मधेशी दललाई विश्वासमा नलिनु कांग्रेस हारको कारण : पुरञ्जन आचार्य

राजनीतिक विश्लेषक

० हालै सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको मत परिणाम अपेक्षित हो या अनपेक्षित ?
— यो मत परिणाम अपेक्षित नै छ । प्रतिनिधिसभाको चुनावमा कांग्रेसको ३५ सिट आउँछ भन्ने अनुमान थियो । कांग्रेसका शीर्ष नेताहरूले ३५÷४० सीट आइहाल्छ भन्ने अनुमान गरेका थिए । वाम गठबन्धन पछि हामी धेरै मत ल्याउन नकिने उनीहरूको आंकलन थियो । अचानक वाम गठबन्धन भयो बनेको भन्ने एउटा त्रास थियो काँग्रेसीहरूमा । वाम गठबन्धनले दुई तिहाई मत ल्याउँछ भन्ने करिब–करिब अनुमान त थियो, त्यसैले धेरै अनपेक्षित छैन् । नेपाल कांग्रेसका रणनीतिहरू कमजोर भए, नेतृत्वलाई पनि तन्दुरूस्त बनाउने क्षमता भएन । यसअघि सम्पन्न भएको स्थानीय निर्वाचनको मत परिणाम जोडेर हेर्दा पनि वाम गठबन्धनकै विजयी देखिएको थियो । माओवादी र एमालेबीच विश्वास कत्ति रहन्छ, भोटहरू स्थान्तरण हुन्छ या हुँदैन भन्ने मात्र थियो ।


० कांग्रेसको लोकप्रियता घटेको हो कि कांग्रेसले सोचेअनुसारको लोकतान्त्रिक गठबन्धन बनाउन नसक्नुको परिणाम हो ?
— एकातिर कांग्रेसको साहस थियो र लोकप्रियता ज्यूँदो अवस्थामा थियो । अर्कातिर नेपाली कांग्रेसको नेतृत्व पनि नेपाली समाजमा थियो । कांग्रेसको लोकतान्त्रिक गठबन्धन जुन उसले बनाउन खोजिरहेको थियो, त्यसमा त राप्रपा जस्तो पार्टीलाई बोकेको थियो । त्यो कसरी लोकतान्त्रिक हुन सक्थ्यो ? त्यो पनि जनताले पत्याएनन् । पशुपति शमशेर र कमल थापा जो आफै राजाको शासनको खम्बा थिए । त्यस्तालाई लिएर कसरी लोकतान्त्रिक गठबन्धन बन्न सक्थ्यो, त्यो सम्भव नै थिएन । मधेशवादी दलहरूसँग कांग्रेसको असन्तुष्टि, त्यहाँ मधेशवादी दलहरूसँग राम्रो गठबन्धन हुनु पर्ने हो । एक दुई जनाको अहंकारले गर्दा त्यहाँ पनि गठबन्धन हुन सकेन । अमरेश सिंह र विमलेन्द्र निधिका कारणले मधेशी दलहरूसँग गठबन्धन बन्न नसकेको भन्ने समाचारहरू पत्रिकामा पढ्न पाइयो । त्यसकारणले कांग्रेसको जुन स्वभाविक गठबन्धन हो, प्रजातान्त्रिक धारणालाई विकास गर्ने, प्रजातान्त्रिक शक्तिहरूलाई ल्याउने त्यो मधेशवादी दलहरूसँग मात्र सम्भव थियो । मधेशवादी दलहरूसँग कांग्रेसको गठबन्धन हुन सकेन । राप्रपासँग त लोकतान्त्रिक गठबन्धन हुनै सक्दैन । त्यसैकारणले लोकतान्त्रिक गठबन्धन साँच्चै भन्नुपर्दा गठबन्धन नै थिएन ।


