मतपत्रमा कैद मधेशको जनादेश

निमिष झा

प्रतिनिधि तथा प्रदेशसभाको दोस्रो चरणको निर्वाचन हर्षोल्लसाका साथ सम्पन्न भएको छ । छिटपुछ र सामान्य घटनाबाहेक निर्वाचन लगभग शान्तिपूर्ण वातावरणमै उत्साहका साथ सम्पन्न भएको हो ।

देशका विभिन्न भागमा भएका विस्फोटका घटनाका बाबजुद पनि मतदाताहरू भोट हाल्नका लागि आतुर थिए । मतदाताहरूमा देखिएको यस्तो प्रकारको अभूतपूर्व उत्साह लोकतन्त्रको स्थायित्वको लागि सुन्दर पक्ष पनि हो । किनभने एक दशक लामो संक्रमणकाल अन्त्य गरेर राजनीतिक स्थिरता र मुलुकको आर्थिक समृद्धिको प्रवेशद्वारका रूपमा लिइएको यो निर्वाचनबाट जनताको धेरै अपेक्षा पनि रहेको छ ।

यो निर्वाचनले ४५ जिल्लामा प्रतिनिधिसभातर्फ १ सय २८ र प्रदेशसभाका २ सय ५६ निर्वाचन क्षेत्रमा जनप्रतिनिधितको भाग्यको फैसला गदैछ । दुई चरणमा भएको यो निर्वाचन नयाँ संविधान कार्यान्वयनको सबभन्दा महत्वपूर्ण चरण हो ।

पहिलो र दोस्रो चरणमा मतदाताले गरेको विवेक प्रयोगले नेपाल समृद्धिको मार्गमा जाने, देशलाई सुशासन र विकासको मार्गमा डो¥याउनेछ भन्ने अपेक्षा गरिनु राजनीतिक स्थायित्वका लागि सबल पक्ष हो ।

यसर्थ सचेत नागरिकले गरेको मतदानबाट देशको कायापलट हुने विश्वास गर्न सकिन्छ ।संविधानसभाले बनाएको नयाँ संविधानअनुसार पहिलोपटक यस प्रकारको चुनाव पहिलो हो भने प्रदेशसभाको चुनाव पनि पहिलोपटक नै भएको छ ।

संघीय लोकतान्त्रिक गणतन्त्रात्मक संविधान जारी भएपछि संविधान कार्यान्वयनका लागि संघीय संरचनाअनुसार पहिलो पटक स्थानीय निकायको निर्वचन सम्पन्न हुनाका साथै प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्यका लागि निर्वाचन हुन लागेको छ ।

स्थानीय तहको निर्वाचन सम्पन्न भइसकेको अवस्थामा प्रदेशसभाको चुनावले संघीयताको कार्यान्वयनलाई मूर्त रूप दिने अनुमान छ ।

यसपटक दलहरूले पनि चुनावलाई राजनीतिक स्थायित्व र आर्थिक समृद्धिको रूपमा जोड दिएकोले आम मतदाताको अपेक्षा पनि राजनीतिक स्थायित्व र आर्थिक समृद्धि होस् भन्ने नै छ । यसर्थ निर्वाचनको नतिजा जुन दलको पक्षमा आएपनि लोकतन्त्रको विजय हुने भन्ने कुरामा दुई मत छैन ।

यो निर्वाचनबाट देशलाई संक्रमणको युगबाट स्थायित्वको युगमा प्रवे्श गर्ने हरेक प्रकारको राजनीतिक जन्जालबाट मुक्त हुने पनि अपेक्षा छ । निर्वाचनबाट देश समृद्धिको युगमा प्रवेश गर्ने छ ।

नेपालकै इतिहासमा एकै वर्ष स्थानीय तह, प्रदेशसभा/प्रतिनिधिसभा निर्वाचन भएकाले २०७४ साल निर्वाचनै निर्वाचनको वर्ष पनि बनेको छ । इतिहासमा अहिलेसम्म एकै वर्ष यति धेरै निर्वाचन भएको थिएन । एक वर्ष संसदीय र अर्को वर्ष स्थानीय निर्वाचन गरेर वर्षौंपिच्छे निर्वाचन भए पनि एकै वर्ष तीन तहको निर्वाचन भएको यो पहिलो अवसर हो ।

प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन सकिएपछि राजनीतिले स्थायित्व पाउने, स्थिर सरकार बन्ने र विकास निर्माणले तीव्रता पाउने आम नेपालीको विश्वास छ । त्यसैले समृद्ध मुलुक निर्माणको जनआकांक्षालाई मूर्त दिने दायित्व अहिले चुनिँदै गरेका जनप्रतिनिधिको हो ।

