ठूला दलबीचको ध्रुवीकरण सकारात्मक नै हो : श्रीकृष्णअनिरूद्ध गौतम

राजनीतिक विश्लेषक

० नेपालको राजनीतिमा पछिल्लो समय बढेको धु्रवीकरणलाई कुन रूपमा लिनुभएको छ ?
— यो धु्रवीकरण अचानक भएको होइन । हामीलाई अकस्मात थाहा पाएको जस्तो लाग्छ । जसरी पछिल्लो समय वाम शक्तिहरू एकठाउँमा आएका छन्, उनीहरूबीच तालमेल भएको छ । यो तालमेल एकै पटक वा अचानक भएको होइन । यसका लागि उनीहरूले लामो अभ्यास गरेको हुनुपर्छ । लामो अभ्यासकै परिणाम हो, गठबन्धन । यो कुरा उनीहरूले पनि भनिरहेका छन् । विभिन्न कारणले नेकपा एमाले, माओवादीलगायत दलहरूबीच गठबन्धन मूर्त रूप लिन सकिरहेको थिएन । तर, पछिल्लो समय गठबन्धन बनाउने परिवेशको पनि श्रृजना भएको छ ।


० ठूलठूला दलहरूबीच नै गठबन्धनको आवश्यकता किन आइप¥यो ?
— मैले यसलाई नकारात्मक रूपमा लिएको छैन । धेरैले वाम गठबन्धनलाई नकारात्मक रूपमा टिप्पणी पनि गरिरहेका छन् । तर, मैले यस्तो सोचेको छैन । किन भने नेकपा एमाले वाम शक्ति भए पनि लोकतान्त्रिक हुनेतर्फ अगाडि बढिरहेको थियो । लोकतान्त्रिक शक्तिका रूपमा एमालेले आफूलाई स्थापित पनि गरिरहेको थियो । एक हदसम्म स्थापित पनि भएको थियो । नेकपा माओवादी केन्द्रको कुरा गर्ने हो भने, माओवादी उग्रपन्थबाट आएर विस्तारै विस्तारै अरू शक्तिहरूसँग सहकार्य पनि गरिरहेको थियो । नेपाली कांग्रेस, मधेशकेन्द्रित दललगायतसँग नेकपा माओवादी केन्द्रले सहकार्य गर्दै आएको थियो । नेकपा एमाले र माओवादीको मूल भावनामा त एउटै हुन् नि । उनीहरूको पाठशाला एउटै हो ।


० ठूला दलहरूबीच भएको गठबन्धन उनीहरूका लागि बाध्यता हो कि आवश्यकता ?
— नेपालको अहिलेको प्रणालीमा दुई वा तीनभन्दा बढी दलले प्रतिस्पर्धा गर्दा राजनीतिक अस्थिरता अझै लम्बिने देखिन्छ । धेरै दल हुँदा अस्थिरताको ठाउँ बनिइरहने छ । दलहरू पनि शक्तिको वरिपरि रहन चाहन्छन् । तर, छरिएर चुनावी प्रतिस्पर्धामा पुग्दा सबैको आकांक्षा पूरा हुँदैन । अरू अस्थिरता निम्तिन्छ । त्यसैले चुनावअघि बनेका यस्ता गठबन्धन अनिवार्य भएको छ ।


० भनेपछि गठबन्धन बन्नु सकारात्मक हो ?
— हो ।


० अहिलेको संरचनामा दुई–तीन वटाभन्दा बढी दल अटाउने सम्भावना छैन ?
— पछिल्लो समय प्रदेश नम्बर दुईको चुनावमा राम्रो सिट ल्याउने फोरम नेपाल र राजपा गठबन्धन बनाएर अघि बढ्ने निर्णय गरिसकेका छन् । त्यस्तै विजयकुमार गच्छदार नेपाली कांग्रेसमा जाने चर्चा चलिरहेको छ । हृदयेश त्रिपाठीहरू नेकपा एमालेको चिह्न लिएर चुनावमा जाने भएका छन् । त्यसैले सबै दलले अहिलेको संरचनालाई स्वीकार गरेका छन् । यो संरचनाका सत्तामा सहभागी हुनुपर्छ भन्ने आकांक्षा सबै दलले लिएका छन् । सत्तामा साझेदार मात्र होइन कि सहभागी नै हुुनुपर्छ भन्ने मनसाय प्रवल भएर आएको छ ।