० कांग्रेसको भोट कता गयो त ? के लाग्छ तपाईलाई ?
— अहिलेको कालखण्डलाई मात्र हेरेर हुँदैन । ०५२ सालदेखि वाम मत विभाजन भएर कांग्रेसले २५ देखि प्रतिशत ३५ प्रतिशतसम्म भोट प्राप्त गर्ने दल भएको छ । दोस्रो संविधानसभाको चुनावमा कांग्रेसको भोट २५ प्रतिशतको हाराहारीमा थियो । मलाई के लाग्छ भने त्यति भोट त अहिले पनि ल्याउन सकिन्थ्यो । कांग्रेसको अहिलेसम्मको राष्ट्रिय राजनीतिमा अग्रणी भूमिका थियो भने ०५१ सालदेखि यता वाम मतको विभाजन भएको थियो । त्यो विभाजित मतबाट कांग्रेसले फाइदा लिँदै आएको थियो र सरकार पनि बनायो । ५६ प्रतिशत मतले कांग्रेसको बहुमत पनि थियो । त्यसबेलाको समयमा कांग्रेसको त्यो भारी बहुमत थियो । अहिले पनि मधेशी दलहरूसँग गठबन्धन गरेको भए अहिले पनि केही बढी सीट हासिल गर्न सक्न्थ्यिो ।


० विगतमा कम्युनिष्टहरू विवादित थिए त्यसकारणले कांग्रेसले बहुमत पाएको हो ?
— हो । विगतमा कम्युनिष्टहरू विवादित भएकै कारणले कांग्रेसले बहुमत पाएको हो । अहिले उनीहरू एक भए, त्यसैले कांग्रेसको बहुमत आउन सकेन ।


० कांग्रेस आफ्नो सिद्धान्तलाई बिर्सेका कारणले पछि प¥यो भनेर पार्टीभित्रबाटै आलोचना भइरहेको छ्, साँच्चै कांग्रेसमा सैद्धान्तिक विचलन भएको हो ?
— कांग्रेसको मूल सिद्धान्त त लोकतन्त्र नै हो । सिद्धान्त कांग्रेसले बिर्सेको छैन । कांग्रेसले राजतन्त्रलाई मान्ने भन्ने कुरा त रणनीति हो । विगतमा विपीले पनि राजतन्त्र विरूद्ध हतियार नै उठाउनुभएको हो । रणनीतिका सवालमा कांग्रेसले धेरै रणनीतिहरू अपनाएको छ । कांग्रेसले सिद्धान्त छोड्यो त म भन्दिन । प्रजातान्त्रिक सिद्धान्तलाई छोडेर अरू सिद्धान्तलाई बोकेको भए हुन्थ्यो । कांग्रेस जस्तो पार्टीले राजतन्त्रलाई अगाल्नु राम्रो होइन ।