चुनावपछि विकासको गति तीव्र रूपमा अघि बढ्ने जनअपेक्षा छ । स्थानीयले गाउँको विकास चाहेका छन् । जवाफदेही र जनउत्तरदायी, जनप्रतिनिधि चाहेका छन् । दलका उम्मेदवारहरूले मतदाताको घरदैलोमा पुग्ने क्रममा यहि प्रतिवद्धता जनाएका हुन ।

 

निर्वाचन भनेको लोकतन्त्रको प्राणवायु हो । त्यसैले चुनावमा मधेशका जनता खुसीपूर्वक मतदान गरेका छन् । समयमै आफ्नो प्रदेशको निर्वाचन हुन नसक्दा त्यहाँका जनता निराश देखिएका थिए । तर अब मतदान गरिसकेपछि उनीहरू हर्षित छन् ।

निर्वाचनपछि विकास निर्माण, उद्योग, व्यवसाय र रोजगारीका नयाँ अवसर खुल्दै जाने आशा जनतामा जगाएको छ । लामो समयपछि मुलुक राजनीतिक स्थिरता तर्फ गहिरहेको छ । राजनीतिक अस्थिरता हुँदा मुलुकको हरेक क्षेत्र अस्थिर हुन्छ ।

नराम्रा उम्मेदवारहरूले चुनाव जित्ने र राम्रा उम्मेदवार चुनाव हार्ने परिस्थिति निर्माण भयो भने विकास, सु–शासन सम्भव छैन । त्यसैले यसपटक जनताले हाम्रो होइन राम्रोलाई जिताएर पठाउने विश्वास छ । मतदाता पनि असल नागरिक हो भन्ने भावना मतपेटिकामा खसेको मतबाट सावित हुनेछ ।
मधेशको सवाल

प्रतिनिधि र प्रदेशसभाको निर्वाचन करिब एक वर्ष बढी चलेको तर कुनै टुंगोमा नपुगेको मधेश आन्दोलनको जीतको एक ऐतिहासिक दिन र अनुपम घडी पनि हो । मंसिर २१ गते बिहीबार जनताको ठूलो पंक्तिको उल्लास र उत्सापूर्वक सम्पन्न मतदानले यसैकुरालाई संकेत गर्छ ।

सडकमा पोखिएको मधेश आक्रोश मधेशी जनताले मतसँग साटिएको यो क्षण इतिहासको नयाँ सम्बोधन पनि हो मधेशको माग र भावनाका हकमा ।

मधेश विद्रोह अब मतपत्रमा कैद भएको छ । मधेश आन्दोलन अब जनताको मतमा रूपान्तरित हुँदै मतादेशमा साटिएको छ । बन्द मतपेटिकमा व्यक्त एक एक मधेशीजनको एक एक मतको हिसाबले अब जनादेशको नयाँ जग बनाइसकेको छ । यस अर्थमा यो मधेश आन्दोलनको वैधानिकीकरणको पर्व पनि हो ।

यो अन्तिम चुनावी अध्याय नयाँ सम्भावनाको सुन्दर र सुदूर सुरूवात पनि हो । चुनावको अन्तिम श्रृंखला सबै दलको चुनावी पर्वकै रूपमा सम्पन्न भएको हो । यो अन्तिम चुनावीमा खासगरी ६ वटा मधेश केन्द्रित दलहरू मिलेर बनेको राष्ट्रिय जनता दलको सहभागिता र संघीय समाजवादी फोरमसँगको चुनावी तालमेलले मधेशको अंकगाितमा पनि फेरबदल गरेको छ ।

यसकारण यो चुनाव विशेष महत्वको रहेको छ । अघिल्ला चुनावमा संविधान संशोधनको विषयमा फरकमत राख्दै राजपाले भाग नलिएका कारण ती चुनावहरू सबै दलको सहभागिताका पर्याय हुन सकेका थिएनन् भन्ने तथ्य अब उनीहरूको व्यापक सहभागिताले सोधभर्ना पनि भइसकेको छ । यो चुनावको सफलता भनेकै मधेश र मधेशको जीत हो ।


Loading...

Contact Us

Address:Madhesh Media House, Hanumansthan Chowk, Anamnagar, Kathmandu Nepal

Phone: 0977-1-4266141

Fax: 0977-1-4266141

Email: madheshvani@gmail.com