वाम गठबन्धन सत्ता प्राप्तिका लागि मात्र हो – आशा चतुर्वेदी

महिला नेतृ तथा पूर्वसांसद

० नेपाल लोकतान्त्रिक फोरम नेपाली कांग्रेसमा विलय भइसकेपछि तपाई कुन दलमा आबद्ध हुनुहुन्छ ?
— नेपाल लोकतान्त्रिक फोरम नेपाली कांग्रेसमा विलय भएपछि म कुनै दलमा आबद्ध भएको छैन् । म स्वतन्त्र रूपमा देश र जनताको लागि सक्रिय रूपमा राजनीति गर्दैछु । हाम्रो अध्यक्ष विजयकुमार गच्छदारले हामीसँग कुनै छलफल नगरी कांग्रेसमा प्रवेश गर्नुभएको हो ।


० पार्टीलाई काँग्रेसमा विलग गर्ने गच्छदारको एकल निर्णय थियो ?
— म पारिवारिक कामले बाहिर थिएँ । उहाँले कतै बैठक गर्नुभएको होला । मलाई जानकारी छैन् ।


० विजय गच्छदारले कांग्रेससँग पार्टी एकीकरण गरेकोमा केही नेताहरूले असन्तुष्टी जनाउँदै पार्टी यर्थावत नै रहेको भन्दै आएका छन् नि ?
— गच्छदारजीले कांग्रेससँग केही मौखिक सहमति गरेर जानुभएको होला । तर, लिखित सहमति भएको हामीलाई कुनै जानकारी छैन् । पार्टी यथावत् राख्ने कि विघटन गर्ने भन्ने विषयमा अहिलेसम्म प्रष्ट भइसकेको छैन् । अध्यक्षज्यूबाट केही जानकारी हामीलाई प्राप्त भएको छैन् ।
० तपाई नेपाल लोकतान्त्रिक फोरममा नै फर्कने मनस्थितिमा हुनुहुन्छ कि काँंग्रेसमा जानुहुन्छ ?
— मैले अहिलेसम्म कुनै निर्णय लिईसकेको छैन् । लोकतन्त्र र राष्ट्रियताको नाममा ठूला ठूला पार्टीका नेताहरूले आफ्नो व्यक्तिगत स्वार्थ पूरा गरिरहेका छन् । ३ करोड जनताले संघर्ष गरेर हजारौं जनाको बलिदानीबाट प्राप्त लोकतन्त्रलाई धरापमा पार्ने र जोसँग जसरी मिलेर भए पनि सत्ता प्राप्त गर्ने उद्देश्यले उनीहरू अगाडि बढिरहेका छन् । लोकतन्त्र र राष्ट्रियता खतरामा पर्दै गएको मैले अनुभव गर्न थालेको छु । मधेशको आत्मसम्मान, स्वाभिमान र अधिकारको मुद्दा लिएर म राजनीतिमा आएको हुँ । अहिलेसम्म यहि मुद्दालाई इमान्दारिताका साथ निर्वाह गर्दै आएकी छु ।


० तपाईले अबका दिनमा आफ्नो राजनीतिक यात्रालाई कसरी अगाडि बढाउनुहुन्छ ?
— म एउटा स्वच्छ राजनीति गर्ने व्यक्ति हुँ । मेरो आत्मसम्मान जहाँ हुन्छ, जहाँ मैले आफूले बोकेको विचार, सिद्धान्त पूरा हुन्छ, त्यहीँ गएर सेवा गर्न चाहन्छु । संविधानमा आफ्नो अधिकार सुनिश्चित गर्न नसकेका, पछाडि परेका वा पारिएका समूदायको लागि काम गर्ने पार्टीमा म जान सक्छु ।


० तपाईको कुनै पार्टीमा प्रवेश गरेर विचार छ कि स्वतन्त्र नै बस्नुहुन्छ ?
— म अहिले कुनै पार्टीमा प्रवेश पनि गर्दिन । मेरो आफ्नो सिद्वान्त, विचार, नीति छ, जहाँ अनुकुल हुन्छ त्यहाँ जान म विचार गर्छु ।


