राष्ट्रिय सभा सदस्य निर्वाचनसम्बन्धी कार्यतालिका सार्वजनिक

काठमाडौं, २६ पुस । निर्वाचन आयोगले माघ २४ गते बुधबारका दिन हुने राष्ट्रिय सभा सदस्य निर्वाचन व्यवस्थापनका लागि तयार गरिएको निर्वाचनसम्बन्धी कार्य तालिकालाई स्वीकृत गरी सार्वजनिक गर्ने निर्णय गरेको छ ।

प्रमुख निर्वाचन आयुक्त डा. अयोधीप्रसाद यादवको अध्यक्षतामा बुधबार आयोगमा बसेको बैठकले सो कार्य तालिकालाई स्वीकृत गर्ने निर्णय गरेको हो ।

राष्ट्रिय सभा सदस्य निर्वाचन अध्यादेश, २०७४ को दफा ५ बमोजिम नेपाल सरकार मन्त्रिपरिषद्को मिति २०७४।०९।२१ को बैठकबाट २०७४ साल माघ २४ गते बुधबारका दिन राष्ट्रिय सभाको निर्वाचन सम्पन्न गर्ने गरी निर्वाचनको मिति तोकिएको व्यहोरा नेपाल सरकार, गृह मन्त्रालयबाट २०७४।०९।२१ को पत्र प्राप्त भएको थियो ।

राष्ट्रिय सभा सदस्य निर्वाचन अध्यादेश, २०७४ को दफा ६ को उपदफा (१) र (२) मा निर्वाचनको मिति तोकिएको सूचना प्रकाशित भएपछि आयोगले निर्वाचन कार्यक्रमको सूचना प्रकाशन गर्ने, निर्वाचन कार्यक्रममा उम्मेदवारको मनोनयनपत्र दर्ता गर्नेदेखि अन्तिम नामावली प्रकाशन गर्ने र मतदान गर्ने मिति, समय र स्थानसमेत उल्लेख गर्नुपर्ने व्यवस्था गरिएको छ ।

राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि स्थानीय तह अन्तर्गतका गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख र उपप्रमुख एवं प्रदेश सभाका सदस्य मतदाता रहने व्यवस्था छ । यस निर्वाचनमा गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख र उपप्रमुख गरी जम्मा १५०६ जना तथा प्रदेशसभाका ५५० सदस्य गरी कुल २,०५६ जना मतदाता रहेका छन् ।

प्रदेशसभा सदस्यको मतभार ४८ र स्थानीय तहका अध्यक्ष, उपाध्यक्ष, प्रमुख र उपप्रमुखको मतभार १८ रहेको छ । नेपालको संविधान अनुसार, स्थानीय तह र प्रदेशसभा सदस्यबाट राष्ट्रिय सभा सदस्यका लागि ५६ जना निर्वाचित हुने व्यवस्था छ ।

संविधानको धारा ८६ को उपधारा (२) को खण्ड (क) बमोजिम निर्वाचित हुने सदस्यको निर्वाचनका लागि प्रत्येक प्रदेशमा गठन भएको निर्वाचक मण्डलले दिएको मतको आधारमा एकल सङ्क्रमणीय मत प्रणाली बमोजिम प्रत्येक प्रदेशबाट निर्वाचित हुन आवश्यक पर्ने मत प्राप्त गर्ने देहाय बमोजिम आठ जना सदस्य निर्वाचित हुनेछन् , (क) महिला तीन जना, (ख) दलित एक जना, (ग) अपाङ्गता भएका व्यक्ति वा अल्पसङ्ख्यक समुदायबाट एक जना,(घ) अन्य तीन जना निर्वाचित गर्नुपर्ने व्यवस्था छ ।

आयोगबाट प्रदेशगत रूपमा मतदाता नामावली तयार गरी निर्वाचन अधिकृतको कार्यालयमा पठाइने र दाबी विरोधलगायतका प्रक्रिया सम्बन्धित निर्वाचन अधिकृतको कार्यालयबाट सञ्चालन गरिने छ । यस प्रयोजनका लागि आयोगले २०७४।१०।७ गते मतदाता नामावली प्रकाशन गर्ने र ९ गते अन्तिम नामावली प्रकाशन गरी २०७४।१०।१० गते उम्मेदवारको मनोनयनपत्र दर्ता गर्ने, मिति २०७४।१०।१५ गते उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गर्ने र मिति २०७४ साल माघ २४ गते बुधबारको दिन बिहान १०ः०० बजेदेखि अपराह्न ३ः०० बजेसम्म मतदान सञ्चालन गर्ने गरी राष्ट्रिय सभा सदस्य निर्वाचन कार्यतालिका तयार गरिएको छ ।

यसैगरी, आयोगको आजै बसेको बैठकले राष्ट्रिय सभा सदस्य निर्वाचन सम्पन्न गर्न राष्ट्रिय सभा सदस्य निर्वाचन अध्यादेश, २०७४ बमोजिम प्रत्येक प्रदेशमा एक जना निर्वाचन अधिकृत नियुक्त गर्नु पर्ने भएकाले न्याय परिषद् सचिवालयबाट प्राप्त नामावली बमोजिम ७ (सात) जना जिल्ला न्यायाधीशलाई मिति २०७४ साल पुस २७ गतेदेखि लागू हुने गरी निर्वाचन अधिकृतको पदमा नियुक्त गर्ने निर्णय गरेको छ ।

यस्तै, आयोगले निर्वाचन अधिकृतको कार्यालय सम्बन्धित प्रदेशको उच्च अदालत रहेको जिल्लाको सदरमुकाममा पुस २९ गते स्थापना गर्ने निर्णय पनि गरेको आयोगका प्रवक्ता नवराज ढकालले जनाएका छन् ।


Loading...

Contact Us

Address:Madhesh Media House, Hanumansthan Chowk, Anamnagar, Kathmandu Nepal

Phone: 0977-1-4266141

Fax: 0977-1-4266141

Email: madheshvani@gmail.com