प्रदेश २ को राजधानी : जनकपुर कि वीरगञ्ज ?

संगीता रेग्मी

राणाकाल, प्रजातन्त्र, पञ्चायती व्यवस्था पार गर्दै लोकतान्त्रिक गणत्रतात्मक मुलुकको रूपमा पहिचान बनाएको नेपाल अब बहुदलीय व्यवस्थाबाट संघीय व्यवस्थामा अगाडि बढिसकेको छ । संविधानसभाबाट बनेको संविधान कार्यान्वयनको चरणमा स्थानीय, प्रदेश र प्रतिनिधिसभाको निर्वाचन सम्पन्न भईसकेपछि अब प्रदेशको राजधानी कहाँ बनाउने भन्ने बहस सुरू भएको छ ।
‘समग्र मधेश स्वायत्त प्रदेश’ को माग गर्दै २०६३ सालमा अन्तरिम संविधान घोषणा भएदेखि आन्दोलनमा रहेका मधेशी दलहरूले २०७२ सालमा नयाँ संविधानको घोषणासम्म आइपुग्दा मधेशमा दुई प्रदेश भन्ने नारा लिएर अगाडि बढे ।
मधेशलाई ६ भागमा विभाजित गरी ७ प्रदेशको खाका आइसकेपछि पनि यसको विरोधमा मधेशमा आन्दोलन चर्कियो । मधेशका आठवटा जिल्लालाई दुई नम्बर प्रदेश बनाएर अन्य भू–भागलाई पहाडसँग मिसाएर सीमांकन गरियो । विभिन्न पार्टीका नेताहरूले आफ्नो चुनाव क्षेत्र सुरक्षित राख्नका लागि कुनै जिल्लालाई दुई भागमा विभाजन गरी सीमांकन गरे ।
मधेशका २२ जिल्लालाई आफ्नो क्षेत्र मान्दै आएका मधेशी दलहरू अन्ततः प्रदेश नम्बर दुईको आठवटा जिल्लामा सीमित हुन पुगे ।
निर्वाचनको प्रचारपसारको क्रममा सबै दलका नेताहरूले आफ्नो क्षेत्रलाई प्रादेशिक राजधानी बनाउन पहल गर्ने भन्ने चुनावी एजेण्डा बनाए । तर अहिलसम्म सात वटै प्रदेशको राजधानी कहाँ बनाउने भन्ने टुंगो लागेको छैन् । यद्यपी सरकारले सात वटै प्रदेशको अस्थायी मुकाम तोके पनि स्थायी राजधानीका लागि हरेक तह, तप्का र वर्गबाट दबाब र माग भइरहेको छ ।
अहिले चर्चामा रहेको प्रदेश २ को राजधानी जनकपुर कि वीरगन्ज भन्ने बहस सतहमा आएको छ ।
पहिलो पटक प्रदेश राजधानी बन्न लागेको परिपेक्ष्यमा यस्ता माग र दाबी आउनु स्वभाविक हो । प्रदेश २ का जनतालाई वीरगञ्ज र जनकपुर उतिकै प्यारो छ तर आम चासो भनेको राजधानी कहाँ बनाउने भन्ने हो ।
यद्यपी जनकपुर र वीरगञ्ज प्रदेश राजधानीका लागि उपयुक्त स्थल हो र सरकारले तत्कालका लागि अस्थायी राजधानी जनकपुरलाई नै तोकेपछि सम्भवतः जनकपुरको सम्भावना बढी नै छ ।
तर संविधानतः प्रदेश राजधानी तोक्ने अधिकार प्रदेशसभालाई रहेकाले उसको निर्णय नआएसम्म अहिलेलाई केही भन्न सकिन्न । तर उसले पनि वीरगञ्ज र जनकपुरबाहेक अन्य ठाउँलाई राजधानी नबनाउने करिब निश्चित छ ।


जनकपुर किन ?

