मधेशका अन्य भू–भाग फर्काउन हाम्रो आन्दोलन जारी रहन्छ : उपेन्द्र यादव

अध्यक्ष, संघीय समाजवादी फोरम नेपाल

संघीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादव सप्तरी २ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका हुन् । उनी पहिलो संविधानसभामा मोरङ र सुनसरी तथा दोस्रो संविधानसभामा सुनसरीबाट निर्वाचित भएका थिए । उनको जन्म २०१६ साल पुस २५ गते सप्तरीको भागवतपुरमा भएको हो । उनले विज्ञान विषयमा स्नातकोत्तर र कानुनमा स्नातक गरेका छन् । उनी २०३२ सालदेखि राजनीतिमा सक्रिय छन् । अध्यक्ष यादवसँग मधेशवाणीका कार्यकारी सम्पादक रामसुकुल मण्डलले गरेको कुराकानीको सम्पादित अंश :

० प्रतिनिधि तथा प्रदेशसभाको निर्वाचन पश्चात् मधेशको राजनीतिको राजनीतिक कोर्स के हो ?
— मधेशमा अब मधेश सरकार बन्छ । मधेशको विकास निर्माण, जनताको सुरक्षा, समृद्धि अगाडि बढ्दै जान्छ । एकातिर विकास अर्कोतर्फ मधेशी जनतामाथि शताब्दियौंदेखि कायम रहेको शोषण, उत्पीडन, विभेद, असमानता र उपेक्षा जुन राज्यबाट हुँदै आएको छ, त्यसलाई अन्त्य गर्ने तिर हामी लाग्ने छौं । मधेशी जनताले पनि बराबरको अधिकार, अवसरमा समानता र न्यायका लागि, आफ्नो पहिचान र स्वाभिमानका लगि हुने जुन संघर्षको प्रयास हो त्यो निरन्तर चलिरहन्छ । त्यसकारण अधिकार प्राप्ति एकातर्फ अगाडि बढ्छ भने अर्कोतर्फ विकास, समृद्धि र निर्माणका कार्य पनि बढ्छ ।


० मधेशको जनताले तपाईंहरूलाई मत दिएर आफ्नो जिम्मेवारी पूरा गरेर विजयी बनाएका छन्, अब तपाईंहरू उनीहरूको अपेक्षालाई कसरी पूरा गर्नुहुन्छ ?
— अपेक्षा र आवश्यकता धेरै छन् । एक त नेपाल भनेको संसारमा सबैभन्दा पछाडि परेको देश हो । त्यसमा पनि सबभन्दा पछाडि परेको प्रदेश नं. २ हो, जहाँ हाम्रो उपस्थिति राम्रो छ । यो परिस्थितिमा हामी जनताको अपेक्षा र हामीले गर्न सक्ने काम अत्यन्त महत्व र प्राथमिकताका साथ अगाडि बढाउँछौं । उपलब्ध साधन, स्रोत र शक्तिका आधारमा हामी विकास र निर्माणका जनअपेक्षा पूरा गर्ने अठोटका साथ लाग्ने छौं ।


० तर तपाईंहरूको विगत हेर्दा भनाइ र गराइमा धेरै अन्तर छ, भरोसा र विश्वास गर्ने आधार त गुमाउनु भएको छ, होइन ?
— पहिलो कुरा, हाम्रो भनाइ र गराइमा कहिल्यै भिन्नता थिएन र छैन पनि । दोस्रो कुरा, हालै सम्पन्न तीनै तहको निर्वाचनमा जनताले विश्वास नगरेको भए हामीले यो परिणाम पाउने नै थिएनौं ।


० विगतका निर्वाचनहरू पछि पनि यस्तै आश्वासन बाँडनु भएको थियो, तर त्यस अनुसारको काम नगरेको आरोप त छ नि ?
— काम गर्ने भनेको सरकारले हो । सरकारले बजेट दिन्छ, साधन स्रोत दिन्छ । बहुमत प्राप्त अन्य दलहरूले सरकार बनाउने अनि काम चाहिँ आन्दोलनकारी दलहरूले गरिदिनुपर्ने ? यस्तो त हुँदैन नि । त्यसकारणले अहिले जनताले हामीलाई बहुमत दिएको भए हामी गथ्र्यौं, अर्कालाई बहुमत दियो, उनीहरूले गरिदिएन । अब प्रदेश नं. २ मा हामीले जनमत प्राप्त गरेका छौं । त्यो मत र जनताको भावनालाई कदर गर्दै सक्दो काम गर्नेछौं ।


