रौतहटको महमदपुरमा प्रहरी र मधेशी गठबन्धन कार्यकर्ताबीच, झडप १८ जना घाइते

राकेश यादव, रौतहट, १५ मंसिर । रौतहट जिल्लाको गरुडा नगरपालिका वार्ड नम्बर ५ महमदपुरमा बिहीबार राति मधेशी गठबन्धन कार्यकर्ता र प्रहरीबीच झडप हुँदा १८ जना घाइते भएका छन् ।

राजप–फोरम गठबन्धनका कार्यकर्ताहरु एक ठाउँमा भेला भएर मधेश आन्दोलन नरसंहारको घटनाको भिडियो प्रदर्शन गरिरहेको सूचना प्राप्त भएपछि गएका प्रहरीले भिडियो बन्द गर्नु पर्यो भने पनि मधेशी गठबन्धनका कार्यकर्ताहरुले बन्द नगर्ने अडान लिएपछि दोहरो झडप भएको हो ।

सामाजिक सदभाव बिगार्ने उद्देश्यले प्रोजेक्टर चलिरहेकोमा बन्द गर्न आग्रह गर्दा मधेशी दलका कार्यकर्ताहरुले सुरक्षाकर्मी माथि ढुङ्गा प्रहार गर्न लाग्दा झडप भएको इलाका प्रहरी कार्यालय गरुडाका प्रहरी निरीक्षक गोविन्द थापाले बताएका छन् ।

झडपमा परी नेपाल प्रहरी र सशस्त्र प्रहरीका १४ जना जवान घाइते भएको थापाले बताए । स्थानीय बेदयानन्द यादवले कोण सभा गर्नका लागि मधेशी दलका कार्यकर्ताहरु एक ठाउँमा भेला भएको र भिडियो चलाउनका लागि सामान राखेको बखतमा प्रहरी एक्कासी आएर हस्तक्षेप गरी लाठी प्रहार गर्न लाग्दा झडपमा परिणत भएको आरोप लगाएका छन् ।

यादवका अनुसार प्रहरीले बल प्रयोग गर्दा विबाद उतपन्न भएपछि झड़पमा परिणत भएको थियो । झडपमा मधेशी गठबन्धनका विनोद राय यादव , प्रमोद दास तत्मा, लक्ष्मी साह कलवार, सुखल राय यादव घाइते भएका छन् ।

झडपको क्रममा प्रहरीले करीव १५ राउण्ड गोली तथा दर्जनौ राउण्ड आसु ग्यास प्रहार गरेका थिए । अहिले अवस्था सामान्य रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

मधेशी दलका कार्यकर्ताहरु निर्वाचनको समय नजिकदै जाँदा विभिन्न गाउँ गाउँमा लामो समय चलेको मधेश आन्दोलनको घटनाको भिडोयो प्रदर्शन गरिरहेका छन् ।

निर्वाचनमा आफ्ना मुद्दाबाट मतदाताहरुलाई भन्नुको साटो आन्दोलनको क्रममा भएको नरसंहारको भिडियो देखाउनाले मानसिक तनाव हुनुको साथै द्वन्द्व हुने सम्भावना बढेर गएको प्रहरीको दाबी छ ।


Loading...

Contact Us

Address:Madhesh Media House, Hanumansthan Chowk, Anamnagar, Kathmandu Nepal

Phone: 0977-1-4266141

Fax: 0977-1-4266141

Email: madheshvani@gmail.com