मधेशमा योग्य उम्मेदवार चयन गर (सम्पादकीय)

पर्वको उल्लाससँगै राजनीतिक सरगर्मीले राष्ट्रिय राजनीति तातेको छ । दलहरू आसन्न प्रदेश तथा प्रतिनिधि सभाको चुनावी तयारीमा व्यस्त छन् । चुनावी नजिता आफूतिर पार्न तालमेल, मोर्चाबन्दीलगायतका रणनीति बनाउन जुटेका छन् । सँगै पहिलो चरणको निर्वाचनका लागि उम्मेदवारको मनोनयन दर्ता छनोट र घोषणाका क्रम पनि सुरू भइसकेका छन् ।
उम्मेदवार छनोटको अभ्यास हुँदै गर्दा नेता तथा कार्यकर्ताको दौडधूप त्यही मात्रामा बढेको छ । आकांक्षी धेरै हुँदा तिनको व्यवस्थापनसँगै योग्य उम्मेदवार चयन दलहरूका लागि चुनौतीपूर्ण देखिएको छ । सबैजसो ठूला दलमा गुट र नेताको फेरो समातेर उम्मेदवार बन्ने प्रवृत्ति छ र त्यसको होड नै चलेको छ र यस्तो प्रवृत्ति मधेशी दलहरूमा पनि देखिएको छ । शीर्षनेताका घरमा बिहानैदेखि लाग्ने भीडभाडले त्यो प्रवृत्ति बढिरहेको प्रस्ट हुन्छ । यो पृष्ठभूमिमा उम्मेदवार तोक्ने अधिकार प्राप्त राजनीतिक नेतृत्वसामु ठूलो जिम्मेवारी छ । त्यसमा संवेदनशील हुनु जरूरी छ ।
मधेशका शीर्ष नेतृत्वले चाहँदा सिफारिसमै नपरेका आकांक्षी पनि उम्मेदवार छनोट भएका दृष्टान्त भेटिन्छन् । हालै तीन चरणमा सकिएको स्थानीय तह निर्वाचनमा पनि कतिपय उम्मेदवारको छनोट योग्यताका आधारमा नभई गुट र नेतासँगको सम्बन्धका आधारमा भएको भनेर असन्तुष्टि र आलोचना भएका थिए । खास गरी समानुपाति निर्वाचनका लागि आफू निकटलाई उम्मेदवार बनाउने मधेशी नेताहरूको विगतको यी विसंगति र कमजोरी सुधार्दै नेतृत्वले अहिले उम्मेदवार तोक्ने उचित मापदण्ड बनाएर सही अभ्यास गर्न सक्नुपर्छ ।
मधेशी नेतृत्वले हरेक कार्यकर्तालाई सन्तुष्ट पार्न सक्दैन । तर उम्मेदवार तोक्दा दलहरूले केही आधारभूत विषय हेर्नु उचित हुन्छ । विवादास्पद छवि नभएका, जनस्तरमा लोकप्रिय र विषयवस्तुमा उत्तिकै ज्ञान भएका पात्र उम्मेदवार तोकिए भोलि नेतृत्वमा पुग्दा जिम्मेवारी बहन गर्न सक्छ । त्यसकारण राजनीतिक सक्रियतासँगै उम्मेदवारको क्षमतालाई पनि मुख्य मापदण्ड बनाइनु आवश्यक छ ।
नेपालमा उम्मेदवार छनोट निश्चित मापदण्डका आधारमा खासै हुँदैन । धेरैजसो उम्मेदवारको योग्यता चुनावमा पैसा खर्च गर्न सक्ने, नेतानिकट वा गुटको सदस्य आदिमा सीमित हुँदै गएको छ । दलहरूले उचित मापदण्डसहित योग्यलाई प्राथमिकता दिँदै उम्मेदवार छनोट गर्ने प्रवृत्तिको विकास गर्न नसक्दाको सीधा असर समग्र राजनीतिक प्रणालीमै पर्छ ।
त्यसकारण भाषण र दस्ताबेजहरूमा मात्रै होइन, उम्मेदवार छनोट गर्दा नेतृत्वले व्यवहारमै हाम्रा होइन राम्रालाई अवसर दिनुपर्छ । आम मतदाताले पनि सही उम्मेदवार चुन्ने अवसरलाई उपयोग गर्न सक्नुपर्छ । आफ्नो निर्णय पश्चात्ताप लाग्ने खालको बन्न नदिन मतदाताले पनि योग्य उम्मेदवार छनोट गर्न सक्नुपर्छ ।


प्रकाशित मिति : २०७४ साल कात्तिक ८ गते, बुधबार ।


Loading...

Contact Us

Address:Madhesh Media House, Hanumansthan Chowk, Anamnagar, Kathmandu Nepal

Phone: 0977-1-4266141

Fax: 0977-1-4266141

Email: madheshvani@gmail.com