राजपाका लागि उम्मेदवारी फिर्ता : बजरंग नेपाली

नेता, नेपाली कांग्रेस

० तपाईं महोत्तरी क्षेत्र नं. ३ बाट नेपाली कांग्रेसका उम्मेदवार बन्नुभएको थियो । तर, पार्टीले उम्मेदवारी फिर्ता लिएको छ । पार्टीले राजपाका उम्मेदवार महन्त ठाकुरलाई समर्थन गर्ने उद्देश्यले उम्मेदवारी फिर्ता लिनुलाई कुन रूपमा लिनुभएको छ ?
— पार्टीले महोत्तरी क्षेत्र नम्बर ३ बाट उम्मेदवारी लिने निर्णय ग¥यो । तर, मेरो विचारमा यो निर्णय नलिएको भएको राम्रो हुन्थ्यो । नगर्नुपर्ने काम भएको हो । स्थानीय चुनावमा विभिन्न कारण त्यति राम्रो गर्न सकेनौं । तर, अहिलेको क्षेत्रको भौगोलिक अवस्था, जनसंख्याको बनोटको अवस्थालाई हेर्दा नेपाली कांग्रेसले राम्रो प्रतिस्पर्धा दिने र चुनाव जित्ने निश्चित थियो । त्यसकारण नेपाली कांग्रेसले जुन निर्णय लियो, त्यो त्रुटिपूर्ण छ जस्तो मलाई लाग्छ । तर, निर्णय आइसकेको अवस्था छ ।


० अब के गर्नुहुन्छ ?
— मेरो उम्मेदवारी नेपाली कांग्रेसको उम्मेदवारी थियो । कुनै व्यक्तिगत उम्मेदवारी थिएन । पार्टीले र हाम्रो नेताले निर्देशन तथा आग्रह गरिसकेपछि कुरा सकियो । त्यसकारण अब उम्मेदवारीको कुरा गर्नुको मतलब छैन । यो क्षेत्रमा प्रदेशका लागि अन्य दुई जना उम्मेदवार छन् । उहाँहरूलाई सहयोग गर्नु हाम्रो दायित्व हुन जान्छ । उहाँहरूलाई चुनाव जिताउनु अब हाम्रो प्रमुख दायित्व हो । म आफ्नो समयलाई पार्टी हितका लागि उपयोग गर्नेछु ।


० पार्टीको यो निर्णयप्रति कार्यकर्ताको भनाइ के छ ?
— कार्यकर्ताहरू एकदमै निराश छन् । साथीहरू दुखी छन् । उनीहरू आक्रोशित छन् । पार्टीले यो निर्णयले महोत्तरी क्षेत्र नम्बर ३ मा नेपाली कांग्रेसलाई कमजोर पारेको छ । पार्टीलाई कमजोर गरेको छ । नेताहरू पनि अन्यन्तै असन्तुष्ट छन् । यो निर्णयले समग्रतामा अन्यौलको स्थिति निर्माण गरेको छ । मतदाताहरूले धेरै अपेक्षा गरेका थिए । हामीसँग उनीहरूको धेरै अपेक्षा थियो । धेरै मतदाता अन्यौलको अवस्थामा छन् । मलाई सोधिरहेका छन्, के गर्ने भनेर । मलाई बाटो देखाउनुस् भनेर उनीहरूले भनिरहेका छन् ।


० महन्त ठाकुरलाई समर्थन गर्ने भनेर केन्द्रले बाटो देखाइसकेका छन् । अब ठाकुरलाई समर्थन गर्दै तपाईंहरू र तपाईंका मतदाताले मतदान गर्छन् ?
— पहिलो कुरा केन्द्रीय नेतृत्वले कुन किसिमको गठबन्धन गरेको छ भन्ने कुरा बुझिएको छैन । हाम्रो पार्टीले एकतर्फी प्रेम गरेको छ । गठबन्धन गर्नु नै थियो भने त्यही बेला गर्नु पर्दथ्यो । गठबन्धन पनि एकतर्फी हुन्छ ? महन्थ ठाकुरज्यू मेरो आदरणीय–सम्माननीय हुनुहुन्छ । उहाँकै निम्ति मेरो उम्मेदवारी फिर्ता गराइएको हो । मैले प्रतिनिधिसभा त्याग गर्ने अनि उहाँहरू (राजपा–फोरम) ले प्रदेशसभाका दुई सिट त्याग गर्न नसक्ने ? यो कस्तो गठबन्धन हो ? गठबन्धनमा लेनदेन हुन्छ । राजपा–फोरमले महोत्तरी क्षेत्र नम्बर ३ अन्तर्गतका प्रदेशसभाका दुई क्षेत्र छोडेको भए पनि अनि पो हुन्थ्यो ।


