन यादव, सुरेश यादव, कृष्णा यादव रहेका छन् । त्यस्तै प्रदेश सभा ‘क’ को समानुपातिक तर्फ १८ जनाको नामावली सिफारिस गरिएको छ ।

असोज २० गते बसेको क्षेत्रीय समितिको बैठकले जिल्लाको क्षेत्रनं. १ को प्रदेशसभा ‘ख’को प्रत्यक्षतर्फ रामश्रेष्ठ महतोको मात्रै सिफारिस गरेको छ भने समानुपातिक तर्फ १६ जनाको नामावली सिफारिस गरेको जनाएको छ ।

त्यसैगरी, जिल्लाको क्षेत्र नं. २ मा प्रतिनिधिसभाका लागि प्रत्यक्षतर्फ किरण यादव, नागेश्वर यादव तथा श्याम मण्डलको नामावली सिफारिस गरि पठाएको छ भने समानुपातिकमा ७ जनाको नामावली पठाएको छ ।

त्यसैगरी, क्षेत्र नं. २ को प्रदेशसभा ‘क’ को प्रत्यक्षतर्फ महेन्द्र यादव मधुकरसहित ७ जनाको तथा समानुपातिक तर्फ १२ जनाको नामावली सिफारिस गरेर केन्द्रमा पठाइएको काँग्रेसका जिल्ला सचिव शम्भुनारायण पाठकले जानकारी दिए ।

त्यस्तै ‘ख’ मा प्रत्यक्ष तर्फ ९ जना र समानुपातिक तर्फ १० जनाको नामावली पठाइएको पाठकले जानकारी दिए ।

जिल्लाको क्षेत्र नं. ३ मा प्रतिनिधिसभाको प्रत्यक्षतर्फ ललनकुमार राय, बजरंग नेपाली र गरीबदास ठाकुरको नाम सिफारिस गरि पठाइएको छ भने समानुपातिक तर्फ रामचन्द्र तिवारी, नरेन्द्र मोहन मिश्र, कामेश्वर पाण्डे र गंगाधर चौधरीको नाम सिफारिस गरिएको छ ।

त्यसैगरी प्रदेशसभाको लागि ‘क’ क्षेत्रमा प्रत्यक्षतर्फ ११ जना र समानुपातिक तर्फ १० जना तथा ‘ख’ क्षेत्रमा प्रत्यक्ष तर्फ ९ जना तथा समानुपातिक तर्फ ७ जनाको नाम सिफारिस भएको नेपाली काँग्रेसले जनाएको छ ।

Contact Us

Address:Madhesh Media House, Hanumansthan Chowk, Anamnagar, Kathmandu Nepal

Phone: 0977-1-4266141

Fax: 0977-1-4266141

Email: madheshvani@gmail.com