अब प्रतीक्षा दोस्रो चरण निर्वाचनको (सम्पादकीय)

निर्वाचन हुने नहुने विभिन्न शङ्का आशङ्काबीच पहिलो चरणको निर्वाचन शान्तिपूर्ण रूपमा सम्पन्न भएको छ । निर्वाचन आयोगले यस चरणमा ६५ प्रतिशतभन्दा बढी मत खसेको प्रारम्भिक अनुमान गरेको छ । यी क्षेत्रको भौगोलिक अवस्थालाई हेर्ने हो भने यो प्रतिशतलाई उत्साहजनक रूपमा लिनुपर्छ । यसलाई स्थानीय निकायको निर्वाचनमा खसेको मतलाई आधार मानेर विश्लेषण गर्नु पनि हुँदैन । 

स्थानीय उम्मेदवार र स्थानीय मुद्दा लगायतका कारणले राष्ट्रिय चुनावमाभन्दा स्थानीय चुनावमा बढी मत खस्ने गरेको तथ्याङ्कले नै देखाइरहेको छ । यस हिसाबले प्रथम चरणको निर्वाचन सोचेभन्दा धेरै व्यवस्थित र उत्साहपूर्ण सभागितामा भएको छ । पहिलो चरणको निर्वाचनले दोस्रो चरणको निर्वाचन पनि अझै उत्साहजनक रूपमा सम्पन्न हुन्छ भन्ने विश्वास बढाएको छ । यसले दोस्रो चरणको निर्वाचनलाई थप सुनिश्चितता गर्नेछ । अब निर्वाचन हुने क्षेत्र पहिलो चरणको तुलनमा सहज भएकाले मत प्रतिशत पनि बढी नै खस्ने अनुमान गर्न सकिन्छ । दोस्रो चरणको निर्वाचन सम्पन्न भएपछि ऐतिहासिक संविधानसभाबाट जारी नयाँ संविधान पूर्ण कार्यान्वयनमा आउनेछ ।

संविधानअनुरूप स्थानीय निकायको निर्वाचन पनि सम्पन्न भएको छ । झण्डै छ महिनाको समय लगाएर स्थानीय चुनाव सम्पन्न भएसँगै प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनका लागि वातावरण तय भएको हो, तर स्थानीय निकायको निर्वाचनले लामो समय लिँदा र पटक–पटकको सार्नु पर्दा अब निर्वाचन नै हँुदैन कि भन्ने आशङ्का बढेर गएको थियो । विशेष गरेर राष्ट्रिय जनता पार्टीका कारण पटक–पटक निर्वाचनको समय सारेर भए पनि निर्वाचनमा उसलाई सहभागी गराउनमा शेरबहादुर देउवा नेतृत्वको सरकारले सफलता प्राप्त गरेको छ ।

सायद राजपाले स्थानीय निकायको निर्वाचनमा भाग नलिएको भए प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचन सम्भव हुने पनि थिएन । वास्तवमा एउटा निर्वाचन सकिएसँगै अर्को निर्वाचनमा होमिनुपरेका कारण मुलुकको लागि यो वर्ष चुनावी वर्ष साबित भएको छ । यसले राजनीतिक नेतृत्व र दलका कार्यकर्तालाई जनतासँग घुलमिल हुने र मुलुक र मुलुकबासीका समस्यालाई नजिकबाट साक्षात्कार गर्ने अवसर पनि जुटाएको छ ।

यस निर्वाचनबाट समाजले नयाँ–नयाँ नेतृत्व मात्र प्राप्त गर्ने छैन, यसले लोकतान्त्रिक परिपाटीलाई सुदृढ र सक्षमसमेत बनाउने छ । सङ्घीय संरचनाअनुरूप सम्पन्न यस निर्वाचनले ऐतिहासिक संविधानसभाबाट जारी नयाँ संविधान पूर्ण कार्यान्वयनमा आउने छ । सबैभन्दा ठूलो नेपाली जनताका त्याग र बलिदानबाट प्राप्त सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गराउनमा मद्दत पु¥याउने छ ।

हुन त निर्वाचनले मात्र जनताका सबै अधिकारलाई सुनिश्चित हुन्छ र गराउँछ भन्ने होइन तर निर्वाचन पनि लोकतन्त्रको महत्वपूर्ण आधार भने अवश्य हो । मतदाताले आफूले चाहेको उम्मेदवारलाई विवेक प्रयोग गरेर मतदान गर्न पाउनुले मतदाताको अपेक्षा प्रकट गरेको हुन्छ । जनताले नरूचाएका र समाजले नपचाएका व्यक्तिलाई दलहरूले उम्मेदवार बनाएका कारण कतिपय मतदाता खुसी छैनन् ।

यस्ता उम्मेदवारका कारण नचाहेर पनि मतदान गर्नुपर्ने बाध्यतामा कतिपय मतदाता रहेका छन् । आगामी दिनमा यसमा समेत सुधार ल्याउने प्रयास र प्रयत्न हुनु जरूरी छ । जे भए पनि यस निर्वाचनमा मतदाताले देखाएको सहभागितालाई दलहरूले गम्भीर रूपमा बुझेर उनीहरूको अपेक्षा पूरा गराउनेतर्फ आआफ्नो ध्यान केन्द्रित गराउन सकेमा मात्र निर्वाचनको सार्थकता रहने छ । मुलुकको राजनीतिले ऐतिहासिक फड्को मारेको प्रमाणित पनि यसैले गराउने छ ।

प्रकाशित मिति : २०७४ साल मंसिर १५ गते शुक्रबार ।

 


Loading...

Contact Us

Address:Madhesh Media House, Hanumansthan Chowk, Anamnagar, Kathmandu Nepal

Phone: 0977-1-4266141

Fax: 0977-1-4266141

Email: madheshvani@gmail.com