नक्कली कम्युनिष्टहरूले मधेशलाई हित गर्दैनन् : रिजवान अन्सारी, अध्यक्ष

नेपाल संघीय समाजवादी पार्टी

० पछिल्लो समयमा दलहरूबीच धु्रवीकरण बढिरहेको छ । यसले अहिले निन्तरता पाएको छ । हालै तपाईंको पार्टीमा पनि अन्य ११ वटा दल एकीकृत भएका छन् । यसलाई कुन रूपमा लिनुभएको छ ?
— एकदमै राम्रो हो । उत्पीडित जनताका शक्तिहरू एकठाउँमा आउनु राम्रो हो । उत्पीडित जनताका लागि यो खुशी र उत्साहको कदम हो । सक्रमणकालीन अवस्थामा पार्टीहरू फुट्नु र जुट्नु स्वभाविक हो । नेपालमा अहिले दुई वटा धार देखा परेका छन् । एउटा धारको नेतृत्व केपी ओलीले गर्दैछन् भने अर्को धारको नेतृत्व शेरबहादुर देउवाले गर्दैछन् । अब यी दुई वटै पार्टीका अगुवाहरूले नेपालमा २००४ सालदेखि शासन चलाउँदै आएका छन् । पञ्चायतको ३० साल निकाल्ने हो भने ४४ वर्ष यिनीहरूले नै शासन चलाएका छन् । यिनीहरूले देशलाई कहाँ पु¥याए भन्ने कुरा नेपाली जनताले मूल्यांकन गर्ने समय आएको छ । २००४ सालमा हाम्रो आर्थिक, सामाजिक, शैक्षिक अवस्था, देशको गरिमा कुन अवस्थामा थियो । र, आज हामी कुन अवस्थामा पुगेका छौं । हामी त्यतिबेला भारत, चीन, मलेसियालगायत देशभन्दा आर्थिक अवस्थामा समान हैसियत राख्थ्यौं । कुनै कुनै देशभन्दा हाम्रो हैसियत राम्रै थियो । देशलाई जर्जर अवस्थामा पु¥याउने र एउटा अग्रगामी संविधानसमेत नेपाली जनतालाई दिन नसक्ने, शुशासन स्थापित गर्न नसक्ने कांग्रेस र एमाले असफल दलहरू छन् । शेरबहादुर देउवा र केपी ओली एउटै सिक्काका दुई पाटा छन् । दुवै यथास्थितिवादी छन् । दुवै असफल भएका छन् । त्यसकारण नेपालमा तेश्रो धारको आवश्यकता थियो । जुन पार्टी नयाँ पुस्ता, नयाँ मोर्चासहितको नयाँ नेपाल बनाउने सोच राखेको छ । हामीले यसको सुरूवात गरेका छौं । हामी विभिन्न पार्टीलाई एकीकृत गरिरहेका छौं । नेपालमा वैकल्पिक राजनीतिक शक्तिको आवश्यकता थियो ।


० तपाईंको छुट्टै धार अरू धारभन्दा कसरी पृथक छ त ?
— सबभन्दा पहिला यो धारले बोली र व्यवहारमा एकरूपता गर्छ । आफ्नो घोषणापत्रअनुसारको कामलाई अगाडि बढाउँछ । देशमा दीर्घ शान्ति स्थापनाका लागि अगाडि बढ्छ । नेपाली जनताबीचको एकतालाई कायम गर्छ । पहाड, मधेश र हिमाललाई एकसूत्रमा बाँध्छ । राजनीतिक स्थिरतालाई कायम गर्छ । राजनीतिक स्थिरता कायम भएपछि मात्र देश समृद्ध हुन सक्छ । युवालाई प्रोत्साहित गर्छ, भ्रष्टाचारविरूद्ध लड्छ । यी सबै काम नयाँ धारले गर्छ । नेकपा एमाले र कांग्रेसले घोषणापत्रको विपरीत काम गर्दै आएका छन् । म जनतालाई के आग्रह गर्न चाहन्छु भने विगतका घोषणपत्रहरू जम्मा पार्नुस् र ती घोषणपत्रअनुसार यी दलहरूले काम गरेका छन् कि छै्रनन् भन्ने कुरा मूल्यांकन गर्नुस् । घोषणापत्रअनुसार काम गरेको छ भने स्वागत गर्नुस्, गरेको छैन भने त्यस्ता दलहरूलाई बहिष्कार गर्नुस् । भाषण एउटा गर्ने, घोषणापत्र एउटा जारी गर्ने र काम अर्कैै गर्ने कांग्रेस र एमाले छन् । राजनीतिको भ्रष्टीकरण, राजनीतिकको आपराधीकरण, जातपात यी सबै कुराभन्दा माथि उठेर नयाँ विचारका साथ अगाडि बढेका छौं ।


