मधेशमा बढ्दो शीतलहरबाट जोगाउन फोरमको अपील

काठमाडौं, १९ पुस । मधेशका जिल्लाहरुमा अत्यधिक चिसोसँगै शीतलहर सुरु भइसकेको हुँदा दिनभरिजसो लाग्ने बाक्लो हुस्सु र चिसो हावाका कारण त्यहाँको जनजीवन अत्यन्तै कष्टकर बन्दै गएकोप्रति संघीय समाजवादी फोरम नेपालको गम्भीर ध्यानाकर्षण भएको छ ।

जाडो मौसममा बालबालिकालाई विशेष गरी श्वासप्रश्वासमा समस्या देखिने, बृद्धबृद्धाहरुमा जाडोले कठ्यांग्रिने, हाड जोर्नी दुख्ने र शीतलहरले ज्यानसमेत जान सक्ने गम्भीर समस्या उत्पन्न भइसक्दा पनि चिसोबाट जोगिन स्थानीय प्रशासनले अहिलेसम्म कुनै पनि पहल र उपाय अवलम्बन नगरेको फोरम आरोप छ ।

विगतका वर्षहरुमा पनि चिसोमा कठ्याङग्रिएर थुप्रै आम जनताले ज्यान गुमाउनु परेको दुःखद अनुभव हुँदाहुँदै पनि मधेशमा बढ्दो शीतलहरबाट जोगिन कुनै पहल नहुनु सरकारको गम्भीर लापरवाही रहेको फोरमका अध्यक्ष उपेन्द्र यादवले आरोप लगाएका छन् ।

तसर्थ, शीतलहरका कारण बढेको जाडोबाट जनतालाई जोगाउन र चिसोकै कारणले कुनै अप्रिय घटना हुन नदिन न्यानो लुगा, आगो ताप्ने दाउरा र प्रभावित क्षेत्रमा औषधी उपचार लगायतको यथाशीर्घ व्यवस्था गर्न स्थानीय प्रहरी–प्रशासनसँग फोरमले जोडदार माग गरेको छ ।

यसका साथै, शीतलहर प्रभावित क्षेत्रमा न्यानो लुगा कपडा र ताप्ने दाउरा उपलब्ध गराउन आ–आफ्नो क्षेत्रबाट सहयोग गर्न विभिन्न सामाजिक संस्था, राजनीतिक दल र स्थानीयवासीसँग यादवले अपील गरेका छन् ।


Loading...

Contact Us

Address:Madhesh Media House, Hanumansthan Chowk, Anamnagar, Kathmandu Nepal

Phone: 0977-1-4266141

Fax: 0977-1-4266141

Email: madheshvani@gmail.com