मौन अवधिमा रौतहटमा प्रचार जारी, मतदान केन्द्रनजिक प्रचार सामग्री यथावत

राकेश यादव, रौतहट, १९ मंसिर । बिहीबार हुने प्रतिनिधिसभा र प्रदेश सभाको निर्वाचनमा शुरू भएको मौन अवधिमा पनि रौतहट जिल्लामा प्रचार प्रसार जारी रहेको छ ।

राजनीतिक दलका उम्मेदवारहरु मौन अवधिमा पालना गर्नु पर्ने शर्तको उल्लंघन गर्दै प्रचार प्रसार गरी रहे पनि नियन्त्रण गर्ने निकाय मौन बसेका छन् ।

सवारी अनुमति पत्र कडाईका साथ चेकजाँच गर्ने कार्यमा व्यस्त देखिएका सुरक्षाकर्मीहरु उम्मेदवारहरुको गाडीमा लगाइएको बैनर हेर्न भ्याएका छैनन् ।

निर्वाचन आयोगले मौन अवधिमा कुनै किसिमको निर्वाचन चिन्ह प्रयोग गर्न र मत माग्न नपाइने, मतदान केन्द्रस्थलदेखि ३ सय मिटर वरिपरि निर्वाचन चिन्ह प्रयोग भएको पोस्टर, झण्डा, बैनर राख्नु नहुने भने पनि रौतहटमा यसको नियन्त्रण हुन सकेका छैन ।

सदरमुकाम गौरमा मतदान केन्द्र रहेको ठाउँमा अहिलेसम्म पोस्टर र झण्डा रहेका छन् । दलित कन्या प्रावि, सिचाई डिभिजन कार्यालय, जुद्ध माध्यमिक विद्यालय, बैधनाथ प्रावि, शिवालय मंदिर लगायतका मतदान केन्द्रको नजिकमा राजनीतिक दलका उम्मेदवारहरुको निर्वाचन चिन्ह अंकित प्रचार सामग्री यथावत रहेका छन् ।

कतिपय मतदान केन्द्रको मुख्य गेटमा नै प्रचार सामग्री रहे तापनि प्रहरीले कुनै वास्ता गरेको छैन । मतदान केन्द्र नजिकमा मतदान हुने दिनसम्म निर्वाचन चिन्ह अंकित प्रचार सामग्री राखिएमा मतदानमा असर पर्ने हुनाले मौन अवधि शुरू हुनु अगावै हटाई सकिनु पर्ने निर्वाचन अचार संहितामा उल्लेख गरिएको छ ।

मुख्य निर्वाचन अधिकृत लेखनाथ ढकालले मतदान केन्द्र नजिकै तोकिएको परिधि भित्रमा रहेको प्रचार सामग्री चाडै हटाउन लगाउने बताएका छन् ।

चुनावको समय नजिकिदै जादा उम्मेदवारहरुको तनाव बढ्दै गएको देखिएको छ । निर्वाचनका लागि तोकिएको ४४९ मतदान केन्द्रहरुमा निर्वाचन सामग्रीसहित कर्मचारी, सुरक्षाकर्मी पुगिसकेका छन् ।


Loading...

Contact Us

Address:Madhesh Media House, Hanumansthan Chowk, Anamnagar, Kathmandu Nepal

Phone: 0977-1-4266141

Fax: 0977-1-4266141

Email: madheshvani@gmail.com