पृथ्वीनारायण शाहको जन्म जयन्तीमा सरकारी विदा दिएको भन्दै आदिवासी जनजातिद्वारा भर्त्सना

काठमाडौं, २६ पुस । सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक सरकारले राजा पृथ्वीनारायण शाहको जन्म जयन्तीको नाममा पुस २७ गते तथाकथित राष्ट्रिय एकता दिवसको रुपमा मनाउने र सार्वजनिक विदा दिने निर्णयप्रति नेपाल आदिवासी जनजाति महासघले विरोध जनाएको छ ।

महासंघले बुधबार एक विज्ञप्ति जारी गरी नेपालका ३७ प्रतिशत भन्दा बढी आदिवासी जनजातिहरूको साझा प्रतिनिधिमूलक संस्था नेपाल आदिवासी जनजाति महासंघको गम्भीर ध्यानाकर्षण भएको छ ।

‘असङ्ख्य नेपाली जनताको त्याग, तपस्या, योगदान र बलिदानमार्फत संविधानमा स्पष्ट रुपमा व्यवस्था गरिएको बहुजातीय, बहुभाषिक, बहुधार्मिक, बहुसांस्कृतिक, सङ्घीय लोकतान्त्रिक गणतन्त्र, धर्म्निरपेक्षता, समावेशी लोकतन्त्रजस्ता मूलभूत मुद्धाहरूलाई खिल्ली उडाउँदै सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक मुलुकको मूल मर्म र भावनाविपरित कुनै बेला स्तुति गाउने र गाउन लगाउने ‘हाम्रो राजा हाम्रो देश प्राणभन्दा प्यारो छ । एउटै भाषा एउटै भेष प्राण भन्दा प्यारो छ ।।’ भन्ने विभेदकारी नाराको झल्को दिने गरी गरिएको सरकारको निर्णयप्रति महासंघ घोर भत्र्सना र निन्दा व्यक्त गर्दछ ।’ विज्ञप्तिमा उल्लेख छ ।

बहुलता र विविधतायुक्त नेपाली समाजको यथार्थताबमोजिम परिवर्तनलाई संस्थागत गर्नुपर्नेमा आम जनताको चाहना र भावनालाई चोट पुग्ने गरी षड्यन्त्रपूर्वक ढंगले एकल जाति÷नश्ल, एकल संस्कृति, एकल धर्म र सम्प्रदायको बचस्र्व झनभन्दा झन स्थापित गराउने गरी एकल जातिवादी र नश्लवादी राज्यको पक्षपोषणमा नेपाल सरकार र यसका संयन्त्रहरू पछिल्ला दिनहरूमा क्रमशः अघि बढिरहेको यस निर्णयले थप पुष्टि गरेको आदिवासी जनजातिहरूको ठहर छ ।

तसर्थ, आम आदिवासी जनजातिको राजनीतिक, सामाजिक, सांस्कृतिक, आर्थिक, धार्मिक हक, अधिकार, मूल्य र मान्यतालाई बलात् गर्दै आन्तरिक औपनिवेशिकरणको शैलीमा राज्य बिस्तार गर्ने व्यक्तिको जन्म दिनलाई तथाकथित राज्य एकीकरणकर्ताको पगरी गुठाउँदै नेपाल सरकारले सार्वजनिक बिदा दिएकोप्रति पुनः घोर भत्र्सना गर्दै सो निर्णय अबिलम्ब फिर्ता लिन महासंघ जोड्दार माग गरेको छ ।

साथै पुस २७ गतेको दिनलाई नेपालका आदिवासी जनताको स्वशासनलगायत सबै मूल्य र मान्यतालाई समाप्त पार्दै नीतिगत र संरचनागत रुपले दमन, शोषण, उत्पीडन र विभेदको जग बसाल्ने व्यक्तिको विरोधको रुपमा कार्यक्रमहरू गर्न गराउन यस महासंघसम्बद्ध सम्पूर्ण आदिवासी जनजातीय सदस्य संगठनहरू, प्रदेश, जिल्ला र स्थानीय (गाउँ, नगर) समन्वय परिषद्हरू, विदेश शाखाहरू, सम्बन्धन संगठनहरूलगायत आदिवासी जनजातिका क्षेत्रमा क्रियाशील सम्पूर्ण संघसंस्थाहरू र आम आदिवासी जनजातिलाई विशेष आग्रह सहितको जानकारी गराएको छ ।


Loading...

Contact Us

Address:Madhesh Media House, Hanumansthan Chowk, Anamnagar, Kathmandu Nepal

Phone: 0977-1-4266141

Fax: 0977-1-4266141

Email: madheshvani@gmail.com