० सिद्धान्त र व्यवहारमा फरक देखिएको हो त ?
— कांग्रेसका भागहरू त तीन वटा छन् । कांग्रेसले राजनीतिक विचार जुन अघि सा¥यो, कम्युनिष्टहरू विभाजन भएर आउँछन् त्यसकारण कांग्रेसलाई भोट दिनुस् भन्ने त्यो झन् जनताले पत्याएनन् । जनताले के पत्याए भने कांग्रेसले भनेको हामी अधिनायकवाद कसरी हुन सक्छौँ, अधिनायकवाद हुन त कांग्रेस, राप्रपा नै सक्छ । हामी त दुई दशकदेखि सरकारको चुनावमा जाने र उत्रने गरेका छौँ भन्ने के.पी. ओलीको खर्रो भाषा जनताले पत्याइदिए । अर्को कुरा त कांग्रेसले अधिनायकवाद नहुन भन्दा पनि पटक–पटक सरकारमा पुग्ने अवसर पाउँदा पनि बहुमत ल्याउन सक्दैन भन्ने कुरा स्थापित भयो । अहिले एमाले र माओवादी मिलेर वाम गठबन्धन गरेर आउँदा स्थिर सरकारको कुरा गरे त्यसमा जनताले विश्वास गरे । त्यो विश्वास र भरोसाको कुरा स्थिरता र समृद्धिको कुरामा जनतालाई विश्वास दिलाउन वाम गठबन्धन सफल भयो । यहि कुरा कांग्रेसले भनेको भए पनि जनताले पत्याउने थिएनन् किनभने पटक पटक बहुमत ल्याउँदा पनि स्थिर सरकार हुन सकेको थिएन । अर्को कुरा कुनै पनि पार्टीको भरोसा, आयाम भनेको त्यसको नेता, कार्यकर्ताको क्षमता हुन्छ । नेपाली कांग्रेसको संगठनको तह ‘मास’मा जाने पार्टी भोली फेरी त्यसमा नजाला भन्न सकिदैन । अहिलेसम्म पनि यसको संगठनमा लोकतन्त्र चाहिन्छ कि गणतन्त्र चाहिन्छ, देशमा संघीयता चाहिन्छ कि चाहिदैन, भन्ने नै छैन् । गिरिजाप्रसाद कोइरालाले एक ढंगले यसलाई चलाए । यसको सिद्धान्त आयो तर कार्यकर्ता एकदम अन्योलमा परे । कुन बाटोमा जाने भन्ने कुरामा नै कार्यकर्ताहरू अन्योलमा परे । अर्को कुरा त यसको केन्द्रीय नेताहरूले कांग्रेसको जुन अभियान थियो त्यसलाई अगाडी बढाउन सकेनन् । शारीरिक र मानसिक रूपमा अशक्त हुँदा पनि वाम गठबन्धनका केन्द्रीय नेताहरू दुइतिहाई भन्दा बढी स्थानहरूमा भोट माग्न पुगे तर कांग्रेसका नेताहरू पुग्न सकेनन् । कांग्रेसका नेताहरूले अरू केही भन्न सकेनन् कि खालि म प्रधानमन्त्री हुन्छु भने । कांग्रेसले सबल नेतृत्व, जनतामा विश्वास केही पनि गर्न सकेनन् ।


० कांग्रेसले वाम गठबन्धनले साम्यवाद ल्याउँछ भनेर आरोप लगाइरहँदा जनताले बहुमतको सरकार आउँछ भन्ने कुरा किन पत्याए होलान् ?
— नेपाल युवाहरूको देश हो । नेपालका युवाहरूले के देखेका छन् भने नेपालका कम्युनिष्ट पार्टी पहिलो पटक मिलेर सरकार बनाउन आँटेका छन् । आफूले भोगिरहेको प्रक्रियालाई विश्वास नगरेर, कांग्रेसले हामी लोकतन्त्र ल्याउँछौँ भन्ने कुरालाई अहिलेको युवाले पत्याएन । अहिलेका युवा राजनीतिक चिन्तनमा लाग्दैनन् । उनीहरूले जे देखिरहेका छन् त्यसमा विश्वास गर्छन् । त्यसैकारणले राजनीतिक र वैचारिक रूपमा कांग्रेसको अजेण्डाले फेल खायो ।


० अहिलेको निर्वाचनमा जनताले राम्रो काम नगर्नेलाई पराजित गरेका हुन् कि दललाई पराजित गरेका हुन् ?
— कांग्रेसका शीर्ष नेताहरू पराजित भएका छन् । त्यसमा त वाम गठबन्धनका पनि दुई शीर्ष नेताहरू पराजित भएका छन् । वाम गठबन्धनले जित्ने एउटा राष्ट्रिय कारण हुन सक्छ भने नारायणकाजी र बामदेव गौतमले हार्ने व्यक्तिगत कारण हुन सक्छ । यी कुरालाई छोडेर सबै कुरा मध्यनजर गर्दा कांग्रेसले हारेको हो र बाम गठबन्धनले दुई तिहाईले जितेको हो ।


(मधेशवाणीका लागि अजय साह शिवालीले गरेको कुराकानीको सम्पादित अंश)

प्रकाशित मिति : २०७४ साल मंसिर २९ गते शुक्रबार ।


Loading...

Contact Us

Address:Madhesh Media House, Hanumansthan Chowk, Anamnagar, Kathmandu Nepal

Phone: 0977-1-4266141

Fax: 0977-1-4266141

Email: madheshvani@gmail.com