प्राचीन मिथिलाको राजधानी जनकपुर प्रादेशिक राजधानीका रूपमा पुनः तयार हुँदैछ । राजा जनकको मिथिला राज्यमा जनकपुर एक समृद्ध, सक्षम र विद्वानहरूको कर्मभूमिका रूपमा रहेको धार्मिक इतिहास छ । सीताको माइती र नेपालकै प्रसिद्ध पर्यटकीय थलोका रूपमा विश्वसामु पहिचान स्थापित गरिसकेको जनकपुरलाई नै प्रदेश २ को राजधानीका रूपमा प्रस्ताव गरिनुपर्छ भन्ने मत एकथरीको रहेको छ ।
वास्तवमा जनकपुर एक पवित्र स्थान हो जसको धर्मग्रन्थ, काव्य एवम् रामायणमा उत्कृष्ट वर्णन छ । जनकपुरलाई स्वर्गभन्दा पनि माथिल्लो स्थान दिईएको छ, जहाँ मर्यादा पुरूषोत्तम राम एवम् आदर्श नारी सीताको विवाह सम्पन्न भएको थियो ।
मधेश आन्दोलनको केन्द्र र नेपालकै पुरानो सहर भएकाले प्रदेश नम्बर २ को राजधानी जनकपुर हुनु पर्ने तर्क गर्नेहरूको कमी छैन । तर, प्रादेशिक राजधानीका रूपमा अघि सारिए पनि जनकपुरको भौतिक विकास यसै प्रदेशका अन्य सहर जत्तिको छैन । व्यवस्थापकीय कमजोरी र भ्रष्टाचारले गर्दा पनि यस क्षेत्रको अपेक्षाकृत विकास हुन सकेको छैन । यद्यपी सरकारी स्तरबाट जनकपुरलाई प्रादेशिक राजधानी बनाउन भौतिक रूपमा समेत तयार पार्ने कार्य थालिएको छ ।
जनकपुर ऐतिहासिक रूपमा मिथिलाको राजधानी भइसकेको सहर हो भने २ नं. प्रदेशको बीचमा पनि पर्छ । रामजानकी मन्दिरको हिसाबले विदेशी समुदायले पनि चिनेको ठाउँ हो यो । अर्कोतर्फ वीरगन्जलाई हेर्दा जनकपुरभन्दा केही हदसम्म राजधानी बन्ने योग्यता अलि बढी देखिन्छ ।
सहर वर्गीकरणका दृष्टिले पनि वीरगन्ज महानगरपालिका हो भने जनकपुर उपमहानगरपालिका मात्र । २ नं. प्रदेशको एकमात्र महानगरलाई राजधानी नबनाउँदा आफैँमा नराम्रो सन्देश जाने सम्भावना समेत हुन्छ ।
यतिमात्र हैन, राजधानी भएपछि विश्व समुदायले सञ्चालन गर्ने सभा÷गोष्ठीलगायतका लागि पनि राम्रो बाटो, होटल, अन्तर्राष्ट्रिय विमानस्थल लगायत भौतिक सुविधा आवश्यक पर्छ, जुन जनकपुरसँग छैन ।
जनकपुरमा प्रदेश २ को उच्च अदालत र नेपाल प्रहरीको संघीय इकाई पनि स्थापना भइसकेको छ । जनकपुरलाई प्रादेशिक राजधानी बनाउने उद्देश्यले यस्ता विभिन्न विकासका कार्यहरू हुन थालेसँगै वीरगन्जवासी जनकपुर नै राजधानी हुने त होईन भनेर सशंकित हुन थालेका छन् ।
जनकपुर र वीरगन्ज स्थापित सहरहरू भए यी दुवै ठाउँ प्रदेश नम्बर २ को राजधानीको लागि तयार छ । तर, पश्चिम भागमा रहेको वीरगन्ज र पूर्वी भागमा रहेको जनकपुरलाई प्रादेशिक राजधानी नबनाएर बीचको भागलाई राजधानी बनाउने पर्ने भन्ने धारणा पनि बलियो हुँदै गएको छ ।