० भनेपछि तपाईंको पार्टीको एकतर्फी प्रेमको रणनीति के होला त ?
— मेरो यही जिज्ञासा छ । नेपाली कांग्रेसले प्रेम गर्ने तर, राजपाबाट प्रेमको कुनै प्रस्ताव नआउने । यो कस्तो गठबन्धन ? कांग्रेसले महन्थ ठाकुर र उपेन्द्र यादवका लागि उम्मेदवारी फिर्ता लियो । के राजपाले धनुषा क्षेत्र नम्बर ३ छोड्न सक्छ ? राजपा अध्यक्ष मण्डलका सदस्य राजेन्द्र महतोले त्यो क्षेत्र छोड्न सक्नुहुन्छ ? हाम्रै जिल्लामा शरत्सिंह भण्डारी पनि उम्मेदवार बन्नुभएको छ । के उहाँले हाम्रो पार्टीकी किरण यादवका लागि समर्थन गरेर त्याग गर्न सक्नुहुन्छ । त्यसो भए नेपाली कांग्रेसले कसरी सघाउने ? के राजपाले सहजताको वातावरण बनायो ? कांग्रेसबाट प्रेमको प्रस्ताव छ भने राजपाबाट कुनै प्रतिक्रिया आएको छैन ।


० नेपाली कांग्रेस आफैंले गठबन्धनका लागि हात अगाडि बढाएको हो ?
— यो त केन्द्रलाई नै थाहा होला । यसको जवाफ केन्द्रीय नेतृत्वले नै दिनुहुन्छ । महोत्तरी क्षेत्र नम्बर ३ कै कुरा गर्ने हो भने हामीभन्दा धेरै मत राजपा फोरम गठबन्धनको हुन जान्छ । उहाँहरू त त्यसै चुनाव जिति हाल्नुहुन्थ्यो नि । हामीसँग गठबन्धन नगर्दा पनि त उहाँहरू चुनाव जिति हाल्नुहुन्थयो नि । हामीले लोकतन्त्र र चुनावमा विश्वास गर्ने नेता हौं । प्रतिस्पर्धामा जानुपर्छ भन्ने मान्यता राखेकाले हामी चुनावमा गएका हौं । जहाँसम्म महन्थ ठाकुरज्यूको कुरा छ । महोत्तरी ३ का लागि उहाँको चर्चा धेरे अगाडिदेखि चलेको थियो । समर्थन नै आवश्यक थियो भने पहिला यसका लागि प्रयास गर्नुपर्ने थियो । पछिल्लो गतिविधिले के पुष्टि गर्छ भने उहाँहरूको आत्मविश्वास थिएन । महोत्तरी ३ नम्बरको उम्मेदवारमा राजपा निश्चिन्त भइसक्ने अवस्था थिएन । चुनाव सहज रूपमा जित्नेमा राजपालाई विश्वास थिएन ।


० नेपाली कांग्रेसले आफैं उम्मेदवारी फिर्ताको निर्णय नगरेर राजपाले यो निर्णयका लागि दबाब दिएको हो ?
— मलाई त लाग्छ, यो कुरा । कुनै प्रमाण त छैन । तर, दुवै पार्टीको बीचमा कुनै तालमेल भएको कुरा पनि कहीं आएको छैन ।


