मधेशमा चुनावी गठबन्धन : मिसन कि फेसन ? (सम्पादकीय)

दोस्रो चरणमा मंसिर २१ गते हुने प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनको उम्मेदवारी दर्ताको पूर्व सन्ध्यामा मधेशको शक्तिको रूपमा उदाएको संघीय समाजवादी फोरम नेपाल र राष्ट्रिय जनता पार्टी नेपालले एक आपसमा तालमेल गरेर सँगै निर्वाचन लड्ने औपचारिक सहमति गरेका छन् । निर्वाचनमा मधेशी दलहरूको अग्रता कायम राख्न यस्तो निर्णय भएको हो । चुनावमा मात्रै नभएर समान विचारका शक्तिकै एकीकरण हुनुपर्ने बहस बेलाबखत हुने पनि गरेको छ । फुटको राजनीति धेरै गरेको मधेशी दललाई अब जुटको राजनीति गर्नु पर्ने आवश्यक्ता देखिन्छ । यस्ता जुट र फुट हुँदै आउँदा मधेशकोे समग्र राजनीति नै नराम्ररी थलिँदैछ । यद्यपि मधेशी विचारप्रतिको आम आर्कषण भने कम भएको छैन् । परम्परागत सामाजिक–आर्थिक–राजनीतिक संरचनाको विरोध गर्ने स्वभावका कारण पनि मधेश विचारधाराप्रति मानव आकर्षण बढी नै रहन्छ ।
उच्च गरिबी, बेरोजगारी र सम्पत्ति एवम् स्रोतको अन्यायपूर्ण वितरण भएको अवस्थामा मानिस स्वभावैले पहिले समताको अभ्यास गर्न चाहन्छ । आफूले पनि उचित स्थान अनि अधिकार पाउनुपर्ने एजेन्डामा आकर्षित हुन्छ । उनीहरूको संचारण अभ्याससमेत तीव्र रहन्छ । नेपाल त्यही अवस्थामा भएकाले सामान्य मानिसहरू मधेशी दलको विचारमा बढी आर्कषित हुनु स्वाभाविक हो ।
नेपालमा प्रजातन्त्रको अभ्युदय (२००७) आसपासदेखि नै मधेशको हक अधिकारको आवाज उठेको हो । त्यस पछि त्यसको विरासत २०४६ सालमा गजेन्द्रनारयण सिंहले लिएपछि मधेशको नाममा राजनीति पसल थाप्ने होडबाजी नै चल्यो ।
त्यसपछि विराट बन्नुसट्टा उनीहरू उराठ लाग्ने कमजोर बन्यो । परिणाम दोस्रो संविधानसभा आउँदा आउँदै उनीहरू निकै कमजोर भए । नेपालमा यस्ता पार्टी निश्चित मिसनभन्दा कुनै फेसनमा आधरित भएर खुलेका देखिन्छन् । तर, बहुमत मधशी नागरिक मधेशी दलको विचारसँग सहमत हुँदाहुँदै मधेशी शक्तिहरू एकै ठाउँमा उभिन नसक्नु दुर्भाग्य नै हो ।
वास्तवमा मधेशी पार्टीहरूसँग न त कुनै मार्ग निर्देशक सिद्धान्त छ न त निश्चित कार्यक्रम नै । अधिकांशसँग अबको ५, १०, वा १५ वर्षमा मधेशको सामाजिक, आर्थिक, राजनीतिक, सांस्कृतिक परिवर्तन कुन गति र आयतनमा हुन्छ भन्ने आकलन छैन् अनि त्यसो गर्ने क्षमता र सोच पनि छैन । विगतमा पनि मधेशी दलहरू जनताका लागि हुन सकेनन् । उनीहरूको अहिलेसम्मको दर्शन खाली सत्ता, शक्ति र स्वार्थ मात्र रह्यो ।
लुट्नलाई फुट्नु र लुट्न नसक्दामात्र जुट्नु मधेशी नेताहरूको नियम र नियत बन्यो । वास्तवमा सफल, उन्नत र विकसित मधेशको सपना देख्ने होे भने पहिले सबै मधेशी दल एक ठाँउमा उभिनुपर्छ । उनीहरूको मार्गदर्शक सिद्धान्त, लक्षित नागरिक र उद्देश्य एउटै हुनुपर्छ । देशको विकास र परिवर्तन मधेशी नेतृत्वबाट पनि सम्भव छ भन्ने देखाउनु पर्छ । तर, जनतालाई बुझ्ने योजना नदिए र विश्वास गर्नसक्ने गरी उनीहरू एक नभए जनताले पत्याउँदैनन् ।
त्यसैले आगामी निर्वाचनमार्फत मधेशी दलहरू स्पष्ट योजना, राम्रा कार्यक्रम, तिनलाई पूरा गर्ने कार्य प्रणाली र विश्वासिला उम्मेदवार दिएर नागरिकको मन जित्नु पर्छ । चुनावी फेसनका लागि नभई देशको विकास र नागरिक सम्पन्नताको ‘मिसन’का लागि एकता भए त्यो स्वीकार्य हुनेछ । अरूलाई हराउन हैन, देशलाई बनाउन हुने एकता आवश्यक छ ।


प्रकाशित मिति : २०७४ साल कार्तिक १७ गते, शुक्रबार ।


Loading...

Contact Us

Address:Madhesh Media House, Hanumansthan Chowk, Anamnagar, Kathmandu Nepal

Phone: 0977-1-4266141

Fax: 0977-1-4266141

Email: madheshvani@gmail.com