० यो संरचनामा दुई–तीनवटा दलको मात्र अस्तित्व रहने कुराको ज्ञान दलहरूलाई पहिला नै थियो कि स्थानीय चुनावको नतिजाले थाहा पाएका हुन् ?
— स्थानीय तहको चुनावभन्दा अघि प्रदेश र प्रतिनिधिसभाको चुनाव भएको भए अहिलेको अवस्था आउने थिएन । स्थानीय तहको चुनावबाट अर्कै परिदृश्य देखा प¥यो । प्रदेश र प्रतिनिधिसभाको चुनावमा ठूला दलहरू मिलेर गएनन् भने यी दलको पनि दूरगति हुन सक्ने कुरा स्थानीय चुनावले प्रष्ट पारेको छ ।


० भनेपछि दलहरूबीचको धु्रवीकरणको मुख्य कारण स्थानीय तहको चुनावको परिणाम हो ?
— हो । ठूलो भूमिका स्थानीय तहको चुनावले निर्वाह गरेको छ । नेकपा एमाले र नेकपा माओवादी केन्द्र एउटै पार्टी हुन्, यी दुवै दललाई भिन्न भन्नै मिल्दैन । यिनीहरू एउटै पाठशालाका हुन् ।


० तर, नेकपा एमाले र नेकपा माओवादी केन्द्रको सिद्धान्त फरक छन् नि ?
— यिनीहरू छुट्टै सिद्धान्त भएका पार्टी होइनन् ।


० नेकपा एमालले माक्र्सवाद लेनिनवादको विचार बोकेको पार्टी, अर्कोतर्फ नेकपा माओवादी केन्द्र माओको विचार बोकेको पार्टी हो नि त ?
— होइन, होइन । मूल विचारधारामा जाने हो भने दुवै पार्टी एउटै हुन् । नेकपा एमालेले गोर्खाली राष्ट्रवादलाई मूल विचारधारा बनाएको छ । एमालेले गोर्खाली राष्ट्रवादलाई मूल चुनावी नारा बनाएको हो । त्यस्तै, नेकपा माओवादी केन्द्रले जातीयताका कुरा अगाडि बढाएको छ । आफूलाई कम्युनिष्ट भने पनि पछिल्लो समय अर्कै विचार देखिएका छन् ।


० दलहरूबीच अब विचार र सिद्धान्तको कुरा रहेन । अब जोसँग जुन दल मिले पनि भयो भनेर पनि भनिँदैछ । के भन्नुहुन्छ ?
— जोसँग जो मिल्दैन मिलेनन् नि । कम्युनिष्टहरू एकठाउँमा आए ।


० तर, डा. बाबुराम भट्टराईले त कम्युनिष्ट विचार त छोडेका हुन् नि ?
— होइन । यो त नाटक हो । कहिले छोड्ने कहिले समात्ने त नाटकै हो नि ।


० उहाँले त विकास र समृद्धिलाई मुख्य एजेण्डा बनाउनु भएको थियो नि ?
— हो । तर, उहाँले विकास र समृद्धिलाई मनबाट मुख्य एजेण्डा नबनाएको त देखियो नि । भित्र मनबाट भनेको होइन भन्ने कुरा देखियो ।


० एमाले र माओवादीसँग मिल्नु डा. भट्टराईको बाध्यता हो ?
— उहाँको बाध्यता हुन सक्छ । तर, अन्य मानिसले उहाँको पछिल्लो कदमलाई त अर्कै किसिमबाट हेरेका छन् । विगतमा मानिसलाई खुशी पार्न कम्युनिष्ट छोडेको भनेर प्रचार गरेको देखियो ।