किन वीरगञ्ज ?
देशको औद्योगिक शहर वीरगञ्ज रानधानीका लागि अर्को प्रतिस्पर्धी शहर हो । राजधानीका लागि चाहिने मानवीय, सामाजिक, आर्थिक, भौतिक लगायत सूचक वीरगन्जमा उपलब्ध छ । यो प्रदेशको एक मात्र महानगर पनि हो । यो मुलुकको आर्थिक राजधानी
पनि हो, आधारभूत सबैजसो संरचना यहाँ उपलब्ध छन्, त्यसैले प्रादेशिक राजधानीको लागि वीरगन्ज उपयुक्त हुन्छ भन्नेहरू पनि छन् ।
वीरगन्ज प्रदेश २ का आठ जिल्लाको मुख्य व्यापारिक केन्द्र मात्र नभई समग्र मुलुकको आर्थिक एवम् औद्योगिक राजधानीका रूपमा पनि परिचित छ । नेपालबाट भारत तथा तेस्रो मुलुकसँग हुने आयात–निर्यातको अधिकांश कारोबार वीरगन्जबाटै हँुदै आएको छ । मुलुकको कुल वैदेशिक व्यापारको झन्डै ६० प्रतिशत कारोबार र औद्योगिक लगानीको ७० प्रतिशत हिस्सा वीरगन्जले नै ओगटेको छ । यो नाकाले मुलुकको कुल राजस्वमा ५४ प्रतिशत योगदान दिँदै आएको छ । तेस्रो मुलुकबाट आयातीत मालसामान मुलुकका प्रमुख सहरमा यहीँबाटै आपूर्ति हुँदै आएको छ । सीमावर्ती भारतीय नाका रक्सौलबाट राजधानी पुग्ने सबैभन्दा छोटो दूरीको वीरगन्जमा देशकै एक मात्र रेल्वे सुविधासहितको सुक्खा बन्दरगाहा, देशलाई सबैभन्दा बढी राजस्व दिने भन्सार कार्यालय, भारत सरकारको लगानीमा निर्माण भइरहेको एकीकृत भन्सार जाँच चौकी (आईसीपी), मुलुककै सबैभन्दा ठूलो औद्योगिक क्षेत्र वीरगन्ज–पथलैया औद्योगिक कोरिडोर छन् यस्ता विविध कारणहरूले गर्दा वीरगन्ज प्रदेश नम्बर २ को प्रादेशिक राजधानी हुनका तयारी अवस्थामा छ भन्दा फरक पर्दैन ।
पहिलो त राजधानीका लागि आर्थिक स्रोत एवम भौतिक पूर्वाधारको अपरिहार्यता आवश्यक हुन्छ । जुन जनकपुरभन्दा वीरगन्जसँग बढी छ । वीरगन्ज आर्थिक नगरी मात्र होइन, मुलुककै प्रवेशद्वार पनि हो । मुलुककै अपरिहार्यताको ७० प्रतिशत आयात वीरगन्जबाट नै हुने भएकाले मुलुकलाई आर्थिक योगदान दिने, राष्ट्रले वा विदेशले चिन्ने सवालमा यो सहर अगाडि छ ।
संघीयताको सवाल मधेश आन्दोलनबाटै उठान भएको हो जुन मधेश आन्दोलनको केन्द्रविन्दु पनि वीरगन्ज नै हो । मधेश आन्दोलनमात्र होइन, २०६२÷६३ को आन्दोलनमा पनि वीरगन्ज क्षेत्रले ठूलो संख्यामा सहादत दिएको थियो भने आन्दोलनको राप बढाउन कार्यमा पनि उत्तिकै योगदान गरेको थियो । अझ पछिल्लो पटक भएको ६ महिनाको मधेश आन्दोलनलाई थेग्ने एकमात्र ठाउँ वीरगन्ज नै हुनुले पनि यसको महत्व उजागर हुन्थ्यो ।
यत्रो योगदान दिएको र राज्यको विभेदको सामना गरेको वीरगन्जलाई राजधानीसम्मको अवसर दिइएन भने यस क्षेत्रका बासिन्दाको मनोबल घट्न सक्छ । जसले गर्दा अगामी संघर्षमा ऊर्जा पनि कम प्राप्त हुन सक्छ ।
तर वीरगन्जको एउटा मुख्य कमजोरी के छ भने दलहरूको निर्णायक भूमिकामा यहाँका कुनै नेता छैनन् । यो क्षेत्रको निर्णायक शीर्षस्थ नेता नभएका कारणमात्र योग्य सहरलाई राजधानी नबनाउँदा अन्याय नै हुन सक्छ । कतिपय मधेशी दलले आफ्नो दलको केन्द्रीय कार्यालय पनि वीरगन्जमा नै राखेका छन् ।


मधेशी दलको भूमिका
राजपा र फोरम नेपालको गठबन्धनले प्रदेश नम्बर २ मा बहुमत ल्याएको छ । अन्य सबै प्रदेशमा सम्भवतः बामगठबन्धनको सरकार बन्दै गर्दा प्रदेश नम्बर २ मा मधेशी दलको सरकार बन्ने सम्भावना रहेको छ । मधेश आन्दोलनको केन्द्र प्रदेश नम्बर दुईमा कृषिलाई मात्र आधुनिकीकरण गरेर अगाडि बढ्ने हो भन्ने यो प्रदेश अन्य प्रदेशको तुलनामा छिट्टै विकास हुन सक्छ । सम्भावना भएर पनि सधैं राजनीतिको लागि प्रयोग हुँदै आएको प्रदेश नम्बर २ लाई मधेश केन्द्रित दलहरूले अबको दिनमा अवसरको रूपमा प्रयोग गर्न सक्नुपर्छ ।
मधेशी दलले आठवटै जिल्लामा अन्तरक्रिया, सम्वाद, सहमति र मेलमिलापको माध्यमबाट प्रदेशको राजधानी र नाम टुंगो लगाउनु उत्तम हुन्छ । यसले विवाद निम्त्याउँदैन भने सबैको सहमति र सहकार्यलाई समेट्न सक्छ ।
आ–आफ्नै ठाउँमा आन्दोलन गरेर, सामाजिक सञ्जालमा लेखेर, टिकाटिप्पणी गरेर विवाद गर्नु भन्दा एकअर्काको भावना बुझेर सहकार्य र सहमतिमा राजधानी र नामांकन टुंग्याउन उत्तम हो । तसर्थ, दलहरूले राजधानी र नामांकनको मुद्दालाई राजनीतिक सहमतिमै टुंग्याउनु पर्छ । 


Loading...

Contact Us

Address:Madhesh Media House, Hanumansthan Chowk, Anamnagar, Kathmandu Nepal

Phone: 0977-1-4266141

Fax: 0977-1-4266141

Email: madheshvani@gmail.com