० मधेशका कुन–कुन प्रदेशमा मधेशी दलको सरकार बनाउँदै हुनुहुन्छ ?
— मधेशका प्रदेश एउटा मात्रै मधेश प्रदेश हो । त्यो हो प्रदेश नं. २ । मधेशका भूभाग अन्य प्रदेशमा पनि जबरजस्ती गाभिएका छन् । त्यसलाई फर्काएर ल्याउने प्रयास हाम्रो रहिरहन्छ ।


० तपाईहरूले मधेशलाई २२ जिल्लाबाट ८ जिल्लामा सीमित गर्नु भएको हो ?
— यो आरोप हामीमाथि लगाउन पाइँदैन । यो आरोप उनीहरूलाई नै लगाउनुस् जसले यस्तो गरेका छन् । हाम्रो मधेश भनेको २२ जिल्लाकै हो ।


० प्रदेश नं. २ मा कसरी सरकार बनाउनु हुन्छ ? यसको तयारी कसरी भइरहेको छ ?
— हामी राष्ट्रिय जनता पार्टी लगायतसँग मिलेर सरकार बनाउँछौं । यसको तयारी अहिलेसम्म थालेका छैनौं । अब यसको तयारी हुन्छ । जब गभर्नर (प्रदेश प्रमुख) को नियुक्ति हुन्छ, प्रदेशसभाका सदस्यहरूले सपथ ग्रहण गरिसकेपछि सरकारको निर्माणको थालनी गर्छौं । यहाँ त प्रदेशसभाका सदस्यहरूले सपथ ग्रहण नै गर्न नसकेपछि सरकार त बन्दैन । भनेपछि अहिले सरकार बनाउने के प्रयास गर्नु ? समयमा गरिन्छ ।


० तर तपाईंको पार्टी र राजपासँग सरकार बनाउने बहुमत छ त ?
— प्रदेश नं. २ मा सरकार बनाउनका लागि फोरम र राजपासँग स्पष्ट बहुमत छ । हामी सरकार बनाउँछौं । यसमा कुनै किसिमको शंका गर्ने ठाउँ छैन ।


० प्रदेश नं. २ मा संयुक्त सरकारको मुख्यमन्त्री कसको हुने ?
— प्रदेश नं. २ मा संयुक्त सरकारको मुख्यमन्त्री संघीय समाजवादी फोरम नेपालबाट हुन्छ । यसमा राजपा र फोरमको संयुक्त सरकार हुन्छ ।


० फोरमबाट मुख्यमन्त्री कसलाई बनाउँदै हुनुहुन्छ ?
— त्यस विषयमा हामी अहिले निर्णय गरिसकेका छैनौं । निर्णय गरिसकेपछि सार्वजनिक गरौंला ।


० तपार्इंहरूले प्रदेश तथा प्रतिनिधिसभा चुनावमा प्रदेश नं. २ मा मात्र राजपासँग चुनावी गठबन्धन बनाउनुभयो, अन्य प्रदेशमा किन भएन ?
— भ्याइएन । समय अभावका कारण अन्तिम समयमा प्रदेश नं. २ मा मात्र राजपासँग चुनावी गठबन्धन हुनसक्यो ।


० अहिलेको चुनाव राजपासँगै मिलेर लडनुभयो, के यो पार्टी एकताको संकेत पनि हो ?
— हाम्रो पार्टी भनेको समाजवादी लोकतान्त्रिक पार्टी हो । समाजवाद, लोकतन्त्र र विभेदको अन्त्य हाम्रो मुख्य एजेन्डा हो । मधेशी, आदिवासी जनजाति लगायतका जनताको पहिचान र अधिकारको सवालका लागि लडिरहेका छौं । यो नीतिसँग सहमत भएर आए राजसँग एकता हुन सक्छ ।


० तर संघीय फोरम र राजपाबीच तीव्र वैचारिक मतभिन्नता छ नि ?
— अलग–अलग पार्टी छन्, त्यसकारणले विचारमा मतभिन्नता त भइहाल्छ । मतभिन्नता नभएको एउटै पार्टी रहन्थ्यो नि । राजपासँग पार्टी एकताका लागि पार्टीभित्र कुनै छलफल भएको छैन । बाहिर छलफल भएको मात्रै हो ।


० तपाईंको विचारमा राजपाको दृष्टिदोष के हो? उसका कमजोरीहरू के के हुन् ?
— राजपाका दृष्टिदोष ती पार्टीकै नेताहरूलाई राम्रोसँग थाहा छ । मैले अर्काको दृष्टिदोष देखाइदिने होइन । तिनका कमजोरीहरू तिनीहरूलाई नै थाहा होला । तिनका कमजोरी खोज्ने मसँग फुर्सदै छैन ।


