मधेशी दलको परीक्षा सुरू भएको छ : सुनिल रञ्जन सिंह, अधिवक्ता

० बिहीबार सम्पन्न भएको प्रतिनिधिसभा र प्रदेशसभाको दोस्रो चरणको चुनावलाई कुन रूपमा हेर्नुभएको छ ?
— यो निर्वाचन वास्तवमा संविधान कार्यान्वयनको लागि अति नै महत्वपूर्ण विषयसँग गाँसेर हेर्नुपर्ने हुन्छ । किनभने यो चुनाव संविधान कार्यान्वयनको लागि दोस्रो कदम हो । पहिलो कदम भनेको स्थानीय तहको पुनर्संरचना पछि त्यससँग सम्बन्धित स्थानीय तहको चुनाव हो जुन सबै स्थानीय तहमा सम्पन्न भइसको छ । प्रदेश र केन्द्रको चुनाव पनि संविधान कार्यान्वयनको महत्वपूर्ण पाटो हो । किनभने यसले राष्ट्रपति, उपराष्ट्रपतिलाई चुन्ने छ भने पहिलो पटक प्रदेश सरकार गठन गर्नेछ । यी यावत कुराहरूका लागि र लोकतन्त्रलाई बलियो बनाउन यो चुनाव महत्वपूर्ण खुडकिलो हो । लोकतन्त्रको सबैभन्दा उत्तम उपाय भनेकै जनताबाट निर्वाचित नेता आउनुपर्छ । संविधान आइसकेपछि पहिलो तह भनेको स्थानीय चुनाव हो, दोस्रो तह प्रदेश र केन्द्रको चुनावमा हो । यो चुनाव पछि देश संविधान कार्यान्वयनको महत्वपूर्ण बाटोतिर लाग्ने छ ।


० तपाईले यो निर्वाचनपछि संविधानको कार्यान्वयन हुन्छ भन्नु भयो तर संविधानलाई नमानेका मधेशवादी दलको अवस्था कस्तो रहन्छ त ?
— संविधान कार्यान्वयन भईरहेको छ । संविधान कार्यान्वयनको आ–आफनौ कदमहरू छन् । पहिलो कार्यान्वयनको कदम स्थानीय तहको निर्वाचनबाट नै भइसकेको छ । दोस्रो प्रतिनिधिसभा र प्रदेश सभाको निर्वाचनबाट हुनेछ । त्यसपछि मधेशवादी दलहरूको माग सम्बोधन गर्ने यस्तो मार्ग प्रसस्त गर्नेछ । हुन त यो भन्दा पहिले संसदबाट संविधान संशोधनको विधेयकलाई अस्वीकार गरिसकिएको अवस्था छ । तथापी मधेसीदलहरूको आफ्नो राजनीतिक एजेण्डा पनि छ । संविधान एकपटक लेखिसके पछि फेरी परिवर्तन हुँदैन भन्ने होइन । मधेसी दलहरूको मागलाई सबै राजनीतिक दलले सकारात्मक रूपले संशोधनको बाटोमा लान्छौँ भन्दै आएका छन् । यही कुरालाई मधेशवादी दलहरूले मनन गरेर, विश्वास गरेर काँग्रेस, वाम गठबन्धन, राजपा–फोरम मिलेर चुनावी गठबन्धन गरेर चुनावमा होमिएका हुन् । संविधान कार्यान्वयन कै महत्वपूर्ण पाटो संशोधन पनि हो । त्यो आगामी दिनमा हुन्छ भन्ने हामीले विश्वास गरेका छौँ ।


