माओवादीले मधेशलाई धोका दियो : मृगेन्द्रकुमार सिंह यादव

वरिष्ठ नेता, राष्ट्रिय जनता पार्टी, नेपाल

० राजपा र फोरम मिलेर चुनाव लड्ने कुरा भईरहेको छ भने अर्कोतिर फोरमले आसन्न पहिलो निर्वाचनमा कांग्रेससँग गठबन्धन गरेको छ यसलाई कसरी लिनुहुन्छ ?
– लोेकतान्त्रिक शक्तिहरू बीचमा गठबन्धन निर्माण गर्ने कुरा भईरहेको छ त्यसै अनुरूप हामी अगाडि बढेका छौं । सिट बाँडफाँड लगायत अन्य विषयहरूमा सहमतिमा पुगियो भने गठबन्धनको लागि कुनै समस्या हुँदैन ।


० राजपा र फोरम मात्र मिलेर जाँदा ठिक होला कि ? कांग्रेसलाई पनि साथ लिएर जानुहुन्छ ?
– लोकतान्त्रिक शक्तिहरू सबै एक ठाउँमा उम्भिनुपर्ने हो त्यसैले कांग्रेसलाई पनि समेटेर जाँदा ठिक हुन्छ । वामपन्थीहरूको नियत ठिक छैन । संघीयता, संसदीय व्यवस्थामाथि खतरा हुनसक्छ त्यसैले लोकतान्त्रिक शक्तिहरू एक ठाउँमा आउनुको विकल्प छैन ।


० निर्वाचनको समयमा विभिन्न पार्टीहरूको बिचमा गठबन्धन बन्नुलाई तपाईले कुन रूपमा लिनुभएको छ ?
– यो त ठिक हो । यो आवश्यकता र बाध्यता पनि हो ।


० यो आवश्यकता र बाध्यताको बिच मधेशको एजेण्डामा कस्तो किसिमको असर पार्न सक्छ ?
– मधेशको एजेण्डामा असर पर्नेगरी हामी कुनै पार्टीसँग एकीकरण गर्दैनौं । जुनसुकै पार्टीसँग एकीकरण भएपनि हामी मधेशको मुद्दामा अडिग रहन्छौं ।


० नेकपा माओवादी केन्द्रले सुरूमा मधेशकै एजेण्डालाई समर्थन जनाउँदै आएको थियो । तर, त्यही नेकपा माओवादी केन्द्र अहिले एमालेसँग गठबन्धन गरेर अगाडि बढिरहेको छ , एमाले संविधान संशोधनको विपक्षमा रहेको छ यस्तो किसिमको मिलनलाई कुन रूपमा लिनुहुन्छ यसले गर्दा मधेशको एजेन्डा वा संविधान संशोधनमा कस्तो किसिमको प्रभाव पार्छ ?
– कम्युनिष्टहरू आफ्नो फाईदाको लागि आवश्यकता अनुसार जुनसुकै पार्टीसँग गठबन्धन गर्न तयार हुन्छन् । कम्युनिष्टहरू झुट बढी बोल्छन् प्रचण्डजीले मधेशसँग मेरो लभ परेको छ भन्दै हिड्नुहुन्थ्यो कहाँ गयो अहिले त्यो लभ । त्यो उहाँले तत्कालिन फाईदाको लागि बोल्नुभएको थियो ? अहिले मधेशको सबभन्दा प्रमुख शत्रु एमालेसँग गठबन्धन गरेर आफ्नो फाईदा लागि हिडेँका छन् ।


० त्यसोभए माओवादीले मधेशको माग सम्बोधन होस् भन्ने नचाहेकै हो त ?
– चाहेको भए त भईहाल्थ्यो  । मधेशको माग सम्बोधन हुन नदिने एमालेसँग गठबन्धन गर्नु भनेको मधेशलाई धोका दिनु हो ।


० पहिले एमाले मधेशको मुद्दामा कठोर थियो अब माओवादी पनि त्यही कित्तामा देखिँदैछ अबको दिनमा संविधान संशोधन होला त ?
– कुन पार्टीले मधेशको माग संविधान संशोधनलाई विफल बनाउन भूमिका खेल्यो त्यो त जनताले बुझ्छन् नि । मधेशी जनताले संविधान संशोधन गरेर मधेशको माग सम्बोधन गर्नुपर्छ भन्ने लोकतान्त्रिक पक्षलाई भोट दिन्छ कि मधेशलाई अधिकार दिनु हुँदैन भन्ने पक्षलाई भोट दिन्छ त्यो हेर्ने समय आउँदैछ ।


० अबको दिनमा एमालेलाई नेकपा माओवादीले आफ्नो कित्तामा उभ्याउनसक्छ वा माओवादी केन्द्र एमालेको कित्तामा जाने सम्भावना बढी छ ?
– माओवादी केन्द्र एमालेको कित्तामा गईसक्यो । सूर्य चुनाव चिन्ह लिएर लड्दैछ । अब संविधान संशोधनको पक्षमा माओवादी रहँदैन । लोकतान्त्रिक गठबन्धन संविधान संशोधनको पक्षमा रहन्छ । मधेशी जनताले संविधान संशोधनको पक्षमा रहेको गठबन्धनलाई भोट हाल्छ र हामी जितेर आउँछौं त्यसपछि संविधान संशोधन हुन्छ ।


० तपाईहरूले भन्दै आउनुभएको थियो कांग्रेस, एमाले र माओवादी सबै एउटै हुन् यिनीहरू कोहीले संविधान संशोधन गर्न चाहँदैनन् भनेर तर अहिले कांग्रेसलाई कसरी फरक पाउनुभयो र गठबन्धन बनाउन अग्रसर हुनुभयो ?
– कांग्रेसले संविधान संशोधनको प्रस्ताव दर्ता त गराएको थियो नि यो पनि विश्वास गर्ने एउटा आधार हो । कांग्रेसमाथि अहिलेसम्म विश्वास गर्ने आधार रहेको छ कुनै दिन कांग्रेसले पनि मधेशलाई धोका दियो भने विरोध गर्ने नै छौं ।


० नेपाल र भारत बिचको सम्बन्धलाई कसरी हेर्नुहुन्छ ?
– नेपाल र भारतको सम्बन्ध आजदेखिको होईन हामीबिच रोटीबेटीको सम्बन्ध छ । सबै देशहरूबीच राम्रो सम्बन्ध राख्नुपर्छ तर भारतसँग हाम्रो विशेष सम्बन्ध छ अझ मधेशसँग त छुट्टै खालको सम्बन्ध छ । नेपाल र भारतको सम्बन्ध भनेको जनता–जनता बीचको सम्बन्ध हो यसलाई कसैले नराम्रो बनाउन सक्दैन ।


प्रकाशित  मिति : २०७४ साल कात्तिक ८ गते बुधबार ।


(मधेशवाणीका लागि अजय साह शिवालीले गरेको कुराकानीको सम्पादित अंश)


Loading...

Contact Us

Address:Madhesh Media House, Hanumansthan Chowk, Anamnagar, Kathmandu Nepal

Phone: 0977-1-4266141

Fax: 0977-1-4266141

Email: madheshvani@gmail.com