भारतको विरोध गरेर राष्ट्रियता बलियो हुँदैन : डा. राजन भट्टराई, सदस्य, नेपाल–भारत प्रवुद्ध व्यक्ति समूह

० हालै सम्पन्न नेपाल–भारत प्रबुद्ध व्यक्ति समूहको पाँचौ बैठकले के ठोस निर्णयहरू गरेको छ ?
— नेपाल–भारत प्रबुद्ध व्यक्ति समूह दुई वर्षका लागि गत वर्ष जुलाईमा गठन भएको हो र आउने वर्षको जुलाईसम्म यसको म्याद रहेको छ । नेपाल र भारतको सम्पूर्ण पक्षलाई अध्ययन गरी र त्यसमा पुरनावलोकन गर्दै त्यसपछि नेपाल भारतको सम्बन्ध कस्तो हुनु पर्दछ त्यसको लागि यो समूह गठन भएको हो । हामीले अहिलेसम्म पाँच ओटा बैठक सम्पन्न गरेका छौँ । हामीले ती पाँच ओटै बैठकमा सबै विषयमा छलफल गरेका छौँ । सन् १९५० को सन्धि देखी लिएर, दुई देशको सार्वभौम, दुई देशबीचको जलस्रोतको साझेदारीको कुराहरू, दुई देश बीचको शान्ति सुरक्षा, दुपक्षीय नीति र नेपाल–भारतको सीमा व्यवस्थापनसम्मका विषयमा हामीले गहन भएर छलफल गरेका छौँ । यो छलफलबाट हामी के निष्कर्षमा पुगेका छौँ भने यो सकारात्मक दिशा तर्फ अगाडी बढेको छ । अहिले एकले अर्काको कुरा बुझ्ने ठूलो मद्दत पुगेको छ । बैठकबाट क्रमिक रूपमा रिपोर्टहरू बुझाउनु पर्ने हुन्छ । भारतबाट चार जना र नेपालबाट चार जना गरि हामीले एउटै रिपोर्ट पेश गर्छौं । हाम्रो कोशिस अधिकतम एउटै धारमा रिपोर्ट बनाएर पेश गर्ने रहेको छ ।


० स्थलमार्गबाट पनि आवत–जावत गर्नका लागि प्रवेशपत्र लागू गर्ने कुराहरू बाहिर आइरहेको छ, यथार्थमा के हो ?
— त्यस्तै गर्नु पर्ने कुरा आएको होइन । हामीले सीमाको कुरा ग¥यौं । त्यसमा छलफल गरिसकेपछि के कुरा आयो भने हवाई मार्गबाट आवत जावत गर्दा एउटा नियम र स्थलमार्गबाट आउँदा जाँदा अर्को नियम छ । यस्तो दोहोरो व्यवस्था संसारको कुनै पनि मुलुकमा छैन् । कुनै न कुनै परिचयपत्र देखाउनु पर्ने हुन्छ तर नेपाल र भारतको सन्दर्भमा यस्तो नभएपछि यसलाई कसरी नियमन गरी एकरूपता कामय गर्ने । यो विषयमा के गर्दा उपयुक्त हुन्छ र कुन प्रकारको नियम लगाउँदा उपयुक्त हुन्छ भनेर बैठकमा छलफल भएको हो । भारतले आफ्नो तर्फबाट क्रमिक रूपमा सुधार गरिरहेको अवस्था छ । उनीहरूले आफ्नो सुरक्षा व्यवस्था राम्रो बनाई रहेको अवस्था छ । अब नेपालले पनि यी विषयमा सोच्नु पर्ने बेला आएको हो । भारतले हरेक ३ किलोमिटरमा एसएसबीलाई बस्ने व्यवस्था गरिसकेको छ । तर हाम्रो तर्फबाट हामीले केही गरेका छैनौँ । त्यसैले यो प्रकारको असंगतिहरू उतापटी हुदैँ जाने र यतापटि केही नगर्ने जस्तो छ । यति मात्रै नभएर, सीमामा पनि अपराधिक गतिविधीहरू बढेको अवस्था छ । तस्करीहरू भयावह मात्रामा बढेको र नियन्त्रण कसरी गर्ने भन्ने विषयमा गम्भीर हुने अवस्था छ । भारतीय नक्कली मुद्राहरूको कारोबार पनि भइरहेको छ । यसलाई कसरी व्यवथापन गर्ने भनेर विषय उठिरहेको छ । यसको समाधान गर्ने विषयमा पनि हाम्रो छलफल भइरहेको छ । तर यो विषयमा कुरा भइरहँदा सीमा नाकामा बसोवास गर्ने नागरिकलाई आवत जावतको सहजतामा कुनै असर नपरोस् भन्नेमा दुबै पक्ष चनाखो हुनुपर्छ ।


