मधेशमा वाम गठबन्धन भर्सेस अन्य दल (सम्पादकीय)

स्थानीय तहको निर्वाचनमा राम्रो स्थान ल्याएकोे एमाले अहिले मधेशवादी दलको साझा निशानामा छ । एमाले ‘हराऊ अभियान’मा यी सबैको मन मिलेको छ ।
प्रतिनिधि तथा प्रदेशसभाको पूर्वसन्ध्यामा मधेशका चोकचोकका चियागफमा एमाले नै केन्द्रविन्दुमा छ । ‘मधेशमा एमाले सखाप भयो’ भनेर पनि टिप्पणी भइरहेको छ । एमालेका नेताहरूले पटक पटक भन्दै आएको ‘संविधान संशोधन र सीमांकन हेरफेर केही नेताको माग हो । यो मधेशी जनताको माग होइन । संविधान संशोधनका लागि मधेशी जनताले आन्दोलनमा ज्यान गुमाएका होइनन् । विकासका लागि आहुति दिए’ जस्ता भनाइबाट मधेश र मधेशी जनता एमालेको विरोधमा उत्रिएका छन् । खासमा संविधान संशोधनमा सहयोग नगरेकै कारण मधेशमा एमालेलाई शुत्र पार्टीको हेर्ने गरिएको छ ।


कांग्रेस गढ मानिने धनुषामा राजपाको प्रभाव छ । ग्रामीण क्षेत्रमा एमाले पकड छर । मधेश आन्दोलनको केन्द्रविन्दु जनकपुर उपमहानगरलाई सबै दलले प्रतिष्ठाको विषय बनाएका छन् । मधेश आन्दोलन र संविधान संशोधनलाई कारण बनाउँदै कांग्रेस र राजपा जिल्लामा ‘एन्टी एमाले मुभमेन्ट’ छ । कांग्रेस नेता तथा धनुषा क्षेत्र नम्बर ३ का प्रतिनिधिसभाका उम्मेदवार विमलेन्द्र निधिले त ‘मधेशबाट एमालेलाई सखाप गर्न जनतासँग अपिल’ नै गरिरहेका छन् । अहिले सम्पूर्ण मधेशमा राजपा र संघीय समाजवादी फोरमको गठबन्धन एमालेविरूद्ध आक्रामक रूपमा प्रस्तुत भएका छन् । उनीहरूको रणनीति नै ‘एमाले हराऊ’ हो । राजपा मधेश आन्दोलनका भिडियो, आन्दोलनमा मृत्यु भएका कार्यकर्ताको ब्यानर बोकेर मत मागिरहेको छ ।

‘एमालेकै कारण मधेश आन्दोलन लम्बिएको र मधेशी कार्यकर्ताले मृत्यु भएको’ राजपाले आक्रामक चुनावी प्रचार गरिरहेको छ । मधेशी नेताहरू पनि प्रदेश २ मा एमालेको विपक्षमा उभिने केन्द्रको रणनीति रहेको भन्दै त्यसै अनुरूप मतदातासँग मत मागिरहेका छन् । मधेशी गठबन्धनसँग कांग्रेस पनि एमालेसहितको वाम गठबन्धनलाई ‘मधेश विरोधी’का रूपमा चित्रित गरिरहेका छन् ।


मधेशी नेताहरूका अनुसार एमालेविरूद्ध अलि कडा र अन्य दलविरूद्ध आवश्यकताअनुसार रणनीति बनाइएको छ । पहिलो र दोस्रो चरणको स्थानीय तहमा समीकरण गरेका सत्तागठबन्धनका प्रदेश २ को निर्वाचनमा एमाले एक्ल्याउने रणनीति भने सफल भएन । मधेशी दलबीच त्यतिखेर पनि तालमेल हुन सकेन भने आसन्न निर्वाचनमा पनि मधेशी दलहरू लोकतान्त्रिक गठबन्धनबाहिरबाटै चुनावमा होमिएका छन् । लोकतान्त्रिक गठबन्धनमा तालमेल नहुनुमा कांग्रेसको आन्तरिक किचलो रहेको ठम्याइ मधेशी दलहरूको रहेको छ । नेपाली कांग्रेसको राजनीति तराईबाटै शुरू भए पनि अहिले मधेशमा उसको स्थिति कमजोर देखिन्छ । माओवादी र मधेशवादीले ‘मधेश विरोधी’ कित्ताको भनेर कांग्रेसलाई आरोपित गर्दा उसका कार्यकर्ता नै प्रतिरक्षात्मक बनेका छन् । त्यसो हुँदा मधेश–मुद्दामा गम्भीर नबनेको ऊमाथिको आरोप अरू प्रभावी देखिएको छ ।


मधेशी बहुल क्षेत्रमा एमालेको स्थिति अरू दयनीय छ, कांग्रेसलाई जस्तै मधेशका मुद्दालाई बेवास्ता गरेको आरोप लागेका कारण । निर्वाचनको सम्मुखमा वाम गठबन्धनले मधेशमा आक्रामक राजनीतिक कार्यक्रम बढाए पनि आफ्नो विश्वसनीयतालाई जोगाउन भने सकेको छैन, मौका अनुसार जे पनि बोल्ने र जता पनि लाग्ने व्यवहारका कारण । पछिल्लो संविधानसभा निर्वाचनको तथ्यांकको आधारमा कांग्रेस मधेशमा सबैभन्दा ठूलो हैसियत भएको पार्टी हो भने एमाले दोस्रो हो । माओवादी र मधेशी पार्टीहरूको मत लगभग एकै देखिन्छ । त्यही भएर होला संविधान जारी गर्नेे बेलामा मधेशी पार्टीहरूले विरोध गरेपछि प्रमुख दलले उनीहरूको हैसियतको समेत प्रश्न उठाएका थिए तर, आन्दोलन चर्किएसँगै प्रमुख दलका नेताहरूको उपस्थिति मधेशमा निषेधात्मक अवस्थामा पुगेको देखियो ।


मधेशीहरूको आम बुझाइमा अहिले पनि प्रमुख दलहरू मधेशी विरोधी नै हुन् भन्ने देखिन्छ । विश्लेषकहरूका अनुसार एमालेप्रति त निषेधात्मक मनस्थिति अझै देखिन्छ मधेशमा । अन्य प्रमुख पार्टीहरूको हकमा समेत सकारात्मक वातावरण छैन । एमालेमा लागेका गाउँ तहका मधेशी नेता, कार्यकर्ताहरू आज सामाजिक बहिष्करण झेलिरहेका छन् । काठमाडौंले जेसुकै बोलोस् तर आम मधेशीहरू संविधानप्रति अपनत्व ठान्दैनन् यसका कारकका रूपमा एमालेलाई लिन्छन् उनीहरू ।

प्रकाशित मिति : २०७४ साल मंसिर ८ गते शुक्रबार ।


Loading...

Contact Us

Address:Madhesh Media House, Hanumansthan Chowk, Anamnagar, Kathmandu Nepal

Phone: 0977-1-4266141

Fax: 0977-1-4266141

Email: madheshvani@gmail.com