० त्यसो भए तालमेल गर्दा केही स्थानमा हामी छोड्ने, केही स्थान तपाईंहरूले छोड्नुस् भनेर सहमति भएको जस्तो लाग्छ ?
— त्यो कुरा हाम्रो नेतृत्वलाई थाहा होला । मलाई सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल र नेता विमलेन्द्र निधिले तालमेल गरेको भनेर भन्नुभएको छैन ।


० शीर्ष नेतालाई सोघ्नुभएन ? तालमेलका कसरी भयो भनेर ?
— हामीले धेरै कुरा आफ्ना नेतृत्वलाई राखेकै हौं । मैले भने तपाईहरूले मलाई उम्मेदवारी फिर्ता लिन भन्नुभएको छ, त्यसो भए जनकपुरको सवालमा के गर्ने त ? भनेर हामीले कुरा पनि उठायौं । महोत्तरी प्रदेशसभा ३–१ र ३–२ मा राजपाले उम्मेदवारी फिर्ता लिने कि नलिने ? यो कुरामा उहाँहरूले केही भन्नु भएन । कांग्रेसले जुन उदारता देखायो । त्यसलाई राजपाले सहज रूपमा लिनुपर्छ ।


० सहमति गरेर कांग्रेसले तालमेल गरेको भए केही कुरा हुन सक्थ्यो । तर, यहाँ त कांग्रेस आफैं अगाडि सरेको देखियो । भनेपछि राजपा–फोरममाथि किन आश ?
— तालमेलका कुरा यसरी हुँदैन । निश्चित रूपमा माथिल्लो तहमा कुरा भएको होला । उच्च तहमा दुवै पार्टीबीच कुरा भएको हो । यो कुरा मलाई पनि अवगत गराइएको छ । यो सहमतिअनुसार मलाई हाम्रो नेतृत्वले निर्देशनात्मक र आग्रहात्मक रूपमा उम्मेदवारी फिर्ता लिन भनेका हुन् । अब उम्मेदवारी फिर्ता भएपछि राजपालाई मतदान गर्ने कि नगर्ने भन्ने प्रश्न उब्जिएको छ । स्वभाविक छ, राजपालाई मतदानका लागि उम्मेदवारी फिर्ता लिइएको हो । तर, यसका लागि राजपाले वातावरण बनाउने कि नबनाउने ? कांग्रेसले त सहज वातावरण बनाइसकेको छ । कांग्रेसको मत लिन उहाँहरू चाहिरहनुभएको छ । कांग्रेसको मतको चाहना छ भने त्यो उदारता र प्रयास उहाँहरूबाट पनि हुनुप¥यो नि । होइन भने कसरी तालमेल हुन सक्छ ?


० महन्थ ठाकुर र उपेन्द्र यादव प्रतिनिधिसभामा आएको अवस्थामा पछि कुनै पनि किसिमको गठबन्धन बनाएर अघि बढ्दा सहज हुने सोचेर नेपाली कांग्रेसले सहयोग गरेको भनिन्छ नि ?
— जसरी यो देशमा वाम गठबन्धनका कुरा आएको छ, त्यसकारणले पनि लोकतान्त्रिक गठबन्धन हुनुपर्छ भन्ने कुराको आवश्यकता सबैलाई महसुस भएकै छ । ठाकुरजीका लागि प्रतिनिधिसभामा आउनकै लागि समानुपातिक र मनोनितको बाटो पनि थियो ।


० अब तपाईं कसरी अगाडि बढ्नु हुन्छ ?
— म लामो समय देखि राजनीतिमा छु । मैले राजनीतिमा धेरै उतारचढाब खेपेको छु । धेरै जेलनेल भोगेको छु । त्यसकारण अहिलेको परिस्थितिलाई सहज र सरल रूपमा संयमका अगाडि बढ्नु पर्छ ।

 

(मधेशवाणीका लागि अजय साह शिवालीले गरेको कुराकानीको सम्पादित अंश)

प्रकाशित मिति : २०७४ साल कार्तिक २४ गते शुक्रबार ।


Loading...

Contact Us

Address:Madhesh Media House, Hanumansthan Chowk, Anamnagar, Kathmandu Nepal

Phone: 0977-1-4266141

Fax: 0977-1-4266141

Email: madheshvani@gmail.com