० अनि यो लोकतान्त्रिक शक्ति भनेको चाहीं के हो ?
— यो मैले पनि बुझेको छैन । जहाँसम्म फोरम नेपाल र राजपाको कुरा छ । यी दुवै दल लोकतन्त्रको परिधिभित्र आउँछन् । यिनीहरू क्षेत्रीय दल हुन् । यिनीहरूले मधेशका मुद्दालाई समातेका छन् । विभिन्न कारणले माओवादी र मधेशवादी दलहरू एकठाउँमा आएको पनि देखिएको थियो । दुवैले एउटै मुद्दा बोकेको पनि देखिएको थियो । माओवादीले जाति, क्षेत्रलगायत कसैलाई स्वायत्तता दिने होइन । यो माओवादीको सिद्धान्त नै होइन । मानिसलाई आफ्नो पक्षमा पार्न उठाएको मुद्दा थियो । मधेश आन्दोलनका बेला माओवादीसँग कत्ति धेरै प्रतिरोध थियो भन्ने कुरा सबैलाई थाहा छ । संघीयता माओवादीको मूल धारणा नै होइन । जहाँसम्म लोकतान्त्रिक शक्तिको कुरा छ । लोकतान्त्रिक शक्ति भनेको मैले बुझेको छैन । कमल थापाको राप्रपा पनि लोकतान्त्रिक शक्ति भयो भने त नेपाली कांग्रेस भएन । यस्तो अवस्थामा नेपाली कांग्रेस कसरी लोकतान्त्रिक शक्ति ? अहिलेको व्यवस्थाका मध्यमार्गीलाई लोकतान्त्रिक शक्ति भन्न सकिन्छ । तर, वाम बाहेकका सबै लोकतान्त्रिक शक्ति होइनन् । अब नेपाली कांग्रेसको नेतृत्व हुने भएकाले लोकतान्त्रिक गठबन्धन भन्न खोजिएको होला ।


० भविष्यमा यदि दुई–तीन वटा मात्र दल रहन एभने देशका लागि हितकर हुन्छ ?
— विश्वका अमेरिकालगायत देशमा पनि यस्तो देखिएको छ । दुई वटा पार्टी नै मुख्य रूपमा देखिएका मुलुकहरू छन् । नेपालको कुरा गर्ने हो भने यदि दुई तीन दल मात्र रहन एभने देशका लागि अहितकर हुन्छ भनेर भन्न मिल्दैन । भारतमा पनि यस्तै देखिएको छ ।


० राजपा र फोरमले छुट्टै गठबन्धन बनाउने निर्णय गरेका छन् । यो निर्णय कस्तो लाग्यो ?
— ठिक लाग्यो । यो गठबन्धनले कमसेकम प्रदेश नम्बर दुईमा स्थिरता ल्याउँछ । मधेश आन्दोलनले प्रतिनिधित्व खोजेको थियो, नेतृत्वमा आफ्नो अनुहार खोजेको थियो । पक्कै पनि यी दुई दल गठबन्धन बनाएर अघि बढ्यो भने मधेश आन्दोलनको भावनालाई समेटेको सहजै भन्न सकिन्छ ।


० दलहरूबीचको धु्रवीकरणले छिमेकी मुलुक भारतसँगको सम्बन्धका कस्तो असर पार्ला ?
— अहिलेको धु्रवीकरणले खासै फरक पार्दैन । किन भने अहिलेको धु्रवीकरण चुनाव केन्द्रित हो । चुनावपछि धु्रवीकरण कस्तो रूप लिन्छ, त्यसपछि मात्र अरू कुरा भन्न सकिन्छ ।

प्रकाशित मिति : २०७४ साल असोज २७ गते शुक्रबार ।

(मधेशवाणीका लागि अजय साह शिवालीले गरेको कुराकानीको सम्पादित अंश)


Loading...

Contact Us

Address:Madhesh Media House, Hanumansthan Chowk, Anamnagar, Kathmandu Nepal

Phone: 0977-1-4266141

Fax: 0977-1-4266141

Email: madheshvani@gmail.com