० तेश्रो धार कसरी स्थापित हुन सक्छ ?
— यो धारमा जसको मुद्दा छ, त्यसको नेतृत्व छ । अरू धारमा उत्पीडित जनताले धोखा खाँदै आएका छन् । मुद्दा चाहीं उत्पीडित जनताको हुने तर, नेतृत्व चाहीं त्यही उत्पीडकको हुने अवस्था रहेकाले उत्पीडितहरूले धोका खाँदै आएका थिए । उत्पीडित जनताको पार्टी, उत्पीडित जनताको मुद्दा र उत्पीडित जनताको नेतृत्व यो तेश्रो धारमा छ ।


० भनेपछि तपाईंहरू अन्य धारमा समाहित हुने सम्भावना छैन ?
— कांग्रेस र एमालेको मधेशप्रतिको दृष्टिकोण कस्तो छ भन्ने कुरा जगजाहेर छ । वामको आवरणमा नक्कली कम्युनिष्ट पार्टीहरू एक ठाउँमा जम्मा हुँदैमा वाममोर्चा बन्दैन । नक्कली कम्युनिष्टहरूको एउटा जत्था छ । यिनीहरूले मधेशीका साथै नेपाली जनतालाई धोका दिँदै आएका छन् । अर्कोतर्फ कांग्रेस पनि उस्तै छ । यही कांग्रेस सरकारमा रहेका बेला दर्जनौं मधेशी सपूतले सहादत दिनुपरेको थियो । कांग्रेस र एमालेबाट टाउको र छातीमा गोली हान्ने काम भएको छ । एकातर्फ गोली हान्ने र अर्कोतर्फ यिनीहरू नै मधेशी जनतासँग भोट माग्न आइरहेका छन् ।


० तपाईंहरूले आफूलाई तेश्रो धार भनिरहनुभएको छ । तर, मधेशमा राजपा र फोरम पनि एउटा धार हो नि ?
— धार छ । तर, यो धार कहाँ जाँदैछ । यो धारले अहिलेसम्म आन्दोलनका उपलब्धिलाई गुमाउने काम ग¥यो । प्राप्त उपलब्धिलाई रक्षा गर्न सकेन । आन्दोलनलाई धोका दिएर त्यही संविधानलाई मान्ने काम गरियो । मधेशका नाममा खोलिएका दलहरूले मुद्दालाई दुर्घटना गराएका छन् । पटक पटक धोका दिने अवसरवादीहरूको जमातले मधेशको हित गर्न सक्दैन । सत्ता समर्पण र मुद्दा विसर्जनको राजनीति गर्नेहरूले मधेशलाई हित गर्न सक्छन् भन्ने कुरा सोच्नै सकिँदैन ।

 

 

प्रकाशित  मिति : २०७४ साल कात्तिक ८ गते बुधबार ।


(मधेशवाणीका लागि अजय साह शिवालीले गरेको कुराकानीको सम्पादित अंश)


Loading...

Contact Us

Address:Madhesh Media House, Hanumansthan Chowk, Anamnagar, Kathmandu Nepal

Phone: 0977-1-4266141

Fax: 0977-1-4266141

Email: madheshvani@gmail.com