० अहिले निर्धारण भएको निर्वाचन क्षेत्र विभाजनलाई कुन रूपमा हेर्नुभएको छ ?
— वास्तवमा संविधानको कार्यान्वयनको दिशामा जाँदा स्थानीय पुनर्संरचना आयोग गठन भएको एक वर्ष भित्र गाउँपालिका, नगरपालिका, विशेष क्षेत्र, संरक्षित क्षेत्र वा स्वायत्त क्षेत्रको संख्या तथा सिमाना निर्धारण गरिसक्नु पर्ने संवैधानिक व्यवस्था रहेको थियो । त्यो अनुसार आयोगले गाउँपालिका, नगरपालिका, वडाको संख्या, सिमाना, केन्द्रको नामसम्म तय गरेको थियो ।। तथापी मलाई के लाग्थ्यो भने जसको जनसंख्या जति छ त्यसको आधारमा क्षेत्र निर्धारण हुनुपर्छ तर त्यस्तो हुन सकेन । यसमा अझै पनि असन्तुष्टि छ । संविधान भनेको कालान्तरमा संशोधन हुँदै जाने पक्ष हो । जनताको चाहना अनुसार संविधान संशोधन हुन सक्छ । यो कुनै ठूलो कुरा होइन । पहिलेको स्थानीय तह गाविस थियो भने अहिलेको गाउँपालिका, नगरपालिका, उपमहानगरपालिका, महानगरपालिका भएको छ । त्यो दिशातिर हामी उन्मुख भइसकेका छौँ ।


० अहिले विभाजन गरेको गाउँपालिका, नगरपालिकामा एउटै क्षेत्र पनि दुई तिर परेको छ नि ?
— त्यो हुनु स्वभाविक पनि हो । गाउँपालिका, नगरपालिकाको सिमाना अहिलेको निर्वाचन क्षेत्रभन्दा सानो हुन्छ । एउटै गाउँपालिकाको आधा भाग एउटा निर्वाचन क्षेत्रमा र आधा भाग अर्को निर्वाचन क्षेत्रमा पर्नु स्वभाविक नै हो । यो निर्वाचन क्षेत्र निर्धारण गर्दा धेरैको सन्तुष्टि छैन र नहोला पनि । त्यो भविष्यमा सुधार हँदै जानेछ ।सबैभन्दा महत्वपूर्ण कुरा त यो निर्वाचन भएर आइसकेपछि प्रदेश सभा गठनको कुरा हो । प्रदेशका पदाधिकारी बस्ने ठाउँको समस्या छ । कर्मचारीको समस्या छे । सात वटा प्रदेशका सात वटा प्रदेश प्रमुख राष्ट्रपतिबाट नियुक्त गर्नुपर्ने हुन्छ । हामीले प्रदेशलाई अलि हेला गरेको हो कि जस्तो मलाई लाग्छ । त्यसैले प्रदेशलाई पनि अब स्थानीय र केन्द्रीय जस्तै द्रुत गतिमा लैजानुपर्छ ।


० आम नागरिकको भाषामा भन्नुपर्दा प्रदेशसभा र प्रतिनिधिसभा भनेको के हो ?
— प्रदेशसभाको चुनाव पहिलो पटक भएको छ । एउटा देशभित्र धेरै राज्य हुन्छ, त्यसलाई प्रदेशसभा भनिन्छ । अर्को प्रतिनिधि चुनाव भनेको केन्द्रीय संसद हो । नेपाल संघीय प्रणालीमा गइसकेपछि पनि तीन वटा सरकार रहने छ, स्थानीय सरकार, प्रदेश सरकार र संघीय सरकार । यी तीन वटा सरकारले कल्पना गरे अनुसार नै सबै सरकारहरूको गठन हुँदैछ ।


० प्रदेशसभा र प्रतिनिधिसभाको चुनावपछि जनताले के कस्ता सुविधाहरू पाउँछन् ?
— निर्वाचन भइसकेपछि स्थायी सरकार आउँछ । सरकारले यो संविधानमा वर्तमान कानुनमा भएको व्यवस्था अनुसार जनताको लागि धेरै काम गर्नु पर्नेछ । अहिलेसम्म जनताले यो संविधान आइसकेपछि धेरै थोक पाउँछौँ भन्ने आशा गरेका छन् र नेताले पनि चुनाव लगत्तै जनताको दुःख सुख, विकास, शिक्षा, स्वास्थ्य आदिका लागि काम गर्नेछौँ भन्ने बाचा गरेका छन् र सँगसँगै संविधान र कानुनले दिएको जिम्मेवारीतर्फ पनि जननिर्वाचित प्रतिनिधिहरू पनि लाग्नुपर्ने हुन्छ । राजनीतिक खिचतानी चलिरहन्छ तर उनीहरूले कुनै बाहाना नगरी जनताले चाहेको र संविधानले रोजेको बाटोतिर लाग्नुपर्ने हुन्छ ।