० तपाईहरूको पार्टी अध्यक्ष विजय कुमार गच्छदार कांग्रेस पार्टीमा प्रवेश गरिसकेपछि उहाँको आगामी दिनको राजनीतिक भविष्य कस्तो देख्नुभएको छ ?
— विजय कुमार गच्छदार मात्र होइन अन्य ठूला दलका ठूला नेताहरूलाई भन्न चाहन्छु–जब जनताको विश्वास उहाँहरू माथि हुँदैन तब उहाँहरूको भविष्य अन्योल नै हुनेछ । जनता र देशलाई धोका दिने, आफू मात्र सधैं कुर्सीमा बसिरहने हो भने यस्ता नेताहरूको भविष्य त समयले नै निर्धारण गर्नेछ ।


० प्रदेशसभा र प्रतिनिधिसभाको निर्वाचन नजिकिँदै छ, तपाईले यो निर्वाचनलाई कसरी हेर्नुभएको छ ?
— म पनि लोकतन्त्रको पक्षपाती हुँ । प्रत्येक नागरिकले स्वतन्त्र रूपमा आफ्नो मताधिकारको प्रयोग गर्न सकोस् भन्ने धारणा भएको व्यक्ति म हुँ र चुनावलाई सकारात्मक रूपमा लिएको छु । यो चुनावलाई सफल पार्नुपर्छ । देशले राजनीतिक रूपमा स्थायित्व पाउनुपर्छ, देश जहिले पनि यस्तै उथलपुथलको अवस्थामा रहन सक्दैन । त्यसैले राजनीतिको निकास आवश्यक छ ।


० सम्भवतः यहि चुनावलाई नै लक्षित गरी माओवादी केन्द्र र नेकपा एमालेबीच गठबन्धन भएको छ र यो बाम गठबन्धनलाई कुन रूपमा हेर्नुभएको छ ?
— २०४६÷४७ को आन्दोलनदेखि प्रजातन्त्र, लोकतन्त्र हुँदै गणतन्त्र आइसक्यो । सबैलाई थाहा छ कि यो सबै सत्ताको लागि भइरहेको खेल हो । आफ्नो राजनीतिक भविष्य सुरक्षित राख्न र परिवारका सदस्यलाई स्थान दिन भएको एउटा सहमति मात्र हो ।


० मधेशकेन्द्रित दलहरूको राजनीतिलाई कुन रूपमा हेर्नुभएको छ ?
— कुनै पनि पार्टीमा इमान्दारिता छैन् । प्रदेशसभा र प्रतिनिधिसभाको निर्वाचनमा टिकट वितरणको विषयमा जुन अन्योलता भएको छ यसमा मलाई अचम्म लागेको छ । जो मान्छे प्रजातन्त्रका लागि आन्दोलनदेखि मधेश आन्दोलन हुँदै लोकतन्त्र र गणतन्त्रको आन्दोलनमा पनि सक्रिय भएर आफ्नो राजनीतिक यात्रा अगाडि बढाएको थिए आज उनीहरूलाई टिकट नदिएर आफ्नो परिवारका सदस्य र नजिकका नातेदारलाई टिकट वितरण गरिएको छ । यो देखेर त हाम्रा राजनीतिक दलहरू माथि नै नैतिक प्रश्न चिन्ह खडा भएको छ ।


० तेस्रो चरणको स्थानीय निर्वाचनमा फोरम र राजपाले जुन किसिमको मत परिणाम ल्यायो त्यसलाई कुन रूपमा लिनुभएको छ ?
— जनताको मतादेश अनुसार हामीले जुन मुद्दाको लागि राजनीति यात्रा सुरूवात गरेका थियौं त्यो मुद्दालाई ज्युँदो राखेर अगाडि बढ्नु पर्छ । जो इमान्दार छ र मधेशको मुद्दाको लागि खटेर काम गरेको छ, पार्टीप्रति समर्पित छ त्यस्ता नेता कार्यकर्तालाई पार्टीभित्र स्थान दिनुपर्छ । उनीहरूको उचित सम्मान गर्नु पर्छ । मिलेर गएर चुनाव लड् भन्ने जनताको मनसाय हो ।