० तपाईंले भने जस्तै सीमा क्षेत्रमा तस्करीको अवस्था विकराल छ । तर सीमा नाका नजिकै रहेको प्रहरी र प्रशासनले किन नियन्त्रण गर्न नसकेको हो ?
— प्राशासन र प्रहरी फरक कुरा हो । उनीहरू गस्तीको लागि सीमा नाकामा जाने गर्छन्  । तर भारत तर्फबाट सीमासँगै एसएसबीलाई तैनात गराइएको छ । त्यसरी नै नेपालबाट पनि सुरक्षा व्यवस्थाको बन्दोबस्त गर्नुपर्ने आवश्यता रहेको छ । नेपालको तर्फबाट पनि सशस्त्र प्रहरी बल ३० किलोमिटरको दुरीमा रहेको छ । एकचोटी राउण्ड लगाउन जान्छ फेरी फर्केर आइहाल्छ । भारतले जसरी हरेक दुई–तीन किलोमिटरमा एसएसबीको लागि क्याम्प बनाएको छ त्यसरी त हाम्रो तर्फ छैन । यो अवस्थाबाट गलत तत्वहरूले फाइदा उठाईरहेका छन् । त्यो हुन नदिन र सँगै त्यहाँ बसोवास गर्ने दुबै देशको नागरिकलाई कुनै अप्ठ्यारा नपरोस् भन्ने तर्फ हाम्रो छलफल भइरहेको छ ।


० सीमा–नाकाहरूको स्तम्भ हराएको छ, अब फेरि सीमाका स्तम्भ हाल्नेदेखि लिएर व्यवस्थापन गर्न कस्तो योजना रहेको छ ?
— नेपाल र भारत दुबै सार्वभौमसत्ता सम्पन्न मुलुक हो । दशगजा क्षेत्रदेखि लिएर कतिपय यस्ता क्षेत्र पनि छन् जहाँ नेपाल र भारतबीचमा रहेको स्तम्भहरू हराएका छन् । कतिपय ठाउँमा नेपाल मिचिएको छ भने कतिपय ठाँउमा भारतले नेपालको भूमि अतिक्रमण गरेको छ । हराएको स्तम्भहरूलाई पनि व्यवस्थापन गर्नु पर्ने अवश्यकता रहेको छ । यी सबै ठाउँलाई अन्तर्राष्ट्रिय मापदण्डअनुसार बनाउनु पर्छ । त्यहाँको जनताको सुरक्षाको कुरा, उनीहरूको भौतिक पूर्वाधारको लागि बाटोघाटो, स्वास्थ्य शिक्षा, बिजुली सबैको राम्रो व्यवस्थाका लागि दुबै देशले ध्यान दिनु पर्ने देखिन्छ । दुबै देशका नागरिकहरूबीच विभिन्न प्रकारका सम्बन्धह रहेको छ । तर बजार, अस्पताल, सबैको उपयोग दुबै देशका नागरिकले राम्ररी गर्न सकोस भन्ने पक्षमा पनि दुबै देशले ध्यान दिनु पर्ने रहेको छ ।