० विगतका समयमा आन्दोलनमा रहेका मधेशकेन्द्रीत दलहरूले निर्वाचनलाई पनि आन्दोलनकै रूपमा लिएर सहभागि भएको भनेका छन् । निर्वाचनपछि मधेशकेन्द्रीत दलहरूको भविष्य कस्तो रहला ?
— यो निर्वाचनले खासगरी मधेसी दलहरूलाई दुई किसिमले फाइदा गर्छ । एउटा त ती दलहरू आफैले टुट फुटको राजनीतिबाट ग्रसित छन् । जब वाम गठबन्धन बन्ने बित्तिकै मधेसी दलहरूको पनि गठबन्धन भयो । वाम गठबन्धन हुनु भन्दा पहिले राजपाको ६ वटा पार्टीहरू एकत्रित भएर एउटा पार्टी गठन भएको थियो । वाम गठबन्धन पछि राजपाले फोरमसँग सहकार्य गरेर चुनावमा गएको छ । मधेशका जनताको लामो समयदेखि चाहना मधेश केन्द्रीत दलहरू एकिकृत भइदेओस् भन्ने ठूलो अपेक्षा थियो । राजनीतिक दलहरूले पनि मधेशका जनता चाहना अनुसार अहिले गएका छन् । राजपा र फोरमको दुबैको परीक्षा भएको छ, अब बाकस खुले पछि मात्र परिणाम थाहा हुन्छ  । राजनीतिक दलहरूले अहिले हामी एकीकृत भएर आयौँ अब हामीलाई मत दिएर जिताउनुहोस् हामी हाम्रा एजेण्डाहरूलाई कार्यान्वयन गराउछौँ भन्ने माग छ भने जनताको पनि परीक्षण हो । मत दिइसकेपछि उनीहरूको एजेण्डा, मधेश, तराई, थारू, आदिवासी, जनजातीको एजेण्डा कार्यान्वयन गराउने जिम्मेवारी पनि मधेसी दलहरूको हो । मधेशी दलहरू एक भएर आएको बेला जनताले कसरी मत दिए भनेर राष्ट्रिय–अन्तर्राष्ट्रिय जगत, सञ्चार जगत र बौद्धिक जगतले प्रतीक्षा गरिरहेको छ । त्यसैले जसले मत धेरै ल्याउँछ जनता सबै उसकै पक्षमा हुने भएकोले संविधान संशोधन हुने÷नहुने भन्ने कुरा निर्वाचन पछिको मत परिणामले नै बताउनेछ ।


० निर्वाचनपछि जनतालाई दिइएका आश्वासन पूरा हुनेमा कतिको आश्वश्त हुनुहुन्छ ?
— राजनीतिक दलहरूले जति घोषणापत्रमा आश्वासन दिएका छन् त्यति सबै पुरा गर्ने हो भने त नेपाल त स्वर्ग नै बन्न सक्छ । घोषणापत्रमा उल्लेख गरिएका कुरा त जनतालाई देखाउनका लागि र जनतालाई ठग्नलाई मात्र हो । त्यसको एक प्रतिशत पनि काम गर्दैनन् तर गरे भने त राम्रो । जनता पनि राजनीतिक दलको घोषणापत्र प्रति एकदम कम आकर्षित हुन्छन् । हामीकहाँ जनता पनि पार्टीगत, जातीगत, पैसागत र अर्को गाउँमा दलको कार्यकर्ता हुन्छन् । कतिपय मतदाता कार्यकर्ता जे भन्यो त्यही हुन्छ भने कतिपय मतदाता जतिसुकै भने पनि आफ्नो स्वविवेक प्रयोग गरेर मतदान गर्छन् ।


प्रकाशित मिति  : २०७४ साल मंसिर २२ गते शुक्रबार ।


Loading...

Contact Us

Address:Madhesh Media House, Hanumansthan Chowk, Anamnagar, Kathmandu Nepal

Phone: 0977-1-4266141

Fax: 0977-1-4266141

Email: madheshvani@gmail.com