० टिकट वितरणमा जसरी नेता कार्यकर्ताहरूको भागाभागको अवस्था छ यो अवस्थालाई तपाईले कसरी हेर्नुभएको छ ?
— यो एकदम खेदजन्य छ । जो नेता कार्यकर्ता आर्थिक, सामाजिक, शारीरिक रूपमा समर्पित भएर अहिलेसम्म मधेशवादी पार्टीहरूलाई सहयोग गर्दै आएको छ उनीहरूलाई पाखा लगाएर अरूलाई टिकट दिनु उचित होईन ।


० टिकट वितरण हुँदा नेताहरूले आफ्ना आसेपासे र पैसाबालाहरूलाई खोज्ने गरेका छन् । यसले मतदातालाई कस्तो असर पार्छ ?
— मतदाताहरू त विरक्त भएका छन् । आफ्नो क्षेत्रबाट राम्रो उम्मेदवार चयन होस् भन्ने सबै मतदाताको चाहना हुन्छ तर पैसाको भरमा चयन भएका उम्मेदवारलाई मतदाताले कसरी भोट दिने ?


० प्रदेशसभा र प्रतिनिधिसभाको निर्वाचनमा राजपा र फोरमको गठबन्धनले कस्तो किसिमको परिणाम ल्याउन सक्छ ?
— राजपा र फोरमबीच गठबन्धन बन्नु एउटा सकारात्मक कदम हो । मधेशको जनता उत्साहित छन् निर्वाचनलाई लिएर । यो अलिकति सन्तोषको विषय हो । मिलेर निर्वाचनसम्म गए भने परिणाम सकारात्मक आउँछ ।


० चुनावपछि यी दुई पार्टीबीच एकीकरण हुने सम्भावना देख्नुहुन्छ ?
— राजपा र फोरम एक पार्टी हुन्छन् भन्ने मलाई लाग्दैन । अहिलेसम्मको चरित्र हेर्दा यो गठबन्धन चुनावसम्मको लागि मात्र हो जस्तो लाग्छ ।


० एकीकरण नहुनु पछाडि के–कस्ता कारणहरू देख्नुभएको छ ?
— जहाँ पावर र पैसाको मात्र खेल हुन्छ त्यहाँ कोही मिलेर बस्न सक्दैन ।


० मधेशी दलहरूको मुख्य माग भनेको संविधान संशोधन थियो, त्यो तत्कालको लागि स्थगित भइसकेको छ । अब फेरि संविधान संशोधन हुने सम्भावना छ ?
— आश त नगरौं । तर, नकारात्मक सोच धेरै राख्नु पनि ठिक होइन । जति ढिलो भएपनि मधेशको मुद्दा त सम्बोधन गराउनै पर्छ तर समय लाग्छ । प्रदेशसभा र प्रतिनिधसभाको निर्वाचनको परिणाम हेरौं, त्यसपछिका केही गतिविधि आंकलन गरौं अनि निष्कर्ष निकालौंला ।


० मधेश केन्द्रित दलका नेताहरूले एमालेलाई मधेश विरोधी पार्टी भन्ने गरेका छन् तर मधेश केन्द्रित दलका नेताहरू नै पार्टी परित्याग गरी एमालेमा नै किन जान्छन् ?
— राजनीतिक रूपले सबै स्वतन्त्र हुन्छन् । जहाँ उसको विचार, सिद्धान्त मिल्छ र उद्देश्य पूरा हुन्छ त्यहाँ जाने हो । हृदयेश त्रिपाठीको सवालमा म पनि अचम्मित छु ।


(मधेशवाणीका लागि रामसुकुल मण्डलले गरेको कुराकानीको सम्पादित अंश)


प्रकाशित मिति : २०७४ साल कार्तिक १७ गते, शुक्रबार ।


Loading...

Contact Us

Address:Madhesh Media House, Hanumansthan Chowk, Anamnagar, Kathmandu Nepal

Phone: 0977-1-4266141

Fax: 0977-1-4266141

Email: madheshvani@gmail.com