० नेपाल–भारतबीच सीमा नाकामा विभिन्न प्रकारका समस्याहरू रहेका छन्, त्यसलाई भारतले कुन रूपमा व्यवस्थापन गर्ने योजना बनाएको छ ?
— भारतको तर्फबाट उहाँहरूको समस्या के रहेको छ भने अपराधिक घटना बढेको, भारतीय मुद्रा नेपालमा भेटिएको, भारतमा अपराध गरेर नेपालमा पसेको जस्ता विषयहरू बैठकमा उठाएको छ । यस्ता कुराहरू नियन्त्रण गर्न भारतीय पक्षले बारम्बार भन्दै आइरहेको छ । यसका लागि भारतले सुरक्षा व्यवस्था कडा बनाएको छ । तर हामीले केही पनि गर्न सकेका छैनौ ।


० दुई देशका नागरिकबीच विभिन्न कामले आवत–जावत भइरहन्छ । यसरी परिचयपत्रको व्यवस्ता लागू गरियो भने अप्ठ्यारा पर्दैन ?
— परिचयपत्र सबै नागरिकलाई उपलब्ध गराइसकेपछि मात्रै हामीले यो व्यस्था लागू गर्ने हो । नेपाली र भारतीय नागरिकसँग परिचयपत्र भएपछि मात्रै त्यस्तो हुन्छ । कतिपय देशहरूमा चिप्स कार्ड हुन्छ । एकपटक डिभाइसमा देखाएपछि सबै कुराको जानकारी आउँछ । हङ्गकङ्ग र चीनको बीचमा पनि त्यस्तै आवत जावत हुन्छ  ।


० सीमा क्षेत्रमा भइरहने अपराधिक घटनालाई नियन्त्रण गर्न तारबारको व्यवस्था गर्नुपर्ने आवश्यता छ ?
— मैले तारबारै लगाउनु पर्छ भन्ने तर्फ गएको छैन । तर, यी अपराधिक घटनालाई नियन्त्रण गर्न सीमा नाकालाई व्यवस्थापन गर्नुपर्ने हुन्छ । त्यसका लागि मुख्य–मुख्य नाका बनाएर चेकजाँच व्यवस्था गर्ने कि अरू कुनै विकल्प अपनाउने भनेर दुबै देशबीच समझदारी गरेर गर्नुपर्ने हुन्छ ।


० प्रबुद्ध समूहको पहिलो बैठकले नेपाल–भारतका सम्पूर्ण सन्धि सम्झौता, प्रावधानलाई पुनरावलोकन गर्ने निर्णय गरेको थियो, त्यसमा अहिलेसम्म कस्तो प्रगति भएको छ ?
— समग्र पक्षलाई समेट्ने गरी हामीले ६–७ ओटा विषयमा सघन छलफल गरिरहेका छौँ । कतिपय विषयमा हामी एकदमै नजिक पुगिसकेका छौं । अलि विवादित विषयहरूमा हाम्रो मुलुकलाई घाटा नहुने गरी कसरी अगाडी बढ्ने विषयमा छलफल भइरहेको छ ।


० नेपाल र भारतबीचको सम्बन्धलाई अझै प्रगाढ बनाउन राजनीतिक, सामाजिक लगायतका क्षेत्रबाट कस्तो प्रकारको सहयोग गर्न सकिन्छ ?
— नेपाल र भारतबीच व्यापक र ठूलो सम्बन्ध छ । हामी दुबै सार्वभौमसत्ता र संयुक्त राष्ट्र संघका सदस्य मुलुक हौ । राष्ट्र संघको मान्यताअनुसार हामी अगाडी बढेका छौं । दुबै देशबीचको सम्बन्धलाई अझै गहिरो र फराकिलो बनाउन सक्छौँ । हामीले अब भारतको विरोध गरेर नेपालको राष्ट्रियता बलियो हुन्छ भन्ने कुरा सोच्नु हुँदैन ।

प्रकाशित  मिति : २०७४ साल कात्तिक ८ गते बुधबार ।


(मधेशवाणीका लागि विजय यादवले गरेको कुराकानीको सम्पादित अंश)


Loading...

Contact Us

Address:Madhesh Media House, Hanumansthan Chowk, Anamnagar, Kathmandu Nepal

Phone: 0977-1-4266141

Fax: 0977-1-4266141

Email: madheshvani@gmail.com