० अब केन्द्र तिरको कुरा गरौं, हालै एमाले अध्यक्ष केपी ओलीसँग तपाईंको कुराकानी भएको छ । के कुरा भयो ?
— हामीले देशका समसामयिक राजनीतिक, संवैधानिक हलचल, सरकार निर्माणलगायत समग्ररूपमा छलफल र चर्चा ग¥यौं ।


० संविधान संशोधनको विषयमा कुरा भयो ?
— सबै विषयमा छलफल भयो ।


० तपाईंले अब बन्ने सरकारमा जाने भन्ने बाहिर चर्चा छ, के भन्नुहुन्छ ?
— चर्चा त छ । तर, फोरमलाई थाहा छैन ।


० केन्द्रमा सरकारको समीकरण कस्तो हुनेछ ? के वाम शक्तिकै सरकार बन्ने छ ?
— जसले बहुमत पायो उसैको सरकार बन्छ । वाम गठबन्धनले बहुमत पाएको छ, उनीहरूले नै सरकार बनाउने छन् । अब जनताको म्यान्डेट त उनीहरूले पाएका छन् । त्यसकारणले वाम गठबन्धनले नै सरकार बनाउँछ र चलाउँछ ।


० एमालेसँग मिलेर संघीय समाजवादी फोरम सरकारमा जाने सम्भावना छ कि छैन?
— त्यो कुरा एमालेमा निर्भर गर्छ । हामीलाई त सरकार बनाउनु पर्ने कुनै खाँचो छैन । एमालेसँग मिलेर सरकार बनाउने भन्ने कुरा उसको व्यवहारमा भर पर्छ ।


० वाम शक्तिलाई हेर्ने दृष्टिकोण तपाईहरूको कस्तो छ ?
— वाम भएपछि पो त हेर्ने । उनीहरू त वाम पनि होइन, कम्युनिष्ट पनि होइन । उनीहरू कम्युनिष्टको खोल ओढेर कमाउनिष्टहरूको जमात हुन । माओवादीहरू खाउवादी भइसके, कम्युनिष्टहरू कमाउनिष्ट भइसके । यहाँ वाम भन्ने कुरा को रह्यो र ? म त यहाँ देखेकै छैन ।


० यदि वाम सरकार नै बन्यो भने मधेशको लागि कस्तो रहने छ ?
— वाम गठबन्धनको सरकार बने पछि उनीरूरूले कस्तो नीति ल्याउँछ त्यसमा भर पर्नेछ ।


० एमाले अध्यक्ष केपी ओली मधेशप्रति अनुदार मानिन्छन्, अबको प्रधानमन्त्री ओली नै हुने चर्चा छ, त्यसो भए, मधेशले के गुमाउने अथवा के पाउनेछन् ?
— पहिलो कुरा त के छ भने ओलीको बोली र व्यवहार जिम्मेवारी पाएपछि बदल्नुपर्छ । जनताले ‘रियाक्ट’ दिने खालको हुनु भएन । दोस्रो कुरा, मधेशको समस्या होस् वा हिमाल–पहाडको राष्ट्रिय मुद्दाहरू होस,् तिनलाई हल गर्नेतिर लाग्नु उपयुक्त हुन्छ ।


० विगतमा एमालेकै कारण संविधान संशोधन भएन, अहिले एमाले ठूलो शक्तिको रूपमा उदाएको छ र वाम सरकारको नेतृत्व पनि उसैले गर्नेछ । यस्तो अवस्थामा संविधान संशोधन होला जस्तो लाग्छ ?
— पहिलो कुरा त के हो भने ओली प्रधानमन्त्री भइसकेपछि यो प्रश्न सोध्दा उपयुक्त हुने थियो । अहिले कोही प्रधानमन्त्री बनिसकेको छैन । एमालेले एक्लै सरकार बनाउन सक्ने बहुमत नै छैन । उसले अन्य दलसँग मिलेर सरकार बनाउँछ ।


० यदि फेरि पनि एमाले संशोधनका लागि तयार भएन भने ?
— यदि फेरि पनि एमाले संशोधनका लागि तयार भएन भने हामी संशोधनका मुद्दा उठाएर अगाडि बढ्छौं ।


० संशोधनको नाममा आन्दोलनको धम्की मात्र हो कि यथार्थ हो ?
— हामीले धम्की दिने मात्र होइन, धम्की नदिइकन हामी धेरै थोक गर्न सक्छौं । हामीले विगतदेखि नै आन्दोलन गर्दै आएका छौं । धम्की त उसले दिन्छ जोसँग विचार र मुद्दा हुँदैन । हामी आन्दोलन गर्छौं । परिवर्तन आउँछ र संविधान संशोधन गराउन बाध्य पार्छौं । उनीहरू पनि बाध्य भएर संविधान संशोधन गर्नैपर्छ । संविधान स्वयम् पनि अगाडि बढ्न सक्दैन । जुन कुरा अहिले पनि देखाइसक्यो । चुनाव भइसक्यो सरकारको अतोपतो छैन । भनेपछि, संविधान त त्रुटिपूर्ण छ भन्ने कुरा देखियो ।


० तर, तेस्रो मधेश आन्दोलन कुनै टुंगोमा नपुगेर स्थगित भयो नि, फेरि उस्तै नियति हुने हो कि ?
— तेस्रो मधेश आन्दोलन बिना निष्कर्ष टुंगियो भन्न सकिदैन । अहिले मधेशको जुन पहिचान र अस्तित्व आएको छ, त्यो त मधेश आन्दोलनकै देन हो । त्यसकारणले आन्दोलन निष्कर्षबिना टुंगिएन । आन्दोलन निरन्तर चलिरहन्छ । यो धर्तीमा जबसम्म विभेद, असमानता, उत्पीडन रहन्छ, शोषक र शासितको विभाजन रहन्छ तबसम्म आन्दोलन चलिरहन्छ । यो टुंगिने विषय होइन । आन्दोलनका स्वरूप बदलिन्छन्, तरिका बदलिन्छन्, तर आन्दोलन निरन्तर चलिरहन्छ । पक्ष विपक्षहरू बदलिएला, परिदृष्यहरू बदलिएला तर विभेद र असमानता रहुन्जेल धर्तीमा आन्दोलन त भइरहन्छ ।


० तपाइँले संविधान संशोधन होइन, पुनर्लेखन हुनुपर्छ भन्दै आउनुभएको थियो । यो मुद्दा अहिले पनि यथावतै छ कि संशोधनको पक्षमा हुनुहुन्छ ?
— निश्चित रूपमा संविधान पुनर्लेखनको मुद्दा यथावत छ । अब यो झन् साबित भएको छ । यो संविधान काम लाग्ने छैन भन्ने कुरा जसले संविधान बनाएर के–के नगरे जस्तो भन्दै थिए, तिनले पनि स्वीकारै गरिसक्यो । अहिले पछि देखायो कि संसदको चुनाव भइसक्यो सरकार बनाउने ठाउँ छैन । भनेपछि यो कसले गर्दा हो, यही गलत संविधानले गर्दा हो । त्यसैले संशोधन पुनर्लेखन, परिमार्जन सबैको आवश्यकता छ । आवश्यकता प¥यो भने नयाँ संविधान बनाउने पनि आँट गर्नुपर्छ ।


० तत्कालीन संयुक्त लोकतान्त्रिक मधेशी मोर्चा हुँदा तपाईहरूले मधेश आन्दोलनमा शहीद हुने परिवारलाई ५० लाख रूपैयाँ दिने घोषणा गर्नु भएको थियो, के यो साँच्चै पूरा होला त ?
— पहिलो कुरा त के हो भने, दिनुपर्छ हामीले भनेका थियौं । १० लाखको औचित्य के त ? कुनै औचित्य थिएन १० लाख दिनुपर्ने । अब बन्ने मधेश प्रदेश सरकारले त्यसमा विचार गर्छ ।


० अन्तमा, प्रदेश नं. २ को राजधानी जनकपुरधाम, वीरगन्ज लगायतका ठाउँहरूबारे बहस चलिरहेको छ, कहाँ बनाउँदा उपयुक्त हुन्छ ?
— मधेश प्रदेशको राजधानी कहाँ बनाउने भन्ने कुरा हामीले प्रदेशसभाका लागि नै छोडिदिएका छौं । प्रदेश सरकारले प्रस्ताव ल्याएर सबै जनतालाई उपयुक्त हुने ठाउँ छानेर राजधानी राख्नेछ ।

 

प्रकाशित मिति : २०७४ साल पुस १४ गते शुक्रबार ।


Loading...

Contact Us

Address:Madhesh Media House, Hanumansthan Chowk, Anamnagar, Kathmandu Nepal

Phone: 0977-1-4266141

Fax: 0977-1-4266141

Email: